सडक धुलाम्मे हुँदा पर्यटकलाई सास्ती

बुटवल । प्रदेश–५ सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा घोषणा गरेका छ । गत बुद्ध पूर्णिमामा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भ्रमण वर्षको औपचारिक उदघाटनसमेत गरिन् ।

प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षमा सबैभन्दा ठूलो चुनौतीको रूपमा निर्माणाधिन भैरहवा–तौलिहवा सडक रहेको छ । लुम्बिनी पुग्ने पर्यटकको सबैभन्दा बढी प्रयोग हुने यो सडक अहिले धुलैधुलो भएको छ । धुलो र निर्माणाधीन बाटोको कारण लुम्बिनी जाने आन्तरिक र बाह्य पर्यटक सास्ती खेप्न बाध्य भएका छन् ।

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रूपमा रहेको छ, भैरहवा । भैरहवाबाट लुम्बिनीतर्फ लाग्ने बित्तिकै लुम्बिनी आउने पर्यटकलाई धुलोले स्वागत गरिरहेको हुन्छ । भैरहवाको लुम्बिनी गेटबाट सुरु हुने यो धुलो लुम्बिनीसम्म मात्र नभई गौतमबुद्धको गृहनगर तौलिहवासम्म उस्तै रहेको छ ।

सानो गाडी, मोटरसाइकल र स्कुटीमा लुम्बिनी जाने पर्यटक त लुम्बिनीसम्म पुग्दा चिन्नै नसक्ने अवस्थामा पुगेका हुन्छन् । भैरहवा–तौलिहवा जोड्ने सडकको स्तरोन्नति गर्ने कार्य लक्ष्य अनुसार हुन नसक्दा पर्यटकले सास्ती खेप्नुपरेको छ । साथै प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्षको लक्ष्य पनि धरापमा परेको छ । सडक सुधार आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक परियोजनाको काम प्रारम्भिक काम द्रुत गतिमा अगाडि बढेको भए पनि अहिले लक्ष्यअनुसार काम हुन सकेको छैन ।

लक्ष्यअनुसार काम भएको भए अहिलेसम्म उक्त सडक खण्डको ५० प्रतिशत काम सम्पन्न हुनुपर्नेमा ३५ प्रतिशत मात्र सकिएको छ । भैरहवादेखि तौलिहवासम्मकै सडकखण्डमा ठेकेदार कम्पनीले खनेको कारण सडकभरी धुलैधुलो छ । नदीजन्य पदार्थको अभाव तथा तौलिहवातिर आएको केही अवरोधका कारण लक्ष्यअनुसार काम नभएको भैरहवा–लुम्बिनी–तौलिहवा सडक परियोजनाका परियोजना प्रमुख प्रदीपराज शाक्यको दाबी छ ।

सडकको प्रारम्भिक चरणको काम द्रुत गतिमा सुरु गरेको भारतीय ठेकेदार कम्पनी गवार कन्स्ट्रक्सनले यो सडकखण्डको सम्पूर्ण कल्भर्टहरूको निर्माण कार्य सम्पन्न गरिसकेको छ । जुलाई २०१७ देखि सुरु भएको उक्त योजना २०२० को जनवरीसम्म पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । नदीजन्य पदार्थको समयमै आपूर्ति भए र अन्य कुनै बाधा नआए उल्लिखित समयमै परियोजना पूरा हुने आयोजनाको दाबी रहेको छ ।

परियोजना निर्धारित समयमै पूरा हुने र सो को लागि अझै करिब सात महिनाको समय भए पनि ठेकेदारले धुलो व्यवस्थापन गर्न नसक्दा भने स्थानीयको साथै पर्यटकले सास्ती खेप्नुपरेको छ । धुलोकै कारण अहिलेसम्म सो सडकखण्डमा कतिले ज्यानसमेत गुमाइसकेका छन् । यता परियोजना प्रमुख प्रदीपराज शाक्यले भने धुलो व्यवस्थापनमा गर्मीको मौसम चुनौतीपूर्ण रहेको बताए । उनले धुलो व्यवस्थापन गर्नलाई मात्रै रूपन्देहीतर्फ ६ वटा र कपिलवस्तुतर्फ चार वटा ट्यांकरले नियमित पानी हाले पनि गर्मीको कारण धुलो व्यवस्थापनमा समस्या भएको बताए ।

भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चोकसम्मको सडकलाई स्तरोन्नति गरी ६ लेनको बनाइँदै छ भने एयरपोर्ट चोकदेखि बुद्ध जन्मस्थल लुम्बिनीको पर्सा चोकसम्म चार लेनको बनाउन लागिएको छ । भैरहवादेखि लुम्बिनीसम्मको सडक अहिले दुई लेनको रहेको छ । त्यसै गरी लुम्बिनीदेखि कपिलवस्तु तौलिहवासम्मको सडक दुई लेनको बनाइँदै छ । उक्त सडक अहिले एक लेनको रहेको छ । यो सडकको लम्बाइ ४१ दशमलव १ सय ३० किलोमिटर लामो रहेको छ । ६ लेन सडकको बीच भागमा ‘ग्रिन बेल्ट’, दुई-दुई लेनको सडक र दायाँबायाँ एक÷एक सर्भिस लेन सहितको ‘फुटपाथ’ समेत निर्माण गरिने जनाइएको छ ।

प्रतिक्रिया