सिसीटिभीको निगरानीमा कारागार

कालिकोट । कालिकोटमा पछिल्लो समय सिसीटिभी क्यामेरा जडान हुँदा चोरीनिकासीका घटनाहरूमा कमी आएको छ । यसले सदरमुकाम मान्ममा बसोवास गर्ने व्यापारी उद्योगीहरूलाई सहज वातावरण सिर्जना भएको छ ।  कालीकोटमा अहिले धमाधम सिसिटिभी जडान गर्न थालिएको छ । मान्म बजारमा केही समय अगाडि सिसिटिभी जडानपछि फेरि जिल्ला कारागारमा पनि सिसिटिभी जडान गरिएको छ ।

सोमबार जिल्ला कारागारमा सिसीटिभी जडानको उद्घाटन गदै प्रमुख जिल्ला अधिकारी चन्दबहादुर कार्कीले सीसीटिभीमार्फत प्रहरीलाई अपराध अनुसन्धान गर्न सहज हुने तथा सुरक्षित समाज निर्माणमा थप सहयोग पुग्ने बताए । अपराध र अपराधी समाजकै वरिपरि रहने बताउँदै उनले भने, ‘अपराध अनुसन्धानका क्रममा प्रहरीलाई समुदायको सहयोगी भूमिका हुन जरुरी छ ।’ कतिपय अपराधको अनुसन्धानमा अपराधी पत्ता लाग्न समय लागे पनि अधिकांश घटनाका अपराधी पत्ता लागि कानुनी दायरामा आएको समेत उनले उल्लेख गरे । उनका अनुसार, मान्म बजार सिसीटिभीको निगरानीमा गइसकेपछि अपराधिक घटनामा पनि कम आएको र घटना अनुसन्धानमा पनि सहज भएको छ ।

जिल्ला कारागार प्रमुख जेलर दलबहादुर बुढाले कारागारको शान्ति सुरक्षालाई व्यवस्थित बनाउन सिसीटिभीले निकै सहज भएको बताए । उनले कारागारभित्र र बाहिरका गतिविधि, बन्दीका क्रियाकलाप, सुरक्षाकर्मीको डिउटीको अवस्था लगायतका विषय आफ्नो कार्यकक्षबाटै अवलोकन गर्न सकिने बताए । उनले भने, ‘कारागार व्यवस्थापन विभागबाट आएको १ लाख २५ हजार बजेटले कारागारभित्र र बाहिरी भागलाई लक्षित गरी सात वटा क्यामेरा जडान गरिएका छन् ।

सिसीटिभी जडानमा सहभागी प्रहरी प्रमुख विनोद शर्माले, नेपाल प्रहरीले अंगीकार गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम विगतमा गरिएका कार्यक्रमहरूको अनुभवलाई माझेर परिष्कृत रूपमा आएको जनाए । उनले भने, ‘यो कार्यक्रम पहिलेको अनुभवबाट निखारेर सञ्चालन गरिएको हो । कार्यक्रमलाई सम्पूर्ण समुदायको पूर्णविश्वास र सहयोग प्राप्त हुनेमा आशावादी छु । योभन्दा पहिले मान्म बजारमा जडान गरिसकेका छौँ ।’ जडान गरिएका सिसी क्यामराले प्रहरीको काम कारबाहीमा थप चुस्तता आउने बताउँदै उनले प्रविधिको स्थापना गर्ने मात्र नभई निरन्तर मर्मत गर्दै कायम राखी त्यही अनुरूपको प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिए । उनले राज्यको उपस्थिति प्रत्येक कुना र कन्दरामा हुन नसक्ने भएकाले प्रविधिको प्रयोगलाई बढाइनुपर्ने बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया