चार दिनका लागि झोलुंगे पुल बन्द

दार्चुला । नेपाल–भारत जोड्ने झोलुंगे पुल चार दिनका लागि बन्द गरिने भएको छ । नेपाल–भारत जोड्ने जिल्ला सदरमुकाम खलंगास्थितको झोलुंगे पुल चार दिनका लागि बन्द गर्न लागिएको हो । नेपाल भारत जोड्ने झोलुंगे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द रहने प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले जानकारी दिए । भारतीय पक्षले सीमा पुलको मर्मत गर्ने बारे नेपाली प्रशासनलाई पत्राचार गरेको प्रमख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताए । जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेपछि नेपाली प्रशासनले समेत सूचना जारी गरी पुल बन्द हुने बारे जानकारी गराएको छ ।

नेपाल भारत जोड्ने खलंगास्थित झोलुंगे पुल जीर्ण बन्दै गएकाले मर्मत कार्य सञ्चालन रहने अवधिभर पुल बन्दको व्यवस्था मिलाइदिन उपखण्ड लोक निर्माण विभाग दार्चुलाले अनुरोध गरेको छ । यसअघि पनि भारतीय पक्षले गत फागुन ९ गते देखि १३ गतेसम्म मर्मत कार्य गर्ने जनाए पनि गरेको थिएन । पुलसमेत बन्द हुने सूचना सार्वजनिक गरिए पनि बन्द पनि गरिएको थिएन ।

करिब २०२८ सालतिर निर्माण गरिएको उक्त झोलुंगे पुलका प्लेटहरू जीर्ण बन्दै गएकाले फेर्ने लगायतका मर्मत कार्य गरिने बताइएको छ । भारतीय पक्षद्वारा निर्माण गरिएको उक्त झोलुंगे पुलको हरेक तीन वर्षमा मर्मत कार्य गरिँदै आएको छ । सोहीअनुसार भारतीय पक्षले नेपाल भारते जोड्ने झोलुंगे पुलको मर्मत गर्न लागेको हो ।

भारत सरकारद्वारा निर्माण भएका सीमा पुलहरू भारतीय सरकार र नेपाल सरकारद्वारा निर्माण गरिएको पुलहरूको मर्मत नेपाल सरकारले गर्ने गरेको छ । जौलजीवि, दत्तु, तिगरम तथा सीतापुलको मर्मत कार्य नेपाल सरकारले गर्ने गरेको छ ।

प्रतिक्रिया