स्मार्ट लाइसेन्सको रमिता

२४ घण्टाभित्रै स्मार्ट ड्राइभिङ लाइसेन्स दिने घोषणा गरेको यातायात व्यवस्था विभागले ६ महिनासम्म पनि दिन सकेको छैन । लाइसेन्स परीक्षा उत्तीर्ण भएका ६ लाख जनाले अहिलेसम्म स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । उनीहरू महिनादिनदेखि ८ महिनासम्म कुर्ने पनि गरेका छन् । विभागले सुरुमा २४ घण्टाभित्रै लाइसेन्स दिने व्यवस्था भएको भन्दै प्रचार पनि गर्यो । तर, अहिले लाइसेन्स परीक्षा पास गरेपछि स्मार्ट लाइसेन्स लिन कम्तीमा पनि तीन चार महिना कुर्नुपर्ने अवस्था रहेको छ । लाइसेन्स आएको छ कि छैन भनेर यतिवेला विभागमा दैनिकजसो धाउनेको सख्या पनि उत्तिकै रहेको छ । कतिपयको त एक वर्ष बितिसक्दा पनि आएको छैन । आए पनि विभिन्न त्रुटीहरू हुने गरेको छ । अहिले दैनिक ६ हजार कार्डको माग भए पनि विभागले दैनिक तीन हजार कार्ड मात्र छाप्न सकिरहेको छ । जसले गर्दा पाइपलाइनमा थुप्रै सेवाग्राही बस्नु परेको छ ।

अहिलेको स्टक पनि गरेर अझै करिब ६ लाख जति कार्ड छाप्न बाँकी भएको विभाग स्वीकारेको छ । स्मार्ट कार्ड छपाइको लागि भारतीय कम्पनी ‘मद्रास सेक्युरिटी कम्पनी’सँग थप १० लाख कार्ड मगाउने विभागको तयारी छ । तर विभागले पहिलेको रकम भुक्तानी गर्न नसकेकाले मद्रास कम्पनीले कार्ड छाप्न मानिरहेको छैन । विभागले मद्रास कम्पनीसँग पटक पटक गरेर ९ वटा मेसिन र १२ लाख थान स्मार्ट लाइसेन्स खरिद गरेको थियो । जुन लाइसेन्समा निक्कै समस्या छ । विभागले सो कम्पनीलाई २१ करोड दिनुपर्नेमा अझै १४ करोड बक्यौता तिर्न बाँकी रहेको छ । १४ करोड रकम भुक्तानी नगरेसम्म कार्ड नछाप्ने अडानमा मद्रास कम्पनी रहेको छ भने बिग्रेका स्मार्ट कार्ड र दुईओटा मेसिन कम्पनी आफैले मर्मत नगरेसम्म भुक्तानी नगर्ने अडानमा विभाग रहेको छ । दुई पक्ष विवादमा मुछिएपछि सेवाग्राहीहरू पिल्सिएका छन् । लाइसेन्स परीक्षा उतीर्ण गरेको चार महिना बितिसक्दा पनि हातमा कागजको टुक्रा बोकेरै काम चलाइरहेका छन् । अहिले विभागसँग स्टकमा एक लाख जति कार्डहरू मात्र रहेको छ । अहिले लाइसेन्स परीक्षामा पास भएका सबैको हातमा लाइसेन्स आउन दैनिक ८ हजार कार्ड छपाउनुपर्ने हुन्छ । तर, यातायात विभागसँग भएका सातवटा मेसिनहरूले अहिले दैनिक तीन हजार मात्र कार्डहरू छापिरहेको छ । विभागको तथ्यांकअनुसार देशभरी ८ लाख स्मार्ट कार्ड वितरण भइसक्दा पनि नेपाल ट्राफिक प्रहरीस“ग जम्मा दुईवटा मात्र लाइसेन्स रिडर मेसिन छन् । मेसिनको अभावका कारण बजारमा नक्कली स्मार्ट कार्डहरू चल्न थालेको स्वयम प्रहरीले बताउ“दै आएको छ । अब चा“डै १० ओटा मेसिन आइसक्ने महानगरीय ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

प्रष्ट कुरा के भने सरकारले विना कुनै तयारी स्मार्ट लाइसेन्स वितरण गर्ने घोषणा गरेकाले समस्या भएको हो । विज्ञान र प्रविधिले निकै फड्को मारेको र यसले संसारलाई नै एउटा गाउँजस्तो बनाएको अवस्थामा नेपाल अछुतो रहन सक्दैनथ्यो । हुदैन पनि । तर, आधुनिक प्रविधिलाई पछ्याउने नाममा ‘अरू हात्ती चढ्दा आफू धुरी चढनु’ मुख्र्याइँ शिवाय केही होइन् । स्मार्ट लाइसेन्स वितरणको विषयमा यस्तै धुरी चढ्ने प्रवृत्ति देखियो । न जाँच गर्ने मेसिन प्रयाप्त छ न त आवश्यकताअनुसारको लाइसेन्स नै वितरण गरेको छ । नेपालमा स्मार्ट लाइसेन्स वितरणका नाममा एउटा भद्दा प्रहसन मञ्चन भएको छ । सरकारले यसको विकल्प खोज्ने वा यसैलाई तत्काल सच्याएर नगए भविष्यमा अझ विकराल समस्या निम्तिने पक्का छ ।

प्रतिक्रिया