कालो बादलमा चाँदीको घेरा

रामेछाप जिल्लाका एक निर्माण व्यवसायीले सम्झौतामा उल्लेख गरिएभन्दा कम लागतमा काम सम्पन्न भएको भन्दै राज्यलाई रकम फिर्ता गरेका छन् । सुनकोसी–खानीर थोदुङ जेभी कम्पनीका सञ्चालक रामबाबु घिमिरेले वास्तविक लागतभन्दा बढी रकम राज्यलाई फिर्ता गरिदिएका हुन् । घिमिरेको निर्माण कम्पनीले जिल्लाका तीन सरकारी भवन निर्माणका लागि १३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँ ठेक्का सम्झौता गरेका थिए । तर, उनले १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तीस रुपैयाँमै काम सम्पन्न गरे । ३९ लाख ८५ हजार ८ सय १३ रुपैयाँ बचत भयो । यो बचत रकम उनले राज्यलाई नै फिर्ता गरिदिएका हुन् । बचत भएको रकम ठेकेदारले राज्यलाई फिर्ता गर्ने कुराको कल्पना पनि गरिँदैन । भेरिएसनका नाममा सम्झौता गरिएको भन्दा ५० प्रतिशत लागत बढाउने काम अधिकांश ठेकेदारहरूले गर्दै आएका छन् । तर, ठेकेदार घिमिरेले अकल्पनीय काम गरे । ठेक्का ओगट्ने समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीका कारण मुलुकको विकास निर्माण आक्रान्त बनिरहेको वेला उनले निर्धारित समय भन्दा ६ महिना अघि नै काम सम्पन्न गरेका छन् । यसैगरी, स्थानीयतहका जनप्रतिनिधिले पनि ठेकेदार घिमिरेले जस्तै अकल्पनीय काम गरेको समाचार मिडियामा आएको छ । ती जनप्रतिनिधि हुन्– सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा ।’ प्राप्त समाचारअनुसार हेलम्बु गाउँपालिकाले आर्थिक वर्ष ०७५–७६ का लागि प्रस्तुत गरिएको विकास बजेट गत चैत मै खर्च गरिसकेका छन् । आर्थिक वर्ष सकिनुभन्दा तीन महिनाअघि नै विकास बजेट खर्च भइसक्नु भनेको सानो उपलब्धि होइन । जबकी यो अवधिमा संघीय सरकारले २० प्रतिशत र प्रदेश सरकारहरूले औसतमा १० प्रतिशत मात्रै विकास बजेट खर्च गरेका छन् । संघीय सरकारले त ६० प्रतिशतभन्दा बढी विकास बजेट कुनै पनि वर्ष खर्च गर्न सकेको छैन । हेलम्बु गाउँपालिकाले विकास बजेट खर्च गरेको मात्रै होइन कि विकास आयोजनाहरू प्रारम्भिक अनुमानभन्दा कम लागत तथा समयमै सम्पन्न गरेको छ ।

पाँच वर्षभित्र काम सम्पन्न गर्ने गरी सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाको काम १९ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माण आरम्भका वेला गरिएको लागत अनुमानभन्दा दोब्बर रकम खर्च भइसकेको छ । मुलुकका अधिकांश विकास आयोजना मलम्चीको पथमा छन् । यस्तो हुनुमा ठेकेदारहरूकै प्रमुख हात छ । यदि, रामेछापका घिमिरे जस्तै ठेकेदारहरू मुलुकमा हुने हो भने कति उपलब्धि हुँदो हो ? त्यसैगरी स्थानीय तहअन्तर्गतका अधिकांश पालिकाका अध्यक्ष तथा प्रमुखहरूले विकास बजेट दुरुपयोग गरेको समाचार आएका छन् । विकास बजेटबाट वडाध्यक्ष सम्मले मोटरसाइकल खरिद गर्ने र मोटो रकम तलब निर्धारण गरेर आफ्नै श्रीमती–श्रीमान तथा छोरा–छोरीलाई ड्राइभर नियुक्त गरेका समाचारसमेत आएका छन् । विकास निर्माणको काम ठप्प छ । तर, हेलम्बु गाउँपालिकाका शेर्पाले उदाहरणीय काम गरेका छन् । उनीहरू कालो बादलमा चाँदीको घेरा जस्तै हुन् । यस्ता उदाहरणीय काम गर्ने निर्माण व्यवसायी तथा ठेकेदारलाई राज्यले पुरस्कृत गर्नुपर्छ । ताकी उनीहरूबाट अरूले प्रेरणा लिउन् ।

संघीय सरकारले यही जेठ १५ गते बजेट प्रस्तुत गर्दैछ । जुन प्रदेश तथा जुन पालिकाले विकास बजेट सदुपयोग गरेका छन् तिनीहरूलाई प्रोत्साहन गर्ने र जुन प्रदेश तथा पालिकाले बजेट सदुपयोग गर्न सकेका छैनन् तिनीहरूलाई दुरुत्साहित गर्ने गरी संघीय सरकारले बजेट ल्याउनुपर्छ । यसैगरी, निर्धारित समय तथा निर्धारित लागतमै काम सम्पन्न गर्ने ठेकेदारहरूलाई हरियो कार्ड दिने र काम ओगटेर राख्ने ठेकेदारलाई रातो कार्ड दिने व्यवस्था गर्नुपर्छ । नया“ ठेक्काका दिँदा हरियो कार्डवाहकलाई प्राथमिकता दिने परिपाटी सुरु गर्नुपर्छ ।

प्रतिक्रिया