काठमाडौं महानगरपालिकाले सडक सफा गर्ने ब्रुमर (यन्त्रिक कुचो) हरू आयात गरेको करिब तीन महिना पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अब धुलो छैन, सडकमा हिँड्दा माक्स लगाउनुपर्ने बाध्यताको अन्त्य भयो’ भनेर घोषणा गरेको केही महिनापछि काठमाडौं महानगरपालिकाले इटालीबाट करिब १० करोड रूपैयाँ खर्चेर आधा दर्जन ब्रुमर ल्याएको थियो । कोठाभित्रको धुलो तान्न भ्याकुम क्लिनर प्रयोगमा आइजस्तै सडकको धुलो तान्न ब्रमरको प्रयोग गरिन्छ । विकसित मुलुकहरूले दशकौं अघिदेखि सडक सफाइमा ब्रमुरको प्रयोग गर्दै आएका थिए । मुलुकको राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा ब्रुमरको प्रयोग हुन लागेको समाचारपछि सर्वसाधरण उत्साहित भएका पनि थिए । ‘काठमाडौं महानगरपालिकाले अब केही गर्दै छ है’ भन्ने आशा जनताका जागेको थियो । ब्रुमरद्वारा कुन कुन समयमा कुन कुन रूटका सडक सफा गरिनेछन् ? भन्ने तालिकासमेत काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको थियो । तर, तीन महिनाको यो अवधिमा काठमाडौंका मुख्य सडकको अवस्थासमेत बीसको उन्नाइस हुन सकेको छैन । अवस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । प्रधानमन्त्री ओलीले घोषणा गरे जस्तो माक्स लगाउनुपर्ने अवस्थाको अन्त्य भएको छैन , झन बढेको छ । फितला घोषणा गर्न लगाएर प्रधानमन्त्रीलाई पंगु बनाउनु ठूलो बेइमानी हो । अर्कातिर ब्रुमरको नाममा बजेट स्वाहा मात्रै पारिएको हो या ? धुलोको स्रोत झन् बढेका कारण ब्रुमरले काम नगरेको हो ? भन्ने प्रश्न पनि खडा भएको छ ।
नेपालको राजधानीसमेत भएकोले काठमाडौंमा विदेशीहरूको पनि चासो रहन्छ । धेरै मुलुकका कुटनीतिक नियोगका कार्यालयहरू काठमाडौंमा छन् । आइएनजिओका कार्यालयहरू पनि काठमाडौंमै छन् । मुलुकको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमै भएका कारण नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूले पहिलो र अन्तिम पाइलो राख्ने ठाउँ पनि काठमाडौं नै हो । काठमाडौं उपत्यका स्वयं पर्यटकीय केन्द्र हो । जहाँ विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय सम्पदाहरूको संख्या आधा दर्जन भन्दा बढी छ । तर, काठमाडौंको सरसफाइको अवस्था हेर्ने हो भने निकै कहालीलाग्दो छ । फोहर र दुर्गन्धले सीमा नाघिसकेको छ । विश्वका अत्यधिक प्रदूषित सहरहरूको सूचीकमा काठमाडौंको नाम समावेश हुने गरेको छ । एकातिर सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने निर्णय गर्नु, अर्कातिर राजधानीको सफाइमा ध्यान नदिनु विरोधाभाषपूर्ण छ । काठमाडौं उपत्याकाको आकार नै कचौराजस्तो रहेका कारण यहा“को प्रदूषित वायु सहजरूपमा बाहिर जान नसक्ने भएकोले दिनहु“ प्रदूषण बढ्दै गएको विज्ञहरूले औंल्याउँदै आएका छन् । यो समस्या समाधानका लागि पेट्रोल तथा डिजेल गाडीहरू विस्थापित गरी विद्युतीय गाडीहरू प्रयोगमा ल्याउनुको विकल्प नरहेको सुझाब विज्ञहरूले दिएको दशकौ“ बितिसकेको छ । तर, सरकारले कानमा तेल हालेर बसेको छ ।
निकै ठूलो बजेट खर्च हुने भएकोले र अथतन्त्रका अरू पाटा पनि जोडिएका कारण तत्काल पेट्रोलियम सवारी साधन विस्थापित गर्न सरकारले नसकेको कुरा पत्याउन सकिन्छ । तर, गरेर हुने मामिलामा पनि सरकार उदासिन छ । नगर्दा हुने काम सरकारले गरिरहेको छ । सडक तथा पेटीको मर्मत सम्भार नियमित गर्ने र पिच तथा ढलान नभएको ठाउ“मा फूल, बिरुवा तथा दुबो रोप्ने हो भने धुलोको स्रोत हट्छ । यति काम गर्न काठमाडौं महानगरपालिकाको बजेटले धान्ने अवस्था छ । तर, त्यति पनि गरिएको छैन । यसैगरी, काठमाडौंका बीच भागमा सुन्दर फूलबारीका रूपमा रत्नपार्क रहेको छ । तर, रत्नपार्क भन्दा दक्षिणतर्फ रहेको खुलामञ्च र उत्तरतर्फ रहेको रानीपोखरी यतिवेला काठमाडौंको मुख्य सडकको धुलोका मुख्य स्रोत बनेका छन् । संघीय सरकार तथा काठमाडौं महानगरपालिकाको चरम लापरबाहीकै कारण रानीपोखरी र खुलामञ्च धुलोका स्रोत बनेका हुन् भन्ने कुरामा दुईमत छैन । त्यसैगरी टुंडीखेलको दक्षिण तर्फ पनि धुलोको पहाड ठड्याईको छ । सरकारकै संलग्नतामा धुलोको यो पहाड ठडिएको हो भन्ने कुरामा पनि दुईमत छैन । पुरानो बसपार्कमा पनि लामो समयदेखि धुलो उत्पादन कारखाना सञ्चालित छ । कति समयभित्र पुरानो बसपार्कमा भ्यु टावर निर्माण गरिसक्ने ? रानीपोखरी तथा धरहराको पुननिर्माण कहिलेसम्म गरिसक्ने ? भन्ने प्रश्नको उत्तर सरकारस“ग छैन । यस्तो अवस्थामा ब्रुमरको हौवा देखाउनु र प्रधानमन्त्रीको मुखबाट झुठो बोल्न नगाउनु भनेको जनताविरुद्धको अपराध हो ।
प्रतिक्रिया