काठमाडौं । साझा यातायात सहकारी संस्थाले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा थप २० बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।
यही असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ कार्यक्रमपछि लगत्तै सञ्चालनमा आउने संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार यी बसका मार्ग अनुमति (रूट परमिट) लिइसकेकाले चाँडै सञ्चालनमा आउनेछन् ।
यी बसले काठमाडौँका विभिन्न स्थान हुँदै भक्तपुर र ललितपुर परिक्रमा गर्ने गरेर अनुमति पाएको उनले बताए । नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्मको अर्काे मार्ग तय भएको उनले बताए । उनले भने, ‘साझा यातायातले स्थानीय तहसँग समन्वय गरेर बढी आवश्यक ठाउँमा बस थप गरेको हो ।’
२०१६ सालमा स्थापित उक्त संस्थाको लामो समयसम्म सेवा अवरुद्ध भएपछि २०७० सालमा सेवा पुनः सुरु भएको थियो । अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् । यीमध्ये एउटा लो फ्लोर बस (अपांगता र ज्येष्ठ नागरिकका लक्षित बस) र चार वटा उपत्यका बाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी सहरी बस रहेका संस्थाले जनाएको छ ।
केही महिनापहिले कार्डमार्फत भाडा तिर्ने प्रविधि (इटिकेटिङ) सुरु गरेको साझाले तीन तहका सरकारसँगको सहकार्यमा विद्युतीय बस सञ्चालनको योजना बनाएको छ ।
प्रतिक्रिया