एजेन्सी, अमेरिका । लियोनल मेसीको दुई गोलप्रेरित अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा निकारागुवालाई ५–१ गोल अन्तरले पराजित गरेको छ । लियोनल मेसी प्रेरित अर्जेन्टिना अहिले कोपा अमेरिका कपको तयारीमा रहेको छ ।
मेसीले १ मिनेटभित्र २ गोल गर्दै अर्जेन्टिनालाई सुरुमै २–० को अग्रता दिलाएका थिए । ३७औँ मिनेटमा गोभानीको पासमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसको १ मिनेटमा फेरि मेस्सीले अर्को गोल थपेपछि निकारागुवा २–० ले पहिलो हाफमा पछि परेको थियो । पहिलो हाफमा २ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा ३ गोल थपेको थियो भने एक गोल खाएको थियो ।
दोस्रो हाफमा अगुएरो र मेसीको स्थानमा मार्टिनेज र पाउलो डिबाला मैदान प्रवेश गरेका थिए । ६३ औं मिनेटमा मार्टिनेजले कर्नरमा आएको बललाई नियन्त्रणमा लिँदै गोल गरे । त्यसको १० मिनेटपछि मार्टिनेजले व्यक्तिगत दोस्रो गोल थपे । कर्नरमा आएको बललाई उत्कृष्ट हाफ भली प्रहार गर्दै उनले अर्जेन्टिनालाई ४–० को अग्रता दिलाए । खेलको ९ मिनेट समय बाँकी रहँदा परेराले अर्जेन्टिनालाई ५–० ले अगाडि बढाए ।
विङ्बाट आएको क्रसलाई मार्टिनेजले गोलको दिशा दिन नसक्दा फार पोस्टमा रहेका परेराले गोल गरेका थिए । इन्ज्युरी समयको पहिलो मिनेटमा निकारागुआले पेनाल्टीमा गोल फर्कायो । डिफेन्डर निकोलस ओटामेन्डीले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टी बरेराले सदुपयोग गर्दै सान्त्वना गोल गरे । अर्जेन्टिनाले कोपा अमेरिकाको समूह चरणमा कोलोम्बिया, पाराग्वे र कतारको सामना गर्नेछ । अर्जेन्टिनाले पहिलो खेल जुन १५ मा कोलोम्बियाविरुद्ध खेल्नेछ ।
प्रतिक्रिया