रौतहट । रौतहटमा अहिले सामानको मूल्यवृद्धि अस्वभाविक रूपमा बढेको छ । सरकारले आव ०७६÷७७ को बजेट विनियोजन गरेसँगै दैनिक उपभोग्य सामानको भाउमा अस्वभाविक वृद्धि भएको उपभोक्ताको गुनासो छ ।
नयाँ आव साउन महिनाबाट सुरु हुने भए पनि जेठबाटै मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ । व्यवसायीले संस्थागत यातायातको ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै केही सामानको मूल्यमा मनलाग्दी वृद्धि गरेका छन् भने केही सामानको कृतिम अभावसमेत गराएर कालोबजारी गरेका छन् ।
बजेटपछि विशेष गरी दाल, चामल, चिनी, तेल लगायतका दैनिक उपभोग्य वस्तुमा उत्तारचढाव देखिएको खुद्रा व्यापारी बताउँछन् । यता उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टीका घिमिरे भने दाल, चामल, चिनी, तेल मात्रै होइन तरकारी, फलफूलदेखि खाद्य वस्तुलगायतका मूल्य बढेको दाबी गर्छन् ।
उनले बजेटमा कर्मचारीको तलब र कर वृद्धि गरेसँगै बजारमा पर्याप्त स्टोर रहेका सामानमा पनि व्यापारीले विभिन्न बहानामा बढी मूल्य लिन थालिसकेको दाबी गरे । उन्ले भने, ‘व्यापारीले दाल, चिनी, तेल, चामल र मदिराजन्य वस्तुको मूल्य बजेट आउनुभन्दा पहिले नै बढाइसकेका थिए, बजेटपछि बढेको छैन भनेर पानी माथिको ओभानो बन्न खोजेका छन् तर सरकार किन मौन बसेको आरोप लगाए ।
दालमा प्रतिकेजीमै २० देखि ४० रुपैयाँ बढेको, तरकारीमा किलोमै १५ देखि ३० रुपैयाँ बढेको भन्दै उनले एक्कासि यति धेरै मूल्य बढ्दा सरकार चुप लागेर बसेको आरोप लगाए ।
बजारमा लुटतन्त्र मच्चिँदासमेत अनुगमन गरेर मूल्य बढ्नुको कारण खोजिनु पर्ने ठाउँमा सम्बन्धित निकाय मौन बसेकाले समस्या झनै बढ्ने दाबी गरे ।
बजार अनुगमनको जिम्मेवारी पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजेटपछि बजारमा मूल्य बढेको हल्ला आएसँगै अनुगमनलाई तीव्र बनाएर कालोबजारी गर्नेलाई कारबाही गर्नुपर्ने सरोकारबालाहरूको भनाइ छ ।
राैतहट
प्रतिक्रिया