बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रधानमन्त्री कृषि कार्यक्रम सुरु भएको छ । तिलोत्तमा नगरपालिकाका १७ वडाबाट छनोट भएर आएका ३ सय १६ जना उक्त कार्यक्रममा समावेश भएका छन् । उक्त कार्यक्रमको रूपन्देही–१ का सांसद छविलाल विश्वकर्माले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले श्रमलाई विगतमा हेप्ने प्रवृत्ति भए पनि अहिले श्रमको सम्मान सबैले गर्न जानेको बताए ।
कुनै समय देश अस्थिरतातर्फ गएको अवस्थामा श्रमको सम्मान हुन नसकेको भन्दै उनले अहिले स्थिरतासँगै समृद्धिको यात्रामा देश बढेको भन्दै श्रम गर्ने श्रमिकहरूकै योगदानले राष्ट्र निर्माण बन्ने उनको भनाइ छ । उनले आमजनतामा आफ्नो गाउँ आफँै बनाउने भन्ने सोच नआउँदासम्म जस्ता कार्यक्रमहरू पनि प्रभावकारी हुन नसक्ने भन्दै उनले श्रमका निम्ति सबै तप्पर हुनुपर्ने बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमले नयाँ सन्देश दिएको भन्दै श्रममा आएको ह्रास यो कार्यक्रमले प्रेरणा दिने बताए ।
त्यसैगरी नेकपा तिलोत्तमा नगरकमिटीका अध्यक्ष मोहन चापागाईंले प्रधानमन्त्री रोजगार कार्यक्रम उत्कृष्ट कार्यक्रम रहेको भन्दै यो कार्यक्रमले विदेशमा जाने युवाहरूलाई रोक्दै स्वदशमै रोजगारीको सिर्जना गर्न प्रेरणा मिल्ने बताए । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले नगरपालिका भित्रको काममा यो कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि लैजाने बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेस तिलोत्तमा नगरकमिटी सभापति हरिलाल पाण्डे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी, तिलोत्तमा चेम्बर अफ कर्मसका अध्यक्ष जेपी कँडेल लगायतले बोलेका थिए । नगरपालिकाले वडा–१ देखि ६ सम्मका युवाहरूलाई वनवाटिका र ७ देखि १७ वडाका युवाहरूलाई गौशालामा श्रममा लगाएको छ । एक महिनासम्म चल्ने कार्यक्रमका लागि संघीय सरकारले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले जानाकारी दिए ।
कार्यक्रम नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया