डिप बोरिङले घरघरमा धारा

धादिङ । प्रदेश–३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले खानेपानीलाई पहिलो प्राथमिकता दिन स्थानीय तहलाई निर्देशन दिएका छन् ।

शनिबार धादिङको सिद्धलेक गाउँपालिका–५ मा रहेको काम्राङ डिप बोरिङ खानेपानीको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री जम्मरकट्टेलले खानेपानी प्रत्येक नागरिकको पहिलो आवश्यकता भएकाले स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

केन्द्र सरकारले अवलम्बन गरेको सम्मृद्ध नेपाल सुखी नेपालीको अभियानलाई प्रदेश तथा स्थानीय सरकारले समेत प्राथमिकताको रूपमा लिएको र सोहीअनुसार साथ दिइरहेको भन्दै जम्मरकट्टेलले आगामी वर्षमा देश विकासले समेत तीव्र गति लिने बताए ।

सम्बोधनकै क्रममा जम्मरकट्टेलले कृषकको क्षमता नबढाइकन कृषिमा क्रान्ति नहुने भन्दै प्रदेश सरकारले कृषकहरूलाई सक्षम र व्यावसायिक बनाउन तालिम प्रदान गर्नका लागि बेनिघाट रोराङ गाउँपालिकास्थित धुषामा छिट्टै कृषि तालिम केन्द्र स्थापना गर्न लागेको समेत बताए ।

खानेपानी उद्घाटन समारोहमा बोल्दै मन्त्री शालिकराम जम्मरकट्टेलले प्रदेश सरकारले नागरिकको हितका लागि विभिन्न नयाँ कार्यक्रमहरू सुरुआत गरिरहेको समेत बताए । प्रदेश–३ ले किसान लक्षित् कार्यक्रम ल्याएको बताउँदै अबका दिनमा भैँसीपाल्ने किसानलाई प्रतिलिटर दूधको मूल्यमा प्रदेश सरकारले एक रुपैयाँ थपिदिने नीति ल्याएको र चाँडै नै कार्यान्वयन हुनेसमेत बताए ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धलेक गाउँपालिकाका प्रमुख प्रेमनाथ सिलवालले पनी गाउँपालिकाभित्र रहेको खानेपानीको समस्या समाधान गर्नका लागि आपूm प्रतिबद्ध रहेको बताए । गाउँपालिकाका प्रमुख सिलवालले सिद्धलेक गाउँपालिकाभित्र रहेका नागरिकलाई आत्मनिर्भर बनाउन सिद्धलेक गाउँपालिकाले विभिन्न योजनाहरू ल्याएको समेत बताए ।

उनले कृषि, स्वास्थ्य, शिक्षा र खानेपानीको क्षेत्रमा गाउँपालिकाले विकास गर्ने भन्दै आगामी तीन वर्षमा सिद्धलेक गाउँपालिकालाई अन्य स्थानीय तहभन्दा नमुना गाउँपालिका बनाउनेसमेत बताए ।

०७२ साल १२ वैशाखको विनाशकारी भूकम्पको कारण पानीको मुहान सुकेपछि खानेपानीको चरम अभाव झेलिरहेका सिद्धलेक गाउँपालिका–५ मा रहेको काम्राङ गाउँमा ८७ लाख ७० हजार ५ सय ५५ रुपैयाँको लागतमा सम्पन्न भएको थियो । सिद्धलेक गाउँपालिकाको ३० लाख १० हजार, अक्सफाम र फोकस नेपालको ३९ लाख ७७ हजार ७ सय ३६ र स्थानीय जनश्रमदान १७ लाख ८२ हजार ८ सय ८ रुपैयाँ गरी जम्मा ८७ लाख ७० हजार ५ सय ५५ रुपैयाँ उठेको थियो ।

डिप बोरिङमार्पmत् निकालिएको खानेपानीबाट स्थानीय १ सय २२ घरधुरीका ६ सय ६५ जना लाभान्वित भएका छन् । १ सय ३२ मिटर गहिराइबाट बोरिङ गरिएको पानी ५० हजार लिटरको ट्याङ्कीमा रिजर्भ गरेर वितरण गरिएको वडा–५ का वडाध्यक्ष दिलबहादुर घलेले जानकारी दिए । खानेपानीको अभावकै कारण बस्ती नै सार्नुपर्ने अवस्था रहेको उक्त गाउँमा अहिले खानेपानी पाएपछि नागरिकले खुसी व्यक्त गरेका छन् ।

उक्त खानेपानी आयोजनाको शनिबार प्रदेश–३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेललले रिबन काटेर उद्घाटन गरेका हुन् । काम्राङ डिप बोरिङ खानेपानी आयोजनाका अध्यक्ष मानबहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा मन्त्री शालिकराम जम्मरकट्टेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा, जिल्ला समन्वय समितिका सदस्य कृष्णप्रसाद अर्याल, सिद्धलेक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद भट्टराई, फोकस नेपालका अध्यक्ष हेमराज छत्कुली र जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारको समेत विशेष आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया