देउवाको लाचारी

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानन्त्री शेरबहादुर देउवाले छिमेकी मुलुक भारतको विदेशमन्त्री नियुक्त भएकोमा एस जयशंकरलाई आफू र आफ्नो पार्टीकोतर्फबाट लिखितरूपमा बधाई तथा शुभकामना सन्देश पठाए । यो समाचारलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत सार्वजनिक गर्यो । आफ्ना समकक्षी वा आफूभन्दा माथिको प्रोटोकल प्राप्त गरेको व्यक्तिलाई औपचारिकरूपमा बधाई तथा शुभकामना दिने अन्तर्राष्ट्रिय प्रचलन छ । जयशंकर विदेशमन्त्री मात्रै हुन् । उनको सत्तारूढ पार्टी भाजपामा खासै हैसियत छैन । पूर्वकर्मचारीका तर्फबाट विज्ञका हैसियतले विदेशमन्त्री बनाइएका जयशंकरको मन्त्रिपरिषद्मा ११औँ प्रोटोकल छ । भाजपाका अध्यक्ष अमित शाह प्रधानमन्त्रीपछिको प्रोटोकलमा गृहमन्त्री बनेका छन् । शाह गृहमन्त्री बनेकोमा कांग्रेस सभापति देउवाले बधाई तथा शुभकामना सन्देश दिएको भए स्वाभाविक मानिन्थ्यो । शाहलाई भने पार्टीले चुनाव जितेकोमा बधाई तथा शुभकामना सन्देश पठाए तर गृहमन्त्री नियुक्त भएकोमा पठाएनन् ।

विश्वमा करिब दुई सय मुलुक छन् । कुन कुन मुलुकमा को को विदेशमन्त्रीमा नियुक्त भए भन्ने कुरा गणनामा आउ“दैन । पार्टी सभापतिद्वारा बधाई तथा शुभकामना दिएर साध्य हुने कुरा पनि होइन । यसका लागि हरेक पार्टीले परराष्ट्र विभाग गठन गरेका हुन्छन् । नेपालस“ग औपचारिक सम्बन्ध भएका मुलुकमा विदेश मन्त्रालयको जिम्मेवारी पाउनेहरूलाई पार्टीको परराष्ट्र विभागका तर्फबाट बधाई तथा शुभकामना पठाउने प्रचलन नेपाली कांग्रेसमा पहिलेदेखि नै थियो । तर, देउवा सभापति बनेपछि पार्टीका कुनै पनि विभाग गठन गरेका छैनन् । उनी पार्टी सभापति बने यता धेरै देशमा सरकार परिवर्तन भएका छन् । विदेशमन्त्री पनि परिवर्तन भएका छन् । तर, देउवाले अरुदेशका नवनियुक्त विदेशमन्त्रीलाई वधाई तथा शुभकामना सन्देश पठाएनन् । भारतका नवनियुक्त विदेशमन्त्री जयशंकरलाई मात्रै पठाए । त्यसैले, यो मामिला मुलुकको राजनीतिमा निकै पेचिलो बनेको छ । जयशंकरको नेपालप्रतिको व्याक्तिगत चरित्रका कारण पनि यो मामिला पेचिलो बनेको हो । संविधान जारी भएलगत्तै नेपालमा भारतको तर्फबाट गरिएको नाकाबन्दीसँग प्रत्यक्ष जोडिएका पात्र हुन् जयशंकर । संविधान जारी हुनुभन्दा दुई दिनअघि तत्कालीन विदेश सचिव जयशंकर भारतीय प्रधानमन्त्री मोदीको विशेषदूतका रूपमा नेपाल आएका थिए । नेपालमा आएर उनले संविधान जारी गर्ने काम १५ दिन ढिलो सार्न निर्देशनात्मक आग्रह मात्रै गरेनन्, निर्धारित मितिमा संविधान जारी गरे नेपालले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए । प्रमुख दलहरूले उनको आग्रह तथा चेतावनीलाई वास्ता गरेनन् । जसको परिणामस्वरूप संविधान जारी भएको भोलिपल्टदेखि करिब चार महिना भारतले नेपालमाथि नाकाबन्दी लगायो । नेपालले चीनका नाकामार्फत विकल्प खोज्ने प्रक्रिया अघि बढाएपछि मात्रै भारतले नाकाबन्दी खोल्यो । नाकाबन्दी खुलेपछि भारतीय मिडियाहरूले विदेश सचिव जयशंकरको भनाइ उद्धृत गर्दै समाचार लेखेका थिए– ‘विशेष परिस्थितिका कारण तत्कालका लागि नाकाबन्दी खुले पनि नेपालसँगको हिसाब किताब बाँकी नै छ ।’

नेपालसँगको हिसाब–किताब बाँकी नै भएको सार्वजनिक अभिव्यक्ति दिने पात्र भारतको विदेशमन्त्रीमा नियुक्त हुनु र उनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले आफ्नो प्रोटोकलभन्दा निकै तल ओर्लेर औपचारिक रूपमै बधाई तथा शुभकामना सन्देश दिनुले सामान्य अर्थ राख्दैन । नेपालको राजनीतिमा भारतीय चलखेल अझै बढ्ने संकेत यो प्रकरणले देखाउँछ । आफ्नो इगोका लागि पनि जयशंकरले मधेसी दललाई आन्दोलनको लागि उक्साउने र संविधान संसोधनका लागि प्रमुख दल तथा नेताहरूलाई दबाब दिन सक्ने सम्भावना देखिन्छ । नेपाली कांग्रेस त्यो दबाबका पक्षमा उभिने संकेतसमेत देखिन्छ । तर, पछिल्ला दिनमा भारतीय दबाब मात्रै नेपालको राजनीतिमा निर्णायक हुन छाडेको छ । नेपालका लागि भारतले प्रयोग गर्न सक्ने सबैभन्दा ठूलो अस्त्र भनेको नाकाबन्दी हो तर त्यो अस्त्रसमेत असफल भएको मात्रै होइन भारतका लागि प्रत्युत्पादक भइसकेको छ । यो यर्थाथतालाई आत्मसात गर्न नसक्नु नेपाली कांग्रेसको ठूलो कमजोरी हो । विगतमा पनि नेपाली कांग्रेसले भारतले लगाएको नाकाबन्दीलाई सिधै नाकाबन्दी भन्न सकेन । जसका कारण जनताले नेपाली कांग्रेसको साखमाथि प्रश्न उठाए । जनताले उठाएको यो प्रश्नकै कारण आफ्नो पार्टीले चुनावमा पराजय बेहोर्नुपरेको निष्कर्ष नेपाली कांग्रेसले निकालिसकेको छ ।

प्रतिक्रिया