कहिलेसम्म मेलम्चीको प्रतिक्षा ?

बहुप्रतिक्षित मेलम्ची खानोपानी आयोजनाको निर्माण ‘द्रुतमार्ग’मार्फत सुचारु गराउने निर्णय सरकारले गरेको छ । सुरुङ तथा बाँध निर्माणको ठेक्का पाएको इटालियन कम्पनीले गत मंसिरमा काम छाडेपछि मेलम्ची खानेपानी आयोजनाको काम ठप्प छ । सुरुङ निर्माणको काम करिब ३ प्रतिशत बाँकी थियो । ४ महिनाभित्र यो काम सम्पन्न गर्ने र अस्थायी बाँध निर्माण गरी २०७६ वैशाख भित्रमा मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने समय तालिका सार्वजनिक गरिएको थियो । समय तालिका सार्वजनिक भएको एक महिना नबित्दै ठेकेदार कम्पनी काम छाडेर भाग्यो । ठेकेदार कम्पनी भाग्ना साथ सरकारले विकल्प खोजेर काम अगाडि बढाएको भए यतिबेलासम्म मेलम्चीको पानी काठमाडौंवासीका घरघरमा वितरण भइसक्ने थियो । तर सरकार लामो समयसम्म ठेकेदारसँगको वार्तामै अल्झियो । ६ महिनाको समय खेर गयो । यो ६ महिनाको समय खेर जा“दा बा“धस्थलका निर्माणधीन संरचनामा आगामी वर्षाको बाढीले नोक्सान पु¥याउने सम्भावना छ । बा“धस्थलका निर्माणधीन संरचनामा बाढी पसेपछि करिब १ अर्ब रुपैया“ बराबरको नोक्सानी हुने प्राविधिकहरूले जनाएका छन् ।

नयाँ ठेकेदारमार्फत काम अघि बढाइएपछि कहिले सम्ममा मेलम्चीको पानी काठमाडौं आइपुग्ला त ? भन्ने जिज्ञासा राजधानीबासीलाई हुनु स्वभाविकै हो । सरकारले गत शुक्रबार एक साताभित्र नयाँ टेन्डर प्रक्रियामा जाने भनेको छ । टेन्डर प्रक्रियाद्वारा ठेकेदार छानिन द्रुतमार्गबाट जाँदा पनि दुई महिना लाग्छ । त्यसपछि निर्माण कार्य आरम्भ गरी काम सम्पन्न हुन ६ महिना लाग्ने दाबी सरकारी पक्षको छ । अस्थायी बाँध निर्माण गरी पानी ल्याउनका लागि ६ महिना लाग्ने जनाइएको हो । स्थायी बाँध निर्माण सम्पन्न हुन थप एक वर्ष पर्खनुपर्ने हुन्छ । पुरानो ठेकेदारले ४ महिनाभित्र काम सक्ने तालिका प्रस्तुत गरेको सन्दर्भमा नयाँ ठेकेदारले ६ महिनाभित्र काम सक्छ कि भन्ने अनुमान गरिएको हो । तर, वास्तविकता सरकारले दाबी गरेजस्तो सहज छैन । मुहानमा रड उठाएर आधा ढलान भएका संरचनाहरू छन् । ती संरचनाहरूलाई नै पूर्णता दिने गरी काम अघि बढाउन सके मात्रै नया“ ठेकदारहरूले ६ महिनाभित्र अस्थायी बाँध निर्माणको काम सक्ने हुन् । तर, आगामी असारदेखि बाढी आउनासाथ ती संरचना ध्वस्त हुन्छन् । वर्खाभरी काम गर्न सकिन्न । असोजपछि शून्य तहबाट काम सुरु गर्नुपर्ने हुन्छ । त्यसैले अबको ६–८ महिना भित्र मेलम्चीको पानी राजधानी काठमाडौं ल्याइपुर्याउने सरकारको भनाइमा विश्वास गर्न सकिने आधार छैन ।

एउटा ठेकदारले छाडेपछि अर्को ठेकेदार नियुक्त गर्नु परेका कारण मेलम्ची खानेपानी आयोजनाको लागत फेरि पनि २ अर्ब रुपैयाँ बढ्ने देखिएको छ । तर लागतभन्दा पनि महत्वपूर्ण कुरा समय हो । मेलम्चीको पानी काठमाडौंमा वितरण हुनासाथ मासिक करिब ५० करोड महसुल संकलन हुन थाल्छ । दैनिक १७ करोड लिटर पानी राजधानी भित्रिने मेलम्ची आयोजनाको काम सम्पन्न हुँदासम्म ३० अर्ब रुपैया“ खर्च भइसक्ने अनुमान गरिएको छ । यो आयोजना सम्पन्न हुनासाथ याङ्ग्री र लार्के खोलाबाट दैनिक ३४ करोड लिटर पानी मेलम्चीमा मिसाउने आयोजना सरकारले अघि सार्दै छ । यो आयोजनाको लागत २५ अर्ब रुपैया“ अनुमान गरिएको छ । यति सम्पन्न भइसकेपछि आगामी २०–३० वर्षसम्मका लागि राजधानी काठमाडौं उपत्याकाको खानेपानी समस्या समाधान हुनेछ । त्यतिन्जेलसम्म मेलम्ची, याङ्ग्री र लार्केको पानीमा गरिएको लगानी फिर्ता भएर पनि थप मुनाफा आर्जन भइसक्छ । त्यस पछि १८ किलोमिटर सुरुङ बनाएर स्याफ्रुबेसीबाट भोटेकोसी नदीको पानी मेलम्चीको मुहानमा मिसाउन सकिने अवस्था छ । यसरी हेर्दा निकै दूरदर्शी सोचका साथ सरकारले मेलम्ची खानेपानी आयोजना अघि बढाएको देखिन्छ । आजभन्दा २५ वर्षअघि जुनबेला काठमाडौंको जनसंख्या अहिलेको भन्दा दुईतिहाइ कम थियो, तर पनि सरकारले सयौं वर्ष पछिको सोचका साथ आयोजना छनोट गर्यो । ५ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ २० वर्ष अघि सुरु गरिएको निर्माणको काम अझै नसकिनु भनेको धेरै नै ठूलो विडम्बना हो ।

प्रतिक्रिया