सगरमाथा जामको छानबिन हुने

काठमाडौं । सरकारले सगरमाथामा आरोहणका क्रममा भएको भनिएको ट्राफिक जामका विषयमा छानबिन गर्न समिति गठन गरेको छ । सगरमाथा चढ्न धेरै यात्रुले अनुमति पाएको र ट्राफिक जामका कारण आरोहीको ज्यान गएको भन्ने समाचार आएपछि सरकारले छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको हो ।

ट्राफिक जामको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्ययममा समेत चर्चा भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रबद्र्धधन महाशाखाका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ । समितिले अध्ययन गरेर सगरमाथामा भएको जामको यथार्थ, आरोहणका क्रममा ज्यान गुमाएका तथा हराइरहेकाहरू, आरोहण सम्बन्धी नीतिगत समस्या लगायतको विषयमा सुझाव दिने र आउँदा दिनमा सुधार गरिने पर्यटन विभागले जनाएको छ ।

विभागले विज्ञप्ति जारी गर्दै सन् २०१७ मा ३६६, सन् २०१८ मा ३४६ र यस वर्ष ३८१ जनाले आरोहण अनुमति लिएको भन्दै धेरैलाई अनुमति दिएका कारण सगरमाथामा समस्या आएको कुरा तथ्यसंगत नभएको उल्लेख गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमले भने धेरै जनालाई अनुमति दिएका कारण मृतकको सख्याको बढेको दाबी गर्दै आएका छन् । सो दाबीका विरुद्ध मन्त्रालयले विगतको संख्या समेत सार्वजनिक गरेको हो ।

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या बढेपछि हिमालमा ज्यान गुमाउनेको संख्या बढेको भन्ने चर्चा हल्ला गरिएअनुसारको समस्या नभएको बताएका थिए । बिबिसीसँगको अन्तवार्ताका क्रममा उनले आरोहणमा देखिएका केही समस्या समाधान गर्न नेपालले आरोहणसम्बन्धी नियमावलीमा आवश्यक परिवर्तन गरिरहेको बताएका थिए ।

विभागले जारी गरेको विज्ञप्तिमा यस वर्ष सगरमाथा आरोहणका लागि तीन सय ८१ जनाले अनुमति लिएकोमा दुई सय एक जनाले सफल आरोहण गरेको उल्लेख छ । यस्तै आरोहीका सहयोगी ३७ जना समेत गरेर यस वर्ष ६ सय ५९ जना सगरमाथाको शिखरमा पुगेका छन् । जसमा ६५ जना महिला र पाँच सय ९४ जना पुरुष रहेका छन् । यो वर्षको वसन्तकालीन मौसममा सगरमाथामा ८ जनाले ज्यान गुमाएका र एक जना हराइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया