पत्नी बेच्नेलाई ३८ वर्ष कैद

दैलेख । दैलेखमा एक व्यक्तिलाई ३८ वर्ष कैदको फैसला गरिएको छ । आफ्नै पत्नी र छोरालाई बेचेको आरोपमा दैलेख जिल्ला अदालतले आइतबार ३ लाख ३० हजार जरिवाना र साढे ३८ वर्ष कैदको फैसला गरेको छ । दैलेख जिल्लाको भैरवी गाउँपालिका–४ भैरीका २१ वर्षीया टेकराज पुरीलाई उक्त कैद फैसला गरिएको हो ।

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट भएको उक्त फैसला मानव बेचबिखनमा २० वर्ष, ओसारपसारमा १५ वर्ष र कुल सजायको थप १० प्रतिशतले हुन आउने साढे तीन वर्षसमेत गरी ३८ वर्ष ६ महिना कैद भएको प्रवक्ता विनोद आचार्यले जानकारी दिए । आरोपित पक्षले पीडितलाई १ लाख ६५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसलामा उल्लेख गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा १५ अनुसार कैद तथा जरिवाना र दफा १७ अनुसार क्षतिपूर्ति फैसला भएको हो ।

प्रेमविवाह गरी भारतको बैंग्लोरमा पु¥याएर ०७४ माघमा २ लाख २० हजार भारुमा बेचेको भन्दै ०७५ वैशाख २४ मा जिल्ला प्रहरी कार्यालयमा दिएको मानव बेचबिखनसम्बन्धी मुद्दा जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । शक्ति नेपालकै पहलमा परेको जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयले ३ भदौमा दैलेख जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर भएको थियो ।

घटनाको प्राप्त सूचनाका आधारमा शक्ति नेपाल र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको पहलमा बैंगलोरबाट उद्धार गरी नेपालगञ्ज हुँदै काठमाडौं पु¥याएर पीडित आमाछोरालाई आश्रय दिनुसँगै कानुनी उपचार प्रक्रिया अगाडि बढाएको थियो ।

प्रतिक्रिया