पतिले घरमा आगो लगाउँदा पत्नीको मृत्यु

फाइल तस्बिर

दार्चुला । दार्चुलामा मदिराले मात्तिएका पतिले आफ्नै घरमा आगो लगाउँदा पत्नीको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका–२ भैसीमेलामा पतिले घरमा आगो लगाउँदा पत्नी बिन्द्रा बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले बताए ।

नौगाड गाउँपालिका–२ का शेरसिंह बडालले मदिराले मात्तिएको अवस्थामा आफ्नै घरमा आगो लगाउँदा पत्नी बिन्द्रा बडालको शव जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी शाहीले बताए । घटनास्थलमा गएको डिएसपी शाहीका अनुसार मृतक बडालको शव जलेर टुक्राटुक्रा भएको छ ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइने प्रहरी प्रमुख डिएसपी शाहीले घटनास्थलबाट जानकारी दिए । मदिराले मात्तिएका बडालले आफ्नै घरमा आगो लगाएका बेला उनकी पत्नी बिन्द्रा सामग्री निकाल्न घरभित्र पसेकी थिइन् तर उनी कहिल्यै फर्किइनन् ।

पतिपत्नीबीच झगडा हुने गरेको र शनिबार राती पनि झगडा भएको हुनसक्ने अनुमान गरिएको छ । शेरबहादुरले मादकपदार्थ सेवन गरेर घरमा आगो लगाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले बताए ।

आगो लगाउने पति शेरसिंह बडाल प्रहरी नियन्त्रणमा रहेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया