एजेन्सी, नयाँ दिल्ली । भारतीय अलराउन्डर युवराज सिंहले क्रिकेटबाट सन्यास लिएका छन् । आफ्नो क्रिकेट करियरमा भारतका लागि ४० टेस्ट, ३०४ एकदिवसीय र ५८ टी–२० खेल खेलेका युवराजले क्रिकेट खेलाडीको करियरबाट बिदा लिने निर्णय गरेका हुन् । उनी यो समयकै सबैभन्दा उत्कृष्ट भारतीय अलराउन्डर हुन् । विस्फोटक ब्याटिङ, स्पिन बलिङ र उत्कृष्ट फिल्डिङका कारण उनी उत्कृष्ट अलराउण्डरको परिचय बनाउन सफल भएका थिए ।
सन् २०११ मा भारतले विश्वकपको ट्रफी उचाल्दा उनले प्रतियोगितामा चार वटा अर्धशतक र एउटा शतक बनाएका थिए । साथै उनले १५ विकेट समेत लिएका थिए । उनले आयरल्याण्डविरुद्धको एउटै खेलमा पाँच विकेट लिएका थिए । जसका कारण उनी प्रतियोगिताकै ’सर्वोत्कृष्ट खेलाडी’ समेत घोषित भएका थिए ।
विश्वकप जितेपछि उनी बिरामी परे । उनको फोक्सोको बीचमा ट्युमर पलाएको थियो । करिब एक वर्षको उपचार र विश्रामपछि उनी पुनः क्रिकेटमा फर्किएका थिए । लामो संघर्षपछि सन् २०१७ मा उनी पुनः राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका थिए । उनले एकदिवसीय खेलमा ३६ दशमलव ५५ को औसतमा कुल ८ हजार ७ सय १ रन बनाएका छन् ।
टेस्ट क्रिकेटमा ११ वटा अर्धशतक बनाएका युवराज सिंहले टी–२० मा १ हजार १ सय ७७ रन बनाएका छन् । सन् २००७ को विश्वकपमा स्टुअर्ट ब्रोडको बलमा एउटै ओभरमा उनले ६ छक्का प्रहार गरेका थिए । जुन उनको करियरको सबैभन्दा चर्चित प्रदर्शन हो ।
प्रतिक्रिया