एजेन्सी, फ्रान्स । जारी महिला विश्वकपमा इंग्ल्यान्ड र इटालीले अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएका छन् । समूह चरणअन्तर्गत शुक्रबार राति भएका खेलमा जित निकाल्दै दुवै टिमले नकआउटमा स्थान बनाउन सफल भए । समूह डी अन्तर्गतको खेलमा इंग्ल्यान्डले अर्जेन्टिनालाई १–० ले पराजित गर्दा पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर, इंग्ल्यान्डले ६१ औँ मिनेटमा जोडी टाइलरको गोलमा टिमलाई अग्रता दिलाइन् । टाइलरले पछिल्लो १४ महिनामा पहिलो गोल सम्भव बनाइन् ।
यसअघि पहिलो हाफमा इंग्ल्यान्डकी निकिता पारिसले पेनाल्टीमा गोल गर्न असफल भएकी थिइन् । उनको प्रहार अर्जेन्टिनाकी गोल रक्षक भानिना कोरियाले आकर्षक बचाउ गरिन् । इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो । अर्जेन्टिनाले भने जित निकाल्न सकेको छैन ।
उसले पहिलो खेलमा बराबरी गरेको थियो । त्यस्तै समूह सीबाट इटालीले अन्तिम १६ मा स्थान पक्का गरेको छ । शुक्रबार राति भएको खेलमा उसले जमैकालाई ५–० ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको इटालीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल रह्यो । उसका लागि क्रिष्टिएना गिरेलीले ह्याट्रिक गरिन् ।
यस्तै एउरोरा गालीले दुई गोल गरेर टिमलाई ५–० को जित दिलाएकी थिइन् । लगातार दुई जित निकालेको इटालीको ६ अंक भएको छ । तीन अंकसहित ब्राजिल दोस्रो स्थानमा छ ।
महिला विश्वकपअन्तर्गत समूह ‘डी’को खेलमा उपाधिको दाबेदार मानिएको जापानले स्कटल्यान्डलाई हराउँदै नकाउट चरणको सम्भावनालाई बलियो बनाएको छ । शुक्रबार भएको समूहको छैटौँ खेलमा जापानले स्कटल्यान्डलाई २–१ गोल अन्तरले हराएको हो । खेलको सुरुआती अग्रता जापानले लिएको थियो । २३ औँ मिनेटमा जुन इन्डोको क्रसमा माना लावुचीले अग्रता दिलाएकी हुन् । खेलको ३७ औँ मिनेटमा युइका सुगासावाको गोलबाट जापानले अग्रता दोब्बर बनायो । स्कटल्यान्डकी राचेल क्रोसीले सुगासावालाई फाउल हानेपछि पाएको पेनाल्टीका उनले गोल गरिन् ।
पहिलो हाफमा २–० ले पछि परेको स्कटल्यान्डले खेलको ८८ औँ मिनेटमा अग्रता कम बनायो । जापान डिफेन्डरको गलत पासको फाइदा उठाउँदै स्कटल्यान्डकी लाना क्लियन्डले सान्त्वना गोल फर्काइन् । जितसँगै दुई खेलबाट चार अंक बटुलेको जापान समूहको शीर्ष स्थानमा रहेको छ । पराजयसँगै स्कटल्यान्डको नकाउट प्रवेश कठिन बनेको छ । उसले दुवै खेल गुमाएको छ ।
प्रतिक्रिया