काठमाडौं । कोरियन भाषाको रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा शनिबारदेखि सुरु भएको छ । शनिबार र आइतबार दुई चरणमा पोखरा र काठमाडौंको ३२ ओटा परीक्षाकेन्द्रमा हुने परीक्षामा ९२ हजार ३ सय ७६ परीक्षार्थी सहभागी हुने वैदेशिक रोजगार विभाग अन्र्तगत इपिएस कोरिया शाखाले जनाएको छ । परीक्षामा ७७ हजार ३ सय ९३ पुरुष र १४ हजार ९ सय ८३ जना महिला परीक्षार्थी सहभागी हुनेछन् ।
यो वर्ष उत्पादनमूलक क्षेत्रका लागि ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८ सय ८९ जना परीक्षार्थीले परीक्षा दिनेछन् । कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रतर्फ ७ हजार ५० र कृषि तथा पशुलापन क्षेत्रतर्फ ३ हजार गरी १० हजार ५० जनाको लागि कोटा खुलाएको छ । तुलनात्मक रूपमा रोजगारीको लागि कोरियाली सरकारले मागेको कोटाभन्दा परीक्षामा सहभागी हुने परीक्षार्थीको संख्या झन्डै ९ गुणा बढी रहेको छ । गत वर्षको तुलनामा यो वर्ष परीक्षामा सहभागी परीक्षार्थीको संख्या दश हजारले बढेको शाखाले जनाएको छ ।
नेपाली युवाहरूले सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार दुई सय ६४ ले आवेदन फारम भरेका थिए । त्यस्तै, सन् २०१७ मा ६८ हजार तीन सय ८३ र सन् २०१६ मा ६० हजार ६ सय २६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए ।
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको शाखाले जनाएको छ । सन् २०१८ मा भाषा परीक्षामा सात हजार नौ सय ९६ जना छनौट भएका थिए । हालसम्म कोरियामा ५८ हजार सात सय नौ जना नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ ।
सन् २०१९ अर्थात यसपालिको ईपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको सय अंक र कृषि तथा पशुपालन क्षेत्रको ९० अंक हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कुल ४० वटा प्रश्न हुनेछन् । दुबैमा २५÷२५ गरी ५० मिनेटको परीक्षा हुनेछ ।
भाषा परीक्षा उतीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउँनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालिम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने ईपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको सय अंक र कृषि तथा पशुपालन क्षेत्रको एक सय १० अंकको हुनेछ । भाषा परीक्षा आगामी जेठ २५ र २६ गते संचालन हुनेछ ।
पछिल्लो समय रोजगारीका लागि कोरिया नेपाली युवाको आकर्षक गन्तव्य बन्दै गएको छ । आकर्षक कमाइ हुनेगरेका कारण पनि कोरिया जाने युवाको संख्या बढ्दै गएको छ । परीक्षा दिन आउँदा प्रवेशपत्र र सक्कल राहदानी अनिवार्य रूपमा नल्याउन आग्रह गरिएको छ । यस्तै परीक्षार्थीले उत्तरपुस्तिकामा चिन्ह लगाउने प्रयोजनमा कालो बलपेन नै प्रयोग गर्नुपर्नेछ ।
यस्तै परीक्षामा आउँदा मोबाइलसहित कुनै स्मार्ट डिभाइसहरू नबोक्न पनि ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ । परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिने शाखाले जनाएको छ ।
प्रतिक्रिया