करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जबरर्जस्ती करणी मुद्दामा फारार रहेका प्रतिवादीलाई साढे पाँच वर्षपछि पक्राउ गरेको छ ।

विसं २०७० मङ्सिर १६ गते काभ्रेपलाञ्चोकको पोखरीचौरी गाविस–४ स्थित रैकर जङ्गलमा १३ वर्षीया बालिकालाई ज्यान मार्ने धम्की दिई जबरर्जस्ती करणी गरेको मुद्दामा अदालतको फैसलापछि फरार रहेका सिन्धुपाल्चोक बतासे गाविस–२ का ‘नीरबहादुर’ भन्ने रमेश थापालाई ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

ब्यूरोको टोलीले उनलाई खोजतलासका क्रममा कीर्तिपुरको नयाँबजारबाट बिहीबार पक्राउ गरेको हो । थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले आज जनाएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले विसं २०७४ वैशाख २५ गते प्रतिवादी थापालाई आठ वर्ष कैद सजाय र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराइ दिनुपर्ने फैसला गरेको थियो ।

जिल्ला अदालत काभ्रेको फैसलालाई उच्च अदालत पाटनले सदर गरेको थियो । काठमाडौँ जिल्ला अदालतको आदेशले आजै प्रतिवादी थापालाई कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया