छैटौँ राष्ट्रिय बिच भलिबल: चन्द्र र तोरणको जोडीको विजयी सुरुआत

काठमाडौं । पुलिसका चन्द्र कुँवर र तोरण चन्दको जोडीले छैटौँ राष्ट्रिय बिच भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । पुरुषतर्फको स्पर्धामा चन्द्र र तोरणको जोडीले एपीएफका महेन्द्र श्रेष्ठ र विजय थापामगरको जोडीलाई २१–१८ र २१–९ को सोझो सेटमा पराजित गरे । त्यस्तै आर्मीका मानबहादुर श्रेष्ठ र दिल सुनुवारको जोडीले कर्णाली प्रदेश बी लाई २१–५ र २१–१३ को सोझो सेटले पराजित गरे । गण्डकी प्रदेशका सन्जु विक्रम शाह र रमेश केसीको जोडीले पुलिसका धु्रव केसी र प्रकाश कटुवालको जोडीलाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित गर्दै विजय सुरुआत गरेका छन् ।

त्यस्तै महिलातर्फ पुलिसका कोपिला उप्रेती र निता शाहको जोडीले एपीएफका शशी चौधरी र पूजा चौधरीको जोडीलाई २१–६ र २१–१२, पुलिसकी मनिषा चौधरी र पुष्पा चौधरीको जोडीले गण्डकीका रुपा थापा र पूर्णिमा ठाकुरको जोडीलाई २१–१४ र २१–१५ को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेका छन् ।

महिलातर्फ नै एपीएफका विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले प्रदेश ५ का राधा बुढाथोकी र अन्जना बुढाथोकीको जोडीलाई २१–१३ र २१–५ तथा आर्मीकी मनिषा खांड र पुष्पाको जोडीले प्रदेश ३ लाई २१–१३ र २१–६ ले हराउंदै विजयी सुरुवात गरेका छन् । यहि असार ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ १४ र पुरुष तर्फ १७ टिम गरी ३१ टिमको सहभागिता रहेको छ ।

विजेता महिला तथा पुरुष टोलीले समान नगद ३० ÷३० हजार प्राप्त गर्ने छन् । द्वितीय हुनेले २०÷ २० हजार तथा तेस्रो हुने टोलीले १०÷१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीलाई पनि नगद ३ ÷३ हजारबाट पुरस्कृत गरिने बताइएको छ । तीन दिनसम्म आयोजना हुने प्रतियोगिता सम्पन्न गर्न २२ लाख ५० हजार खर्च लाग्ने संघले जनाएको छ ।

प्रतिक्रिया