सुरु भयो दुइदिने अन्तराष्ट्रिय शिक्षा सम्मेलन

काठमाडौं । व्यवस्थापन र प्रविधिका सम्भावना तथा चुनौती विषयक अन्तराष्ट्रिय शैक्षिक सम्मेलन शनिबारदेखि ललितपुरमा सुरु भएको छ । कुमारीपाटीस्थित मेगा नेशनल कलेजको प्रांगणमा सुरु भएको २ दिने अन्तर्रा्ष्ट्रिय शैक्षिक सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा सहभागि हुन भारत, चीन, बेलायत, फ्रान्स, जर्मनी र अमेरिकाका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु नेपाल आएका छन् । सम्मेलनको उद्घाटन गर्दै नेपाल सरकारका सचिव पदमप्रसाद पाण्डेले कुशल व्यवस्थापन हरेक राष्ट्रको आवश्यकता बनिसकेकोले व्यवस्थापन क्षेत्रमा अन्तर्रा्ष्ट्रिय शैक्षिक सम्मेलन हुनुले उत्साह बढाएको बताए ।

‘आधुनिक विश्वमा कुशल व्यवस्थापन र प्रविधिको प्रयोगबारे भएका खोज अनुसन्धानलाई शैक्षिक क्षेत्रमा उपयोग गरी दक्ष जनशक्ति तयार पार्नुपर्नेछ’, पाण्डेले भने । उनले सरकार र नीजि क्षेत्र दुवैले व्यवस्थापन र प्रविधि क्षेत्रमा भोगेका समस्याहरुको समाधान खोज्न सम्मेलनमा सहीढंगबाट छलफल हुने विश्वास व्यक्त गरेका छन ।

आयोजक मेगा नेशनल कलेजका प्रिन्सिपल डा. घनश्यामप्रसाद साहले नीजि क्षेत्रबाट व्यवस्थापन र प्रविधिको विषयमा खोज अनुसन्धानको प्रयास थालिएको बताए । नेपालको नीजि शिक्षण संस्थाको अगुवाईमा राष्ट्रलाई नै उपयोगी हुने व्यवस्थापन र प्रविधि सम्बन्धी सम्मेलन आयोजना गरिएको हो ।

मानविकी संकायका डीन डा. शिवलाल भूषाल र नेपाल खुला विश्वविद्यालयका प्राध्यापक डा. रामचन्द्र पौडेल, त्रिभुव विश्वविद्यालयका प्रा.डा.श्रीधर गौतम लगायतले नेपालको व्यवस्थापन शिक्षालाई प्रभावकारी बनाउन तथा विद्यार्थीलाई अन्तर्रा्ष्ट्रिय अनुभवबारे जानकार बनाउन सम्मेलन फलदायी हुने बताएका छन ।

आइतबारसम्म चल्ने सम्मेलनमा व्यवस्थापन संकायका विद्यार्थी, अध्यापक तथा विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ ।

प्रतिक्रिया