ज्वेलरी एक्स्पो तयारी अन्तिम चरणमा

काठमाडौं । खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा हुन लागेको नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०१९ तयारी पुरा भएको छ । आगामी २०७६ जेठ ३ देखि ५ गते सम्म काठमाडौंको लैनचौरस्थित खानी विभाग परिसरमै आयोजना हुने एक्स्पोेको तयारी पुरा भएको हो । नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तराष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यका साथ यस वर्ष पनि सो एक्स्पो आयोजना गर्न लागिएको एक्स्पोको प्रधानमंत्री केपीशर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सो अवसरमा प्रधानमंत्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव, अर्थमंत्री डा युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपाल, उद्योग सचिव यम कुमारी खतिवडा, महानिर्देशक डा. सोम नाथ सापकोटा र भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सीलका अध्यक्ष प्रमोदकुमार अग्रवालले सम्वोधन गर्ने महासंघका अध्यक्ष रमेश महर्जनले जानकारी दिए । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि पनि एक्स्पोमा सहभागी हुने महर्जनले बताए ।

अध्यक्ष महर्जनका अनुसार एक्स्पोमा नेपाली उद्यमी व्यवसायी र विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिमण्डल वीच बिटुबी अर्थात् व्यापारिक तथा म्याच–मेकिङ्ग बैठकहरु आयोजना गरिने छ । साथै भारत स्थीत जिआईएले रत्न पत्थर सम्बन्धि दुई दिने सेमिनार संचालन गर्नेछ । एक्स्पोमा गोल्ड, डायमण्ड ज्वेलरी ३६, लुज जेम्स ४, सिल्भर ज्वेलरी २, ल्यापिडरी (जेम कटिङ्ग) २, रक एण्ड मिनिरल्स १२, एजुकेसन ४ गरी कूल ६० वटा स्टल रहेका छन ।

प्रतिक्रिया