सल्यान । अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस विभिन्न साताव्यापी कार्यक्रम गरी सल्यानमा मनाउन सुरु गरिएको छ । दिवसको अवसरमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय तह लगायतले विभिन्न कार्यक्रम गरी बनाउन सुरु गरेका हुन् ।
हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारबाट मुक्त गराउनु हो ।
दिवसको अवसरमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, स्थानिय वासिन्दा आदिको सहभागितामा बिहीबार बिहान सदरमुकाममा रहेको कालिका मन्दिर सरसफाइ गरिएको छ । लागुपदार्थका प्रयोगकर्ताले मन्दिर आसपासमा लुकेर लागुपदार्थ प्रयोग नगरुन् भनेर सरसफाइ गरिएको हो । मन्दिर वरपर सफा गर्नुका साथै मन्दिरको रंगरोगनसमेत गरिएको छ । सशस्त्र प्रहरीले आयोजना गरेको सो सरसफाइ कार्यक्रममा मन्दिरलाई रंगरोगन गरी चिटिक्क पारिएको थियो ।
यस्तै नगरपालिका तथा वडा कार्यालय र स्थानीयको तर्फबाट मन्दिरको मर्मत तथा बाटो मर्मतसमेत गरिनेछ । सरसफाइ कार्यक्रममा जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे, शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी, सशस्त्र प्रहरी नायव उपरीक्षक विमल डाँगीलगायत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, जनप्रतिनिधि लगायतको सहभागिता थियो ।
दिवसकै अवसरमा नेपाल प्रहरीले विद्यालयहरूमा अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध सचेतना अभियान सुरु गरेको छ । जसअनुसार बिहीबार पहिलो दिन तीन वटा इलाका प्रहरी कार्यालयको नेतृत्वमा जिल्लाका चार विद्यालयमा सचेतनामूलक कार्यक्रम गरिएको छ ।
त्रिभुवन मावि लुहापिंग, मावि रागेचौर, मावि कोटबारालगायत चार विद्यालयमा विद्यार्थीहरूलाई लागुऔषधको बारेमा चेतनामूलक कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । ११ गतेसम्म हरेक दिन फरकफरक विद्यालयमा पुगेर लागुऔषधका विरुद्ध सचेतनामूलक कार्यक्रम गरिने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । एक हप्तासम्म विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने उनले बताए ।
प्रतिक्रिया