विराटनगर । सहयोगी मनका उदाहरण बनेका छन् विराटनगका पत्रकार शङ्कर खरेल । सधैँ समाचार सङ्कलन र सम्प्रेषणको जिम्मेवारी निर्वाह गरिरहेका विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टी दैनिकका प्रधानसम्पादक खरेललाई कदर गर्दै मोरङ व्यापार संघ, उद्योग सङ्गठन मोरङ, दाहाल प्रतिष्ठानलगायतबाट उहाँ पुरस्कृत भएका थिए ।
पुरस्कारबाट प्राप्त रु ६० हजार पत्रकार खरेलले व्यक्तिगत खर्च नगरी सार्वजनिक हितमा खर्च गर्ने निधो गरेपछि परोपकार आधारभूत विद्यालय–१ का ४० र सार्वजनिक माध्यमिक विद्यालयका तीन गरी जम्मा ४३ जना छात्रछात्रालाई विद्यालय पोशाक आज एक समारोहबीच वितरण गरियो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रका सामुदायिक विद्यालय सुधारका लागि ऐन बनाई कार्य गर्ने बताएका छन् । त्रिवेणी बचत तथा ऋण सहकारी लिमिटेड र न्यू सृष्टी दैनिकद्वारा आज आयोजित विद्यार्थीलाई पोशाक वितरण गर्दै उनले सो जानकारी दिएका हुन् । प्रमुख पराजुलीले विद्यालय सुधारमा टुलुटुलु हेरेर नबस्ने भन्दै आगामी निर्वाचन पराजित भए पनि यो कार्य गर्नपछि नहट्ने विचार व्यक्त गरे ।
उनले आगामी वर्ष नगर क्षेत्रका १० वटा सामुदायिक विद्यालयलाई नमूना बनाउने र यसका लागि रु ५० लाख बजेट छुट्याइएको जानकारी दिए । नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुइँटेलले राज्यको सोच सामुदायिक विद्यालयलाई आगाडि बढाउनु रहेको बताउँदै यस्तो सामाजिक कार्यबाट पत्रकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने टिप्पणी गरे ।
न्यू सृष्टीका प्रधानसम्पादक शङ्कर खरेलले आफूले प्राप्त गर्ने पुरस्कारको राशि आगामी दिनमा पनि यसरी शिक्षा तथा सामाजिक क्षेत्रमा कार्य वितरण विद्यार्थीले यसबाट उत्साह र ऊर्जा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
त्रिवेणी बचतका अध्यक्ष गणेशप्रसाद उप्रेती, मोरङ व्यापार संघका नवनिर्वाचित अध्यक्ष प्रकाश मुन्दडा, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे र वडा नं–१ का वडाध्यक्ष उद्धव आर्यालले परोपकार विद्यालयमा पुस्तकालय, दिवा खाजा आदिका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया