सल्यान । जिल्लामा व्यावसायिक रूपमा कृषि फर्म सञ्चालन गरेर एक जोडीले मासिक रूपमा एक लाखसम्म आम्दानी गर्ने गरेका छन् । व्यावसायिक रूपमा कुखुरा पालेर छत्रेश्वरी गाउँपालिका–६ छायाक्षेत्रका लोकराज भण्डारी र सुन्दरा भण्डारीको जोडीले मासिक एक लाखसम्म आम्दानी गर्ने गरेका हुन् । विगत चार वर्षदेखि छत्रेश्वरी गाउँपालिका–६ राना गाउँमा फर्म सञ्चालन गरेर उनीहरूले चार हजार बढी कुखुरापालन गर्दै आएका छन् । गाडीमा सहचालकदेखि वैदशिक रोजगार सम्मको अनुभव गरिसकेका भण्डारीले व्यवसायबाट राम्रो आम्दानी गरेको बताए ।
उनले भने, ‘मैले अहले चार हजार ब्रोइलर जातका र दुई सय बढी लोकल कुखुरा साकिने घाँटीखुइले, प्वाँख उल्टे, न्यु हेम्पासायर र गिरिराज जातका कुखुरा पालेको छु ।’ पहिले पैसा बढी कमाउने उद्देश्यले वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष वैदेशिक रोजगारीमा पुगेका उनले त्यही ठाउँमा विभिन्न कृषि फर्महरू अवलोकन गर्ने अवसर पाएको बताए ।
विदेशी भूमिमा श्रम गरिरहेकै समयमा स्वदेशमै फर्किएर केही गर्नुपर्छ भन्ने सोच पलाएपछि उनी नेपाल फर्किएको बताउँछन् । अहिले आम्दानी पनि राम्रै भइरहेको छ । विगत चार वर्षको अवधिमा उनले मासिक ८० हजारदेखि एक लाखसम्म आम्दानी गर्ने गरको बताउँछन् ।
लोकराजलाइ उनकी पत्नी सुन्दरा भण्डारीले पनि राम्रो साथ दिएकी छन् । स्नातक सम्मको अध्ययन र कृषि जेटिए पढेकी सुन्दराले जागिरका लागि आपूmहरू निकै भौँतारिएको र जागिर नपाएपछि व्यवसायमा हात हालेको बताइन् । दुबैजनाको साथ र सल्लाहबाट सञ्चालन गरेको यस व्यवसायले जागिरभन्दा पनि कैयौँ गुणा राम्रो भएको उनको अनुभव छ । ‘पहिले जागिर नै खानुपर्छ भन्ने सोचका साथ पढाइ गरियो’, उनले भनिन्, ‘अहिले आएर जागिरको कुनै आवश्यकता महसुस नै हुँदैन्, आप्mनै पेसा व्यवसायबाट सन्तुष्ट छौँ ।’
भण्डारी दम्पतीको व्यवसाय जिल्लामै नमुनायोग्य भए पनि तमाम समस्याका कारण चाहेको जस्तो गर्न नसकेको उनीहरूको दुःखेसो छ । आफ्नै लगानीमा झन्डै डेढ किलोमिटर सडक खनेर फर्ममा लगेको तर अहिलेसम्म विद्युत् सेवा फर्मसम्म नपुग्दा फर्मलाई प्रविधि मैत्री बनाउन नसकेको भण्डारीले बताए ।
उनले वित्तीय संस्थाले पनि कृषि क्षेत्रमा काम गर्नेलाई सजिलै सहयोग नगरेको गुनासो गरेका छन् । ‘हामीले व्यावसायिक रूपमा अगाडि बढ्नका लागि वित्तीय सास्ती बेहोर्नुपरेको छ’, उनले भने, ‘जति हामीले सेवा सुविधा पाउनुपर्ने हो त्यो अझै पनि पाउन सकेका छैनौँ ।’
उनले बैंक र वित्तीय संस्थाहरूले परियोजना ठीक भएको बताए पनि जग्गाको भ्यालु ठीक नभएको भन्दै खाली हात फर्काइदिने गरेको बताए । व्यवसाय सञ्चालनका लागि ऋण आवश्यक पर्ने भएकाले कृषि व्यवसायीसँग घरघडेरी नभएकै कारण ऋण लिन असहज हुने गरेको उनको भनाइ रहेको छ ।
स्थानीयतह र विभिन्न वित्तीय संस्थाहरूले यस्ता नमुना किसानहरूलाई प्रोत्साहन गरेमा यस व्यावसायिक रूपमा कृषि क्षेत्रमा आउनेहरूलाई र काम गरिरहेकाहरूलाई पनि प्रोत्साहन मिल्ने कृषकहरूको भनाइ रहेको छ ।
प्रतिक्रिया