प्रधानमन्त्रीसँगै सुनतस्करीका आरोपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बैशाख २६ गतेदखी भियतनाम र कम्बोडियाको भ्रमणमा छन् । उनि दुई देशको भ्रमण पुरा गरी आज स्वदेश फर्किदैछन् । भ्रमणका बेला दुवैदेशसँग केही सम्झौता भएका छन् ।

विशेषगरी कृषि क्षेत्रलाई माथि उठाउनका लागि ध्यान दिएर प्रधानमन्त्रीले यो भ्रमणलाई केन्द्रीत गरेका छन् । तर, भ्रमण भन्दा पनि उनि केही विवादित व्यक्तिलाई आफ्नो भ्रमण दलमा समावेश गरेर चर्चा कमाएका छन् । जसमध्ये एक व्यक्ति हुन्, विवादित व्यवसायी दीपक मल्होत्रा ।

सुनकाण्ड, विमानस्थलको जग्गामाथी अनाधिकृत भवन निर्माण र भ्याट छली प्रकरणमा, यी व्यक्तिको नाम अग्रपंक्तिमा आउछ । महालेखा परिक्षकको कार्यालयले त आफ्नो प्रतिवेदनमा विमानस्थलमा मल्होत्राले बनाईरहेको भवन अनाधिकृत भएको र भाडा समेत नतिरेको भन्दै छानविन गर्न निर्देशन समेत दिएको छ ।

मल्होत्राको कम्पनी रसुवा केडी ज्वाइन्ट भेन्चर प्रालिले विमानस्थलका तत्कालीन महाप्रबन्धक इन्जिनियर रतिश चन्द्रलाल सुमनलाई हातमा लिई केही प्रावधान कानुनविपरीत राख्दै विमानस्थलको जग्गा भाडामा लिएका थिए । उनले ०६९ साल कात्तिक २ गते पर्यटन तथा विमानस्थल व्यवसाय गर्ने भन्दै सो जग्गा लिजमा लिएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको सो जग्गामा सवारी पार्किङ, बाहिर निस्कने मार्ग, आगन्तुक प्रतीक्षालय, चमेनागृह, पर्यटक मनोरञ्जनका लागि पार्क, बगैँचालगायत विमानस्थल व्यवसायसँग सम्बन्धित कामका लागि भवन लगायतका आवश्यक पूर्वाधार संरचना निर्माणका लागि मल्होत्राले सम्झौता गरेका थिए । सो भवनबाट उनले मासिक लाखौँमा भाडा उठाइरहेका छन् तर, विमानस्थललाई भवन निर्माण पूरा नभएको भन्दै भाडा बुझाएका छैनन् । विमानस्थलले सम्झौतामै भवन निर्माण सम्पन्न भएपछि मात्र भाडामा लगाउन पाउने र भाडा बुझाउनुपर्ने उल्लेख गरेको थियो ।

यस्तै उनि सुनतस्करीको आरोप पटक पटक लाग्दै गरेका व्यक्ति हुन् । पछिल्लो पटक ३८ क्विन्टल सुन प्रकरणमा उनको नाम आएपछि छानविन र अनुसन्धान नै बन्द गरिएको थियो । उनका व्यापारीक साझेदार विमल पोद्दारले मल्होत्राको नाम पोलेपछि उनलाई पक्राउ गर्न खोज्दा उनि फरार जस्तै भएका थिए । तर, पछि राजनीतिक दवावका कारण गृहमन्त्रालयको छानविन समितिको म्याद थप गरिएन र उनि स्वदेश फर्किए । यो प्रकरणका उनि पुराना खेलाडी मानिन्छन् ।

परी थापाको संयोजकत्वमा २३ वैशाख ०५५ मा बनेको संसदीय छानविन समितिले पनि मल्होत्रा सुनतस्कर भएको प्रतिवेदन बुझाएको थियो । २८ पुस ०५५ मा बुझाएको प्रतिवेदनमा समितिले किटानीका साथ दीपक मल्होत्रा, अनिल जाटिया, प्रकाश बेगानी, शंकर गोल्यान, आइएल प्रधान, टेकबहादुर गुरुङ, जमिम शाह (स्वं.), ताहिर शाह, प्रकाश टिबडेवाला, विष्णु जोशी, धोजेन्द्र गौचन, विष्णु गौचन, छविलाल भुसाल, अशोक सुरेखा, हरि न्यौपाने र दीपक स्वाँर सुन तस्करीमा संलग्न रहेको खुलाइएको थियो । तर, ती कुनैमाथि कानुनी कारबाही भएन । किनकि मल्होत्राको तत्कालीन मन्त्रीसहित प्रहरीका उच्च हाकिमहरू सँग राम्रो सम्बन्ध रहेको हुँदा उनीमाथि कारबाही हुन सकेन ।

तर, अहिले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा दुईतिहाईको सरकार छ । सरकारको नेतृत्व नेकपाका अध्यक्ष समेत रहनु भएका ओलीले गरिरहनु भएको छ । उहाले आफ्नो पहिलो काम भनेको भष्ट्रचारीविरुद्ध कारवाही गर्ने र सुशासन कायम राख्ने हो भनेर दैनिक भाषणा गरिरहेका छन । अझ प्रधानमन्त्रीकै शब्दमा भन्ने हो भने अनियमितता गर्नेको मुखसम्म हेर्दिन भनेका छन् । तर, काण्डै काण्डमा संसदीय समितिले दोषी समेत ठहर गरेका मल्होत्रालाई अन्तराष्ट्रिय मञ्चमा सँगै लिएर हिड्छन् । भियतनाम र कम्बोडियाको भ्रमणमा रहेका प्रधानमन्त्रीसँगै बसेर उनले फोटो खिचेर पोष्ट गर्ने गरेका छन् । पछिल्लो पटक प्रधानमन्त्री ओलीसँग उनि कम्बोडिया–नेपाल बिजनेश फोरमको मञ्चमा देखिएका छन् ।

अघिल्लो रोहमा प्रधानमन्त्री ओली र उनका कम्बोडियाली समकक्षी देखिएका छन् । ओलीका ठिक पछाडी दाहिने साइटमा मल्होत्रा खैरोरंगको कोटपाइन्टमा ठटिएर उभिएका छन् । यसले नै प्रधानमन्त्रीको सुशासनको नारालाई चुनौती दिन्छ । मल्होत्राको प्रधानमन्त्रीसँग यो पहिलो भ्रमण भने होइन् । यसअघि पनि चिन भ्रमणमा प्रधानमन्त्री जाँदा समेत उनि सो भ्रमण दलमा सहभागी भएका थिए । जतिवेला नेपालमा चर्चिच सुनकाण्डका विषयमा छानविन चलिरहेको थियो ।

हुनत मल्होत्राको काण्ड यतिमै मात्र सिमित छैन । उनि भ्याट छली प्रकरणमा समेत मुछिएका व्यक्ति हुन् । ठूला करदाता कार्यालयले मल्होत्राले नक्कली कम्पनी खडा गरी निर्यातै नगरेको मोबाइलको पनि शत प्रतिशत भ्याट फिर्ता लिँदै आएको रहस्य पत्ता लगाएपछि सो रकम फिर्ता हनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । मल्होत्रा भियतनामबाट मोवाइल आयात गरेर पुन सो मोवाइल दुवईमा लगेर बेच्ने गरेको बताउदै आएका छन् । तर, उनले आयात गरेको भन्दै धेरै नै बढि सामान निर्यात गरेको देखाएपछि भन्सार कार्यालयले छानविन गरेको थियो । सो छानविनमा उनले ठगि गरेको भन्सार कार्यालय स्रोतले दावी गरेको छ ।

प्रतिक्रिया