सहायकलाई विशेषज्ञको जिम्मेवारी

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा विभागले गैर चिकित्सकलाई विशेषज्ञ चिकित्सकको रूपमा काम गराएको छ । नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारीका अनुसार गैरचिकित्सकलाई यस्तो ठूलो सरकारी अस्पतालमा चिकित्सकको काम लगाउन हुँदैन ।

उनले भने, ‘सरकारी अस्पताल जस्तो ठाउँमै यसरी गैरकानुनी ढंगले काम गर्न गराउन हुँदैन । मैले पहिले नै अस्पताल प्रमुखलाई भेटेर यो गैरकानुनी काम भएको बताएको थिएँ । गैरचिकित्सकलाई चिकित्सको जिम्मेवारी दिनु नै हुँदैन समेत भनेको थिएँ ।’

हालसम्म पनि अस्पताल प्रमुखले यसलाई कार्यान्वयन नगरेपछि पत्र काट्न बाध्य भएको उनले बताए । उनले थपे, ‘अस्पतालमा दुई जना गैरचिकित्सकहरूले चिकित्सकको भूमिका निर्वाह गर्दै आउनुभएको छ, उहाँहरूले बांगोटिंगो रहेको दाँतको उपचार गर्ने, ब्रेसेज लगाइदिने काम गर्नुहुँदोरहेछ तर यसका लागि विडिएस अध्ययन सकेपछि पनि विशेष कोर्र्स गर्नुपर्ने हुन्छ । तर, अनुभव र केही छोटो समयको तालिमका आधारमा काम गर्नुभएको छ यो कानुन सम्मत छैन ।’

यता अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार चिकित्सक आफू एक्लैले बिरामीको शल्यक्रिया गर्न नसक्ने भएकाले उनीहरूले सहयोग मात्रै गरेका हुन् । उनले भने, ‘कुनै पनि अन्य स्वास्थ्योपचार गर्दा वा शल्यक्रिया गर्दा डाक्टर एक्लैले गर्दैन, प्रमुख काम डाक्टरले गर्छ भने अन्य काम सहयोगी, नर्सलगायतले गर्छन्, त्यस्तै हो । हाम्रोमा पनि दुई जनाले सहयोग गर्नुहुन्छ । दाँत बनाउनुहुन्छ, दाँत सफा पनि गर्नुहुन्छ । उहाँहरूमध्ये एक जना अस्पताल सुरु हुँदादेखि हुनुहुन्छ भने एक जना २५ वर्षदेखि अस्पतालमा स्थायी कर्मचारीको रूपमा काम गर्नुहुन्छ ।’ उनले थपे, ‘बिरामीको काम डाक्टरले गर्ने हो, तर दाँत बनाउने काम उहाँहरूले गर्नुहुन्छ डाक्टर आफै दाँत बनाउँदैन ।’

यस्तो गैर चिकित्सकलाई चिकित्सकको रूपमा काम गराएको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत परेको छ । अस्पतालको डेन्टल विभागको अर्थोेडेन्टिक्स तथा डेन्टोफेसिय अर्थोपेडिकल विभागमा दुई जना गैर चिकित्सकले वर्षांैदेखि विशेषज्ञ चिकित्सकको काम सम्हाल्दै आएको भन्दै उजुरी परेको हो ।

नेपाल डेन्टल एसोसिएसनबाट परेको उक्त उजुरी पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतलाई बोधार्थ दिइएको छ । एसोसिएसनका महासचिव डा. कुम्भराज जोशीले हस्ताक्षर गरेको उजुरीमा गैर चिकित्सकलाई विशेषज्ञ बनाई काम गराएको विषयमा विभाग र सम्बन्धित जिम्मेवार व्यक्तिलाई पटक–पटक जानकारी गराउँदा समेत अटेरी गरेको उल्लेख छ ।

‘सरकारको यति ठूलो संस्थामा गैर चिकित्सकलाई चिकित्सकको रूपमा प्रस्तुत गराएर प्राक्टिसमा सहभागी गराउँदा यसले त कुट चिकित्सक (क्वाकरी) लाई प्रोत्साहन गर्छ । व्यक्तिगत लाभ र कुत्सित मनसायबाट यो काम किन भइरहेको छ ?’ महासचिव जोशीले उजुरीमा लेखेका छन् । उनले लेखेको उजुरी पत्रमा यस्ता अभ्यासले बिरामी र चिकित्सा पेशालाई ठग्ने काम भइरहेको भन्दै यो कार्यमा संलग्न व्यक्ति तथा संस्थालाई कडा कारवाही गर्न समेत माग गरिएको छ ।

अस्पतलाका निर्देशक शर्माले हाल आफू विदामा रहेको भन्दै उक्त चिठ्ठी नपाएको र नियतवस काम नलगाएको स्पष्ट पारे । उनले भने, ‘निजी अस्पतालमा भएको भए पो पैसा कमाउनको लागि यस्तो गरिएको हो भन्नु, हाम्रो त सरकारी हो, उहाँहरू एक जना डेन्टल थेरापिस्ट हो भने एक जना सिनियर डेन्टल टेक्निसियन हुनुहुन्छ । डाक्टर आफँैले उहाँहरूलाई पहिले पहिले यही काम लगाउनुहुँदोरहेछ त्यो समयमा काम गर्दा केही भएन तर अहिले गर्नै हुँदैन भन्ने पनि त हुँदैन हो नि ।’ निर्देशक शर्माले अस्पतालमा बुझेर अबदेखि उहाँहरू (आफू) ले गर्न नहुँने काम नलगाउने र आफ्नो पद अनुसारको मात्रै काम लगाउने बताए ।

प्रतिक्रिया