एजेन्सी, फ्रान्स । युरोकप छनोट प्रतियोगितामा मंगलबार भएको खेलमा बेल्जियम र इटाली विजयी भएका छन् । बेल्जियमले स्कटल्यान्डलाई ३–० ले हराउँदा रोमेलु लुकाकुले दुई गोल गरे । बेल्जियमको ब्रुसेलमा भएको खेलमा लुकाकुले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
५७औँ मिनेटमा उनले दोस्रो गोल गर्दा बेल्जियमले २–० को अग्रता लियो । दोस्रो हाफको इन्ज्युरी समयमा केभिन डी ब्रुयनले गोल गर्दै बेल्जियमको ३–० को जित सुनिश्चित गराए । समूह आईमा बेल्जियमले चार खेलबाट शतप्रतिशत जित निकाल्दै १२ अंक जोडेको छ ।
स्कटल्यान्डको भने ६ अंकमात्र छ । यो समूहमा रसिया दोस्रो स्थानमा छ । रसियाले मंगलबारको खेलमा साइप्रसलाई १–० ले हरायो । समूह जे अन्तर्गतको खेलमा इटालीले बोस्निया एन्ड हर्जगोविनालाई २–१ ले हरायो । पहिलो हाफमा बोस्नियाले अग्रता बनाएपनि दोस्रो हाफमा दुई गोल खान पुग्यो । ३२औँ मिनेटमा इडिन जेकोले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए । ४९औँ मिनेटमा लोरेन्जो इन्साइनले गोल गर्दै खेल बराबरीमा पु¥याए । त्यसपछि ८६औँ मिनेटमा मार्को भेराटीले गोल गर्दै इटालीको जित सुनिश्चित गराए ।
विश्व विजेता फ्रान्सले युरो कप छनोट प्रतियोगितामा तेस्रो जित हात पारेको छ । यसअघि टर्कीसँग अविश्वसनीय हार ब्यहोरेको फ्रान्सले मंगलबार राति भएको खेलमा एन्डोर्रालाई ४–० ले हरायो । जितसँगै फ्रान्स समूहको शीर्ष स्थानमा उक्लिएको छ । यो समूहको चार खेल सकिँदा तनिवटा टिमको समान ९–९ अंक छ ।
एन्डोर्राको मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउनका लागि केलियन एमबाप्पे, विसम बेन यडर र फ्लोरेन थाउभनि र कर्ट जोउमाले गोल गरेका थिए । फ्रान्सले ११औं मिनेटमा एबाप्पेको गोलबाट अग्रता लिएको थियो भने बेन यड्डरले ३०औं मिनेटमा टिमका लागि दोस्रो गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा थाउभिनले गोल गर्दै फ्रान्सलाई ३–० को अग्रता दिलाए ।
६०औं मिनेटका कर्ट जउमाले गोल गरेपछि फ्रान्सले सहज जित निकाल्यो । यो समूहमा टर्की भने आइसल्यान्डसँग २–१ ले पराजित भएको छ । आइसल्यान्डका लागि राग्नर सिगुरोसनले दुई गोल गरेका थिए भने टर्कीका लागि डोरुखान टोकोजले गोल गरेका थिए । पहिलो हाफमै २–१ को अग्रता लिएको आइसल्यान्डले अन्तिम सम्म सो अग्रता जोगाउन सक्यो ।
प्रतिक्रिया