भारत र पाकिस्तान उपाधिका लागि भिड्ने

काठमाडौं । एसिया कप ट्वान्टी–२० ह्विल चियर क्रिकेट प्रतियोगिताको यात्रा टुंग्याउँदा भारत र पाकिस्तान भने उपाधिका लागि भिड्ने भएका छन् ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शुक्रबार सम्पन्न लिगको अन्तिम खेलमा भारतले बंगलादेशलाई ३० रनले हराउँदै फाइनलमा स्थान बनाउँदा दिनको पहिलो खेलमा आयोजक नेपाललाई १ सय ३० रनको फराकिलो अन्तरले पराजित गरेको पाकिस्तानले पनि उपाधि भिडन्त पक्का गरेको हो ।

शुक्रबार सम्पन्न दिनको पहिलो खेलमा पाकिस्तानले दिएको २ सय ७० रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर मात्र १ सय ३९ रन जोड्न सक्यो । नेपालका लागि कप्तान दिगम चेम्जोङले सर्वाधिक ४७ रनको इनिङ खेले पनि जितका लागि पर्याप्त भएन । सागर पाण्डेले ३० रनको इनिङ खेल्दा होमनाथ १६ तथा डम्बर मगरले १३ रनको योगदान गरे । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न बलिङतर्पm पाकिस्तानका मोहम्मद फइजले सर्वाधिक २ विकेट हात पारे भने मोहम्मद बिलाल र अदनान् नासिरले समान १÷१ विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६९ रन बटुल्न सफल भएको थियो ।

पाकिस्तानका लागि मोहम्मद लतिफ एक्लैले १ सय ४६ रनको शतकीय योगदान दिए । ५५ बलको सामना गरेको लतिफले २३ चौका र ६ छक्का प्रहार गरे । साजित अलि अब्बासीले ६२ रनको इनिङ खेल्दा ओपनर मोहम्मद बिलालले १७ तथा सइद अर्सलन अहमेद १३ रनमा नटआउट रहे ।

फितलो बलिङ गरेको नेपालका लागि डम्बर मगर र यमबहादुर श्रेष्ठले समान १/१ विकेट लिए । नेपालमाथि फराकिलो जित निकालेको पाकिस्तानले रनरेट सुधार गर्दै शीर्ष दुईमा अटाउँदा फाइनल यात्रा तय गरेको हो । प्रतियोगिताअन्तर्गत शुक्रबारै सम्पन्न दिनको दोस्रो खेलमा बंगलादेशमाथि ३० रनको जित निकालेको भारत लिगका सबै खेलमा जित निकाल्दै उपाधिनजिक पुग्न सफल भयो ।

त्रिभुवन विश्वविद्यालयको मैदानमै भएको खेलमा भारतले दिएको २ सय ४ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर मात्र १ सय ७३ रन जोड्न सफल भयो । बंगलादेशका लागि साजद हुसेनले अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन । ५५ रनको योगदान गरेका हुसेनले ३६ बलमा ९ चौका प्रहार गरेका थिए ।

ओपनर जाबेद अहमेदले ३० रनको इनिङ खेल्दा मोहम्मद मिथुनले ३२ रनको योगदान गरे । बंगलादेशको इनिङलाई सस्तैमा समेट्न भारतका विश्वनाथ गौरव र मुकेश त्यागीले समान २/२ विकेट लिए । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै २ सय ३ रन जोड्न सफल भएको थियो ।

भारतका लागि ओपनर सौरव मलिकले ८० रनको इनिङ खेल्दा अर्का ओपनर परसुराम देसलेले ३१ तथा निखिल प्रजापतिले ६५ रनको इनिङसहित भारतको जित सुनिश्चित गरेका थिए । बंगलादेशको बलिङतर्पm मोहम्मद राजोन हुसेनले २ विकेट हात पार्दा मोहम्मद रमिन शेखले १ विकेट लिए ।

प्रतिक्रिया