मण्डलामा ‘मिता आब कोना चलब’

काठमाडौं । युवा कलाकार रामभजन कामतको लेखन तथा निर्देशन रहेको नाटक मण्डला नाटक घरमा २० वैशाखदेखि मञ्चन भइरहेको छ । जेठ ५ गतेसम्म मञ्चन हुने नाटकको प्रस्तुति विराट मैथिली नाट्य कला परिषद्ले गरेको हो ।

नाटकमा निर्देशक कामतसहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शंकर पोखरेलले अभिनय गरेका छन् ।

नेपाली र मैथिली भाषामा रहेको ‘मिता आब कोना चलब’ नाटकमा एकजना पहाडी र एकजना मधेसी मूलका व्यक्तिहरूबीच भेट हुन्छ । र, त्यो भेटलाई उनीहरूले गहिरो मित्रतामा परिणत गर्छन् । एकले अर्कालाई चाडपर्वमा बोलाउने क्रमले मित्रता अझ प्रगाढ बन्छ । नाटकको दोस्रो खण्डमा कथाले नयाँ मोड लिन्छ । ती दुई मितको सम्बन्धमा दरार पैदा हुन्छ । आपसी द्वन्द्व कसरी समाधान हुन्छ वा हुँदैन ? यसका लागि नाटक ‘मिता आब कोना चलब’ हेर्ने पर्ने हुन्छ ।

नाटकले मधेस आन्दोलनपछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको निर्देशक कामतले बताए । मिता आब कोना चलब अर्थात् मितज्यू अब कसरी जाने ? नाटकमा सामान्य कृषिकर्म गर्ने मानिसको परिवारमा पारेको असरलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ । पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तर आञ्चलिक विशेषता प्रदान गरेको छ । नाटकमा नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ ।

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नाटकले नेपाली समाजलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

अनामनगरस्थित मण्डला नाटकघर पुगेका मन्त्री पण्डितले नाटक हेरेपछि पहाडी र मधेसी समुदायबीचको एकता, सद्भाव र भ्रातृत्वलाई केही अराजकहरूले खण्डित गर्ने कोशिस गरे पनि जागरणका माध्यमबाट सचेतता प्रदान गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘एउटा समय थियो, हाम्रो समाजका केही विषालुहरूले विष घोलेका थिए । अब त्यो विष विस्तारै समाप्त हुँदैन । तर, त्यसका छिटाहरू अहिले पनि कहीँकतै देखिन्छ, अन्तिम सत्य के हो भने सामाजिक सद्भाव तथा राजनीतिक सद्भावको पनि खाँचो छ ।’

प्रतिक्रिया