चिकित्सकको लापर्वाहीले गयो बिरामीको ज्यान

काठमाडौं । काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा चिकित्सकको लापरबाहीका कारण एक बिरामीको मृत्यु भएकोभन्दैे आफन्त आन्दोलनमा उत्रिएका छन् ।

पत्थरीयुक्त पित्तथैली निकाल्न अप्रेसन गरेको ६ दिनपछि बिहीबार सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० की रामप्यारी थापाको मृत्यु भएको थियोे । थापाको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अप्रेसन भएको थियो । अप्रेसनको एक सातापछि अस्पतालले बिहीबार उनलाई मृत घोषणा गरेको हो । ५० वर्षीया रामप्यारी परिवारजनलाई खाना खुवाएर आफैँ हिँडेरै अप्रेसनका लागि ओम अस्पताल पुगेकी थिइन् ।

ड्रिल गरेर अप्रेसन गर्दा मेसिनले सानो आन्द्रा छेडेको र सर्जनले त्यसलाई नटालीकन बन्द गरिदिँदा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । डाक्टरले एक सातासम्म निको हुने आश्वासन दिँदै आएको तर बिहीबार बिहान मृत्यु भएको घोषणा गरेको आफन्तको भनाइ छ । उपचारमा संलग्न चिकित्सकको लापरबाहीकै कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।
तर, अस्पताल प्रशासनले भने रामप्यारीको उपचारमा चिकित्सकबाट कुनै लापरबाही नभएको बताएको छ ।

बिरामीको अवस्था पहिलेदेखि नै गम्भीर रहेको र प्रयास गर्दागर्दै बचाउन नसकिएको अस्पतालको भनाइ छ । बिहीबार पत्रकारसम्मेलन गर्दै अस्पतालले ल्याप्रोस्कोपिक प्रविधि (दूरवीनको सहयोगमा मेसिनले प्वाल पारेर गरिने अप्रेसन) बाट पित्तथैली (गल ब्लाडर) निकाल्ने क्रममा ल्याप्रोस्कोपिक यन्त्रले आन्द्रामा प्वाल पारेको तर सर्जनले त्यसलाई नदेखेको स्विकारेको छ । सर्जनले अप्रेसनका क्रममा निकै सावधानी अपनाए पनि मेसिनले कुनै गडबडी नदेखाएका कारण घाउमा टाँका लगाएर अप्रेसन टुंग्याएको अस्पतालका मेडिकल निर्देशक डा. केपी देवकोटाले पत्रकार सम्मेलनमा बताए ।

तर, शनिबार बिरामीको अवस्थामा सुधार आउनुको साटो पेट दुख्ने, ज्वरो आउने, मुटुको धडकन बढ्ने, छातीमा निमोनिया तथा विभिन्न अंगमा संक्रमण फैलिएको थियो । अवस्था बिग्रिँदै गएपछि सर्जनले आइतबार अल्ट्रासाउन्ड, सिटी स्क्यान लगायत चेकजाँच गराउँदा पनि कुनै गडबडी पाएनन् । चिकित्सकले अप्रेसनका क्रममा दूरवीन छिराउन पारिएको प्वालमध्येको एउटाको टाँका खोलेर हेर्दा त्यहाँबाट फोहोर निस्किएको देखेपछि बल्ल आन्द्रामा प्वाल परेको थाहा भएको डा. देवकोटाको भनाइ छ ।

त्यसपछि बिरामीको पुनः अप्रेसन गरी पेटबाट दिशा निकाल्ने पाइप जडान गरिएको तर आन्द्रा काटेर जोड्न भने बिरामीको बिग्रँदो अवस्थाका कारण सम्भव नभएको अस्पतालको भनाइ छ । बिरामीको अवस्थामा सुधार नआई आन्द्रा काटेर जोड्नेस्तरको अप्रेसन गर्दा बिरामीको होस आउन नसक्ने निष्कर्षमा पुगेर अप्रेसन नगरिएको छिटो सम्भव हुने पाइपजडान मात्र गरिएको डा. देवकोटाको भनाइ छ ।

त्यसपछि बिरामीका सबै अंगमा संक्रमण बढ्दै गई मिर्गौला लगायत सबै अंगले काम गर्न छोडेकाले बिरामीको मृत्यु भएको उनले बताए । बिरामीको पहिले नै तीनपटकसम्म पाठेघरको अप्रेसन भइसकेकाले अप्रेसन जटिल रहेको कुरा सर्जनले पहिले नै आफन्तलाई जानकारी गराएकोसमेत उनको दाबी छ । रामप्यारीलाई मृत घोषणा गरेसँगै बिहीबार आफन्तले ओम अस्पतालपरिसरमा नाराबाजी गरेका थिए ।

उनले भने, ‘बिरामीलाई बचाउन सकिन्छ की भन्ने उद्देश्यले डाक्टरी सिद्धान्तअनुसार सक्दो प्रयास भएको छ । लापरबाही भएको छैन । डाक्टरले बिरामीको जीवन बचाउन हर सम्भव प्रयास गरेको छ । तर बिरामीको रगतमा सेप्सिस (संक्रमण) भइसकेको थियो । उपलब्ध भएसम्मका एन्टिबायोटिक्स दिँदा पनि काम गरेन । र, अन्ततः उहाँको निधन भयो,’ उनले भने ।

मृतकका आफन्तले घटनाको उचित छानबिन हुनुपर्ने, अस्पतालले माफी माग्नुपर्ने, उपचारमा संलग्न चिकित्सकमाथि कारबाही हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग गरेका छन् ।

प्रतिक्रिया