काठमाडौं । नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ ।
हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको काम एक साथ अगाडि बढाउन अध्ययनको तयारी गरेको हो । पर्वतीय पर्यटनका निम्ति आवश्यक जनशक्ति उत्पादनदेखि अन्तराष्ट्रिय विशिष्ट पाहुनालाई समेत हिमाल चढाउन मिल्ने माउन्टेन हब निर्माण गर्दा अन्तराष्ट्रियस्तरमा विशिष्ट पहिचान हुने विश्वासका साथ उपयुक्त स्थानको छनोट गर्न लागिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले बताए ।
सरकारले चाहेजस्तो पर्याप्त पूर्वाधार निर्माण गर्न उपयुक्त स्थान काठमाडौंबाट सबैभन्दा नजिकको दुरीमा रहेको रुवी भ्यालीस्थित गणेश हिमाल श्रृंखलाअन्तर्गत पाल्दोर हिमालको आधार शिविर पाङसाङपासमा रहेको धादिङ क्षेत्र नं.–२ का सांसद खेमप्रसाद लोहनीले बताए ।
पाल्दोर आधार शिविर र पाङसाङपासमा हालै नेपाल पर्वतारोहण संघको संयोजनमा राष्ट्रिय योजना आयोगको उच्च पदाधिकारीद्वारा स्थलगत अवलोकन गरी सकिएको छ । यही जेठ १गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल नेतृत्वको टोलीले रुवी भ्यालीको पाङसाङ पास र पाल्दोर आधार शिविर पुगेर स्थलगत निरीक्षण गरेको हो । अध्ययन भ्रमणमा राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुयाँल, धादिङ क्षेत्र नं.–२ का सांसद खेम प्रसाद लोहनी, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ लगायतको सहभागिता थियो ।
पाङसाङबाट अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर लगायतका श्रृंखला नजिकबाट अवलोकन गर्न सकिन्छ । काठमाडौंबाट धादिङबेसी हुँदै दुई दिनमा पुग्न सकिने सो स्थानमा रसुवाको स्याफ्रुबेसी हुँदै एकै दिनमा मोटर चढेर पुग्न सकिन्छ । हेलिकप्टर मार्फत १८मिनेटमै पुगिने सो स्थान स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्न सक्छ ।
स्थलगत निरीक्षण गरेर फर्किएका राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुयाँलले राष्ट्रिय महत्वबोकेको राम्रा परियोजनाको खोजी गर्ने क्रममा पाल्दोर पिक पनि एउटा सम्भावनाले युक्त देखिएको बताए ।
नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालले यस अघि पाल्दोर पिकमा माउन्टेन हट निर्माण गर्न विभिन्न दातृ निकायसँग सहकार्य गरेर प्रारम्भिक अध्ययन गरेका थिए । सोही अध्ययनका आधारमा सांसद लोहनी र नेपाल पर्वतारोहण संघको मागका आधारमा सरकाले बजेट समेत विनियोजन गरेको छ ।
सरकारले माउन्टेन हब बनाउने उद्देश्यका साथ बजेट विनियोजन गरेरै अध्ययन गर्न थालेपछि पर्वतीय पर्यटन व्यवसायीहरू खुसी भएका छन् । नेपाल पर्वतारोहण संघका पूर्व महासचिव ठाकुरराज पाण्डे पाल्दोरमा माउण्टेन हबनिर्माण हुँदा सिंगो मुलुकले फाइदा पाउने हुँदा पर्यटन क्षेत्र हर्षित भएको बताउँछन् ।
नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ पर्वतीय पर्यटनलाई राष्ट्रले अपनत्व लिएर परियोजना अगाडि बढाएकोमा खुसी व्यक्त गर्दै सहकार्यका निम्ति पर्वतारोहण संघ सँधै तत्पर रहने बताउँछन् ।
सरकारले हिमाली क्षेत्रलाई विशेष महत्व दिँदै विभिन्न आयोजनालाई बजेट मार्फत सम्बोधन गरेको छ । नेपाल सरकारको यही आर्थिक वर्षमा हिमाली क्षेत्रमा पूर्व–पश्चिम हरित पदमार्ग, हिमाली क्षेत्रमा पुग्न केवलकार र विभिन्न सर्किटहरूमा पदमार्ग निर्माण गर्नबजेट व्यवस्था गरेको छ । रुवी भ्यालीको लागि पनि विस्तृत परियोजना प्रस्ताव तयार गर्न र पाल्दोर आधार शिविरसम्म पुग्न पदमार्ग निर्माणका लागि एक करोड १० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया