आयुर्वेद विभागको योग कक्ष सञ्चालनमा

काठमाडौं । टेकुस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले योग कक्ष सञ्चालनमा ल्याएको छ । विश्व योग दिवसको पूर्वसन्ध्यामा बिहीबारबाटै स्वास्थ्यमा रिर्पोटिङ गर्ने पत्रकार तथा आफ्ना कर्मचारीहरूलाई योग सिकाएर विभागले योग कक्ष सञ्चालनमा ल्याएको हो ।

विभागले योग कक्ष कार्यालय भवनको तेस्रो तल्लामा बनाएको छ । १५ देखि २० जनासम्म अटाउने उक्त कक्षमा आयुर्वेद विभाग, स्वास्थ्य सेवा विभागका कर्मचारी र स्वास्थ्यसँग सरोकार राख्न जानेहरूले योग सिक्न सक्नेछन् । त्यसका लागि अहिले हप्तामा एक दिन हरेक शुक्रबार योग कक्ष चलाउने योजना रहेको विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले जानकारी दिए । विभागका महानिर्देशक डा. उपाध्यायले योगविज्ञानका बारेमा जानकारी दिँदै स्वास्थ्य पत्रकार लगायत विभागका कर्मचारीलाई योगअभ्याँस गराएका थिए ।

उनले नसर्ने रोगको जोखिम कम गर्न र योग तथा बैकल्पिक चिकित्साको प्रवर्धन गर्न योग कक्ष सञ्चालनमा ल्याइएको पनि सुनाए । उनले भने, ‘हामीले शारीरिक, सामाजिक, मानसिक र अध्यात्मलाई जोड्नका लागि यो कक्ष सञ्चालनमा ल्याएका हौँ, हामीले सिकाउने योगमा विशेषगरी शारीरिक तन्दुरुस्ती, स्फूर्ति बढाउने र तनाव व्यवस्थापनमा जोड दिन्छौँ ।’

पत्रकारहरूले योगको महत्व अनुभूति गरेमा मात्रै योगको प्रवद्र्धन हुने भन्दै विभागले कार्यक्रमको आयोजना गरेको पनि जनाएको छ । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवस शुक्रबार मनाइँदै छ । योगलाई निरोगको मुख्य आधार भन्दै पछिल्लो समय विश्वभर नै योगअभ्यास, व्यायाम, ध्यान, प्राणायाम विस्तार हुँदैछ । सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेको हो ।

सो घोषणाका लागि राष्ट्रसंघमा भारतले प्रस्ताव र नेपालले समर्थन गरेको थियो । योग मूलतः पूर्वीय विज्ञान हो जुन पश्चिमा विज्ञानभन्दा धेरै पुरानो हो । योग संस्कृत शब्द हो, यसको अर्थ हुन्छ, जोड्नु वा जोडिनु अर्थात् मन, मस्तिष्क र शरीरलाई एकाकार बनाउनु हुन्छ ।

प्रतिक्रिया