बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न डोल्पाको सागर पाटन पुगेको पहिलो दिनमै नलगाड नगरपालिका ६, जाजरकोटका सविन विश्वकर्माको लेक लागेर मृत्यु भयो । यार्सागुम्बा टिपेर कमाएको पैसाले वर्षभरिको गर्जो टार्ने योजनासहित उनी आफ्ना दाइसँगै पाटन पुगेका थिए । ‘दिनभरि यार्सा टिपेर बस्ने ठाउँमा फर्केपछि टाउको दुख्यो भन्दा भन्दै जेठ १७ गते राति भाइको मृत्यु भयो,’ प्रेम विश्वकर्माले भने, ‘भाइलाई बचाउन धेरै प्रयास गरे पनि सकिएन । लास पाटनमै गाडेर घर फर्किएँ ।’ उनले भावुक हुँदै भने ।
सबिनसहित यो मौसममा यार्सा टिप्न उच्च हिमाली क्षेत्रमा पुगेका नौ जनाले ज्यान गुमाएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यार्सा उच्च हिमाली भागमा हुने र त्यसको मूल्य जति उच्च छ संकलनमा पनि उत्तिकै जाखिम रहेको छ । यार्सा पाइने ठाउँ धेरै उचाइमा छ र त्यहाँ लेक लाग्छ भन्ने थाहा भए पनि तयारी केही नभएकोले भाइलाई गुमाउनुपरेको प्रेमले बताए । ‘लेक लागेकावेला खाने भनेर घरबाट लसुन, टिमुर, खुर्सानी र मह लगेका थियौँ त्यसले पनि काम गरेन,’ प्रेमले भने । उनले घरबाट सुरक्षाका लागि बोकेको सामानलाई त्यहाँको लेकले जित्यो, सविनले जिवनसँगै हारे र ज्यान गुमाए ।
यार्सा पाइने पाटनमा बोटबिरुवा हुँदैनन् । कतिपय ठाउँमा त हिउँ पन्छाउँदै यार्सा टिप्नुपर्छ । यार्सा टिप्दा लेक लागेर बिरामी भई घर फर्किएका प्रवेश बानियाँले पाटनमा लेक लाग्छ भन्ने थाहा हुँदाहँुदै पनि अधिकांश मानिस हेलचेक्र्याईँ गरेर त्यत्तिकै जाने गरेको बताए ।
‘पाटन चढ्दै जाँदा एकाएक दम बढ्यो । त्यसपछि असहज महसुस हुने बित्तिकै फर्किएर बाँचे, उनले भने, ‘यार्सा पाइने पाटनमा बोटबिरुवा हुँदैनन् । कतिपय ठाउँमा त हिउँ पन्छाउँदै यार्सा टिप्नुपर्छ । बादल लाग्ने बित्तिकै हिउँ पर्न थाल्छ ।’ कति वेला कसले ज्यान गुमाउनु वा गाह्रो भएर फर्कन पर्ने हो थाहा छैन । बाहिरबाट हेर्दा देखिने यार्साको सुनौलो मूल्यले मान्छेको जिवनलीला नै समाप्त पार्ने गरेको छ ।
यार्सा खोज्दा प्रतिस्पर्धा हुने भएकोले स्वास्थ्यबारे खासै ध्यान नदिने गरेको यार्सा टिप्न तीन पटक डोल्पाका पाटन पुगेकी लक्ष्मी खड्का बताउँछिन् । उनी भन्छिन्, ‘हेलचेक्याइँले गर्दा ज्यान गएको देखेकी छु । त्यसैले लापरबाही गर्नु हुँदैन ।’ एउटा मौसममा संकलन गरेको यार्साले वर्षदिनको गर्जो टार्नुपर्ने भएकाले पनि धेरै जसोको ध्यान स्वास्थ्य र त्यहाँको मौसममा भन्दा संकलनमा जानाले यस्तो दुर्घटना हुने गरेको संकलकहरूको अनुभव छ ।
यार्सा टिप्न जानेले लेक लाग्नबाट जोगिन घरेलु औषधिको रूपमा खुर्सानी, टिमुर, मह, चिनी र लसुन लिएर गएका हुन्छन् । ‘दम बढ्न थालेपछि त्यही लसुन औषधिको रूपमा खान्छन् । योबाहेक उनीहरूसँग अरू औषधि हुँदैन । बिरामी भइहाले डोल्पाको दुनैसम्म पु¥याउन धेरैजसो पाटनबाट हिँडेर तीनचार दिन लाग्छ,’ लक्ष्मीले भनिन् ।
पाटनमै उपचारको व्यवस्था नभएका कारण उपचारको लागि टाडाको भएको स्वास्थ्य चौकी ल्याउँदै गर्दा बिरामीको बीच बाटोमै मृत्यु हुने गरेको आफन्तले जनाएका छन् । पूर्वतयारी र सावधानीबिना नै पाटन जाने भएकाले उनीहरू बिरामी पर्ने र कतिपयले त ज्यानै पनि गुमाउने गरेका छन् । यार्सा समुद्री सतहबाट ३,६५० हजार मिटरको उचाइमा पाइन्छ । पाटनमा जतिमाथि गयो त्यति नै अक्सिजन कम हुँदै जान्छ । अक्सिजनको कमीले सास फेर्न कठिन हुने, टाउको दुख्ने, उल्टी हुनेजस्ता समस्या देखा पर्छन् ।
डाक्टर अर्चना कार्की भन्छिन्, ‘सास फेर्न गाह्रो हुनेबित्तिकै जुन ठाउँमा हो त्यही ठाउँमा बस्नुपर्छ । तुरुन्तै तल फर्किनु हुँदैन । यस्तो वेला २४ देखि ४८ घन्टासम्म एकै ठाउँमा बस्नुपर्छ । त्यसपछि दुई–तीन घण्टा हिँड्दै अनि डेढ घण्टाजति आराम गर्दै तलतिर झर्नुपर्छ । आत्तिएर झर्न खोजे झन् जोखिम बढ्छ ।’
यार्सा टिप्न जानुभन्दा तीन–चार महिना पहिलादेखि नै अग्लो पहाड चढ्ने अभ्यास गर्न र स्वास्थ्य चेकजाँच गराएर मात्र यार्सा टिप्न जान डा. कार्की सुझाब दिन्छिन् । डोल्पा जिल्लाको कुनासा, कागमारा, जगदुल, फूलबारी, सागबारी, ग्यालबारा, सागर, नाउरे, छुताङ, धो, ताक्सी, सिसौल यार्सा पाइने मुख्य पाटनहरू हुन् । यतिवेला ती पाटनमा यार्सा टिप्ने मान्छेहरु बग्र्रेल्ती देखिने गर्छ । त्यहाँ जाने धेरै जसो ज्यानको बाजी लगाएर जाने गर्र्छन् ।
यस्तै, मुगुको चाल्ने, टाँके, ठूलोकोखी, छापाखोला, च्यार्कु, रिमार, नयाँ वन, झोपा लेक, इतिङ, रमानलगायतका पाटनमा पनि यार्सा पाइन्छ । यी स्थानमा पानी हरिया चौर रंगीचंगी देखिन्छ मान्छेका शरिरका विभिन्न रंगका कपडाले ज्यान हत्केलामा राखेर जाजरकोट, रुकुम, जुम्ला, डोल्पा, मुगुलगायतका जिल्लाका हजारौँ बासिन्दा यार्सा टिप्न डोल्पा र मुगुका पाटन पुगेका छन् ।
तेह्र हजारभन्दा बढी मानिस अनुमति लिएर यार्सा संकलनमा गएको डोल्पास्थित शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । उनीहरूबाट यार्सा संकलन प्रवेशाज्ञा बापत झन्डै तीन करोड रुपैयाँ राजस्व संकलन भएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले बताए । यार्सा टिप्नेको सुरक्षाको लागि प्रहरी, सेना र निकुञ्जका सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । पाटनहरूमा नागरिकको सुरक्षा गर्न तथा लुटपाट र चोरीडकैती नियन्त्रण गर्न, यार्सा संकलनलाई व्यवस्थित बनाउन, वन्यजन्तुको चोरीसिकार रोक्न सुरक्षाकर्मी परिचालन गरिएको निकुञ्जले जनाएको छ ।
सुरक्षाकर्मीले बिरामी परेका आठजनालाई उद्धार र कतिपयलाई उपचार गरेका छन् । निकुञ्ज क्षेत्रमा झन्डै सय सैनिक र ६० जना जति निकुञ्जका कर्मचारी खटाइएको छ । पाटनमा जोखिम बढी हुने भएकाले १६ वर्षमुनिका बालबालिका र गर्भवती महिलालाई जान रोक लगाएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले बताए । सुरक्षा गर्ने स्थानबाट जान नदिइएपछि कतिपय रातको समयमा बाटो छलेर पनि जाने गरेका छन् । एक व्यक्तिले थोरैमा चार सयवटा यार्सा टिप्न सक्छ । पाटनमै एउटा यार्सा पाँच सयदेखि पन्ध्र सय रुपैयाँमा किनबेच हुन्छ ।
मौसम र स्वास्थ्यले साथ दिएमा एक महिनामा एकजनाले पाँच लाख रुपैयाँसम्म कमाउन सक्ने संकलकहरू बताउँछन् । टिपेकै दिन यार्सा बिक्री हुन्छ । व्यापारीहरूले पहिले नै उनीहरूको रोएल्टी तिरिदिन्छन् । यसले भने टिप्नेलाइ चुनौति कम हुन्छ । केही व्यापारीले यार्सा संकलन गर्न गएका मानिसहरूलाई खाने र बस्ने व्यवस्था गरिदिन्छन् । त्यसो गर्दा यार्सा आफूले किन्न पाउँला भन्ने उनीहरूको सोचाइ हुनसक्छ ।
प्रतिक्रिया