दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दार्चुलाको जिल्ला कमिटी घोषणा तथा शपथ ग्रहण कार्यक्रम गरिएको छ । तत्कालीन नेकपा एमाले र नेकपा आमोबादीबीच पार्टी एकीकरण भएको एक वर्ष पश्चात् सुदूरपश्चिम प्रदेशको चौथो जिल्लाको रूपमा नेकपा दार्चुलाको जिल्ला कमिटी घोषणा तथा शपथ ग्रहण गराइएको हो ।
गत वर्षको ३ जेठमा नेकपा एमाले र नेकपा माओबादीबीच पार्टी एकताको घोषणा गरिएको थियो । नेकपाले केन्द्रमा पार्टी एकीकरण भइसके पनि जिल्ला स्तरहरूमा भने अझै कमिटीको टुंगो लगाउन सकेको छैन । एकता प्रक्रियाको पूर्णता दिने कार्यमा ढिलाइ भइरहेको नेकपाको दार्चुला जिल्लाको कमिटी भने घोषणा गरिएको छ ।
नेकपाले जिल्ला अध्यक्ष र जिल्ला सचिवको भने यसअघि नै टुंगो लगाएको थियो तर दार्चुलाका जिल्ला सचिवको टुंगो लगाए पनि शपथ ग्रहणमा केन्द्रले सिफारिस गरेका नेता सहभागी नभएपछि सचिवको टुंगो लाग्न सकेको थिएन ।
नेकपा दार्चुलाका जिल्ला कमिटी अध्यक्षमा पूर्व माओवादीबाट गणेशसिंह खत्रीको नाम पठाए अनुसार चयन भएका छन् । अध्यक्ष खत्रीले यसअघि प्रदेश राजधानीमा आयोजित शपथ ग्रहण कार्यक्रममा शपथ लिइसकेका छन् ।
यस्तै केन्द्रले सचिवमा पूर्व एमालेका जिल्ला अध्यक्ष रामदत्त जोशीले सचिव पद अस्वीकार गरेका थिए । उनले सचिव पद अस्वीकार गरेपछि केन्द्रको निर्णय र विधानअनुसार पूर्व एमालेका जिल्ला उपाध्यक्ष उदयसिंह बडाललाई नेकपाको जिल्ला सचिवको चयन गरिएको नेकपा स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले बताएका छन् ।
यस्तै जिल्ला कमिटी सदस्यहरूमा पूर्व एमालेबाट ७५ जना र पूर्व माओवादीबाट ६० जना पर्ने गरी जिल्ला कमिटीको घोषणा गरिएको छ । नेकपा एक नेताका अनुसार पूर्व एमालेबाट ७५ जना जिल्ला कमिटीमा अटाएका छन् भने पूर्व माओबादीबाट ६० जना समावेश गरिएका छन् ।
नेकपा दार्चुलाका जिल्ला अध्यक्ष गणेशसिंह खत्रीको अध्यक्षतामा तथा नेकपा स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलको प्रमुख आतिथ्यतामा घोषणा तथा शपथ ग्रहण कार्यक्रम गरिएको छ ।
यस्तै कार्यक्रममा स्थायी समिति सदस्य लेखराज भट्ट, नेकपा सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज लक्ष्मणदत्त जोशी, नेकपा सुदूरपश्चिम अध्यक्ष कर्णबहादुर थापा, सुदूरपश्चिम प्रदेश सचिव नेपबहादुर चौधरी, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, प्रदेश सांसदद्वय मानबहादुर धामी, गेल्बुसिंह बोहरा लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया