छिमेकी मुलुक भारतमा १७औ“ लोकसभाको निर्वाचन सम्पन्न भएको छ । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले फेरी पनि बहुमत हासिल गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने सुनिश्चित भएको छ । भाजपाले पाँच वर्षअघिको भन्दा पनि राम्रो नतिजा हात पारेको छ । प्रमुख प्रतपक्षी कांग्रेस आईले विगतमा भन्दा थोरै सुधार गरेको छ । गत चैतदेखि सात चरणमा आरम्भ गरिएको मतदान गत मंगलबार सम्पन्न भएको थियो । बिहीबार बिहान ८ बजेदेखि मतगणना सुरु भएको थियो । मतगणनाको प्रारम्भमा नै भाजपा तथा भाजपाको गठबन्धनमा सामेल पार्टीका उम्मेद्वारहरूले अग्रता हासिल गरेपछि प्रधानमन्त्री मोदीलाई दोस्रो कार्यकालका लागि देशविदेशबाट बधाई तथा शुभकामनाको ओहिरो लाग्न सुरु गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट मोदीले पहिलो बधाई तथा शुभकामना प्राप्त गरेका थिए । ५ सय ४३ सदस्यीय लोकसभामा प्रधानमन्त्री मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले करिब ३ सय ५० सिट हासिल गरेको छ । सरकार गठनका लागि २ सय ७२ सिट भए पुग्छ ।
चुनाव सुरु हुनुभन्दा अघि सत्तारूढ भाजपा नै सबैभन्दा ठूलो पार्टी बन्ने तर विगतमा जस्तो एक्लै बहुमत पुग्ने गरी भाजपाले सिट नजत्ने आ“कलन गरिएको थियो । जब पहिलो चरणको मतदान सुरु भयो तब भाजपाको हैसियत कायमै रहने आँकलनहरू गरिए । मतदान सुरु भइसकेपछि सम्पन्न नभएसम्मका लागि सर्वेक्षण प्रतिवेदन (एक्जिट पोल रिर्पोट) सार्वजनिक गर्न प्रतिबन्ध लगाइएको थियो । अन्तिम चरणको निर्वाचन सम्पन्न हुनासाथ सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिए । लगभग सबै सर्वेक्षण प्रतिवेदनमा पा“च वर्षअघि अर्थात् सन् २०१४ को जस्तै नतिजा आउने अनुमान गरिएको थियो । त्यो अनुमान मिलेको छ । नेपालजस्तै गणतन्त्रात्मक मुलुक भारतीय लोकतन्त्रका आफ्नै विशेषता छन् । पहिलो कुरा त भारतको लोकतान्त्रिक अभ्यास विश्वकै सबैभन्दा ठूलो हो । करिब एक अर्ब जनसंख्या लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन्छन् । स्वतन्त्र भए यता भारतमा १७ पटक लोकसभाको निर्वाचन सम्पन्न भइसकेको छ । यति लामो अभ्यासका क्रममा एकपटक पनि लोकतन्त्र ‘डिरेल’ भएको नजीर छैन । विगतका १६ वटा चुनावी अभ्यास हेर्दा कांग्रेस आईबाहेक अरू पार्टीले दोहोर्याएर चुनाव जितेको उदाहरण थिएन । तर, यसपटक भने भाजपाले दोहोर्याएर चुनाव जितेको छ । भारतीय राजनीतिमा कांग्रेस आईले जुन वर्चश्व र पहिचान स्थापित गरेको थियो त्यसलाई भाजपाले चुनौती दिएको छ ।
भारतीय चुनावको परिणाम विश्वकै लागि चासोको विषय भन्ने गरेको छ । यसका केही कारणहरू छन् । पहिलो कुरा विश्वका ठूला अर्थतन्त्र भएका पा“च वटा मुलुकको सूचीमा रहेको भारत केही वर्ष भित्रै तेस्रो ठूलो अर्थतन्त्र बन्ने दौडमा छ । दोस्रो कुरा विश्वको प्रायः लोकतान्त्रिक तथा नव औद्योगिक मुलुकहरूमा भारतीय मुलका मानिसहरूको उल्लेख्य बसोवास छ । भारतले लिने आर्थिक तथा विदेश मामिलासम्बन्धी निर्णयले विश्वका धेरै देश प्रभावित हुन्छन् । भारतीय सत्तारूढ भाजपाको मुख्य जग भनेकै हिन्दू राष्ट्रवाद हो । पाँच वर्षअघि हिन्दू राष्ट्रवादको जगमा भाजपाले चुनाव जितेपछि त्यसको प्रभाव विश्वका धेरै मुलुकमा परेको थियो । अर्थात् राष्ट्रवादको एजेन्डा बोक्ने पार्टीहरूले चुनाव जित्ने लहर सुरु भएको थियो । त्यो लहर अहिले पनि कायमै रहेको संकेत हालै सम्पन्न भारतीय लोकसभाको चुनावले दिएको छ । यसैगरी भारतीय लोकसभा निर्वाचनको यो परिणामले नेपालमा के कस्तो असर गर्ला ? भन्ने विषयमा नेपालीहरूको सर्वाधिक चासो देखिएको छ । तीनतिर खुला सिमाना भएको मात्रै होइन भाषा, धर्म संस्कृति, जातजातिका आधारमा पनि नेपाल र भारतबीच समानता छ । नेपालको हरेक क्षेत्रमा भारतीय प्रभाव देखिँदै आएको छ । राजनीतिक प्रभाव पनि निकै पेचिलो छ । विगतमा १८ वर्षसम्म भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण भएको थिएन । तर, मोदी प्रधानमन्त्री बन्नासाथ पाँच वर्षको अवधिमा तीनपटक नेपालको भ्रमण गरे । परराष्ट्र मामिलामा पहिलो प्राथमिकता नेपाललाई दिने उद्घोष मोदीले गरे । संविधान निर्माणका क्रममा लगाइएको नाकाबन्दीलाई अपवाद मान्ने हो भने अहिलेसम्म भारतमा जो जो प्रधानमन्त्री भए तीमध्ये नेपाली जनताका लागि सबैभन्दा प्रिय मोदी नै भए । अधिकांश नेपाली जनताले मोदीलाई मित्र ठान्छन् । तर, हिन्दू राष्ट्रवादको आदर्श बोकेका मोदीको पुनरागमनले आफूहरूलाई केही लाभ पुग्ने आँकलन नेपालका प्रतिगामी शक्तिहरूको छ । हिन्दूत्वको नाममा राजतन्त्र पुनर्बहाली गर्ने प्रयत्नमा मोदी सहयोगी हुन सक्ने आँकलन नेपालका राजावादीहरूको छ । तर, भारतमा कांग्रेस आईले करिब एक शताब्दीदेखि कायम राख्दै आएको वंशवादको राजनीतिलाई चुनौती दिएका मोदीले छिमेकी नेपालमा वंशवादलाई फेरी पुनरोत्थान गरिदेलान् भन्ने अनुमान गर्नु अलि हतार हुनेछ ।
प्रतिक्रिया