काठमाडौँ । नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ । सो अभियानका क्रममा सत्तारूढ पार्टी एवं अन्य विभिन्न पार्टीबाट देशभरिका कार्यक्रममार्फत ३१ हजार ६४२ कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरुमा साधारण सदस्यतादेखि जिल्ला र गाउँनगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका अन्य पार्टीका नेता कार्यकर्तासमेत रहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनिहरुलाई पार्टीले आवश्यक प्रशिक्षणपश्चात उपयुक्त जिम्मेवारी प्रदान गर्नेछ ।
प्रवक्ता शर्माले भने, ‘कांग्रेसले आफूलाई नवीन ढङ्गले अघि बढाएर संविधान, संघीयता र लोकतन्त्रको रक्षा एवं संवद्र्धनको भूमिका निर्वाह गर्नुपर्ने आम अपेक्षा देखिएको छ ।’ सोही आशा र विश्वासको भावनाका साथ कांग्रेसमा समाहित हुन चाहने आकाङ्क्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको सो पार्टीले जनाएको छ ।
अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । कांग्रेसलाई सुदृढ र नवीन बढाउँदै अघि बढ्न जागरण अभियान क्रममा औँल्याइएका कमजोरी आत्मसात गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै कांग्रेस अघि बढ्ने जनाइएको छ ।
अभियानसँगै जिल्ला सम्पर्क समितिहरुको संयोजनमा काठमाडौँमा मासिक रुपमा नियमित रक्तदान कार्यक्रम प्रारम्भ भएको छ । यही जेठ २३ मा भएको प्रथम रक्तदानमा ७३ व्यक्तिले रक्तदान गरेर ‘काठमाडौँका अस्पतालहरुमा रगतको अभाव हुन नदिने’ घोषणा गरिएको छ । असारको अन्तिम शनिबार दोस्रो रक्तदान आयोजित हुनेछ ।
असार तेस्रो साता केन्द्रीय समितिको बैठक
जागरण अभियानको दोस्रो चरण आगामी भदौ २४ गते (विपी जयन्तीका दिन० प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ । प्रथम चरणका खटिएका केन्द्रीय प्रतिनिधिले आगामी असार १४ गतेभित्र आफ्नो लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने निर्देशन गरिएको छ ।
पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिबीच विशेष विर्मश गरी जागरण अभियानको प्रथम चरणको समीक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दामा केन्द्रित रहेर कांग्रेस केन्द्रीय समितिको बैठक असार तेस्रो सातामा बस्नेछ । जागरण अभियानको दोस्रो चरण प्रवेशपूर्व नै नेपालको संविधान र कांग्रेसको संशोधित विधानबमोजिमको सम्पूर्ण संरचनाहरु निर्माण गरिने प्रवक्ता शर्माले जानकारी दिए ।
नेपाल विद्यार्थी संघलगायतका भ्रातृ संस्थाहरुबारे पनि आवश्यक निर्णय यथाशीघ्र लिइने उनले बताए । अभियानको दोस्रो चरण पूर्व कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा विभिन्न तहमा प्रशिक्षणका कार्यक्रम गरिनेछन् ।
कांग्रेसको उम्मेदवार भएर विजयी देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि ‘सेवा, सङ्गठन र समृद्धि’ केन्द्रित प्रशिक्षण आगामी साउनको प्रथम साता काठमाडौँमा आयोजना गरिने पार्टी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया