पर्साको धोबिनी गाउँपालिका–५, जगरनाथपुरमा समयमा ऋण नतिरेको निहु“मा साहुले ऋणिकी श्रीमती र छोरीलाई कुटपिट गर्दै घरमा लगेर बन्दी बनाएका छन् । स्थानीय ऋणी समसुल हककी ४५ वर्षीया पत्नी रहम्बानी खातुन र १६ वर्षीय छोरीलाई सोही ठाउँका ६० वर्षीय सौखत देवानसहित उनका छोराहरू फिरोज देवान, अफरोज देवान र सफरोज देवानले कुटपिट गर्दै दुर्वयवहार गरेको समाचार प्रकाशन भएको छ । घरमा बसिरहेको अवस्थामा बिहिबार बिहान ८ बजे एक्कासी घरमा पुगेका साहु सौखतसहित निजका ३ जना छोराहरूले श्रीमती र छोरीलाई कुटपिट गर्दै आफ्नो घरमा लगी बन्दी बनाएको पीडित समसुलले बताए । प्रहरीले साहुको घरबाट पत्नी र छोरीलाई उद्धार गरे पनि दोषीलाई पक्राउ गर्नु पर्नेमा उल्टै पीडितलाई थुनेको छ ।
आजको युगमा गाउँ गाउँमा बैंक पुगेका छन् । माइक्रो फाइनान्स, सहकारी छन् । तरपनि, मधेसका कतिपय गाउँमा साह्रोगाह्रो पर्दा साहु कहाँ ऋण माग्ने चलन अझै कायम छ भन्ने यो घटनाले देखाएको छ । साहुले चर्को ब्याजको ऋण दिने, ब्याज मात्र होइन् ब्याजको पनि ब्याज लिने चलन अझै कायम छ । मासिक ३ तीन प्रतिशत ब्याज साहुका लागि सामान्य हो । एक वर्षपछि ब्याज साँवामा परिणत गरिन्छ । यसले गरिब झन् झन् गरिब बन्दै जाने र धनी घरै बसेर अरूलाई कँज्याएरै धन थुपार्दै जाने प्रवृति कायम छ । यसलाई रुपान्तरित दास प्रथा भने हुन्छ । गरिब भएकै कारण उसले चर्को ब्याजको पर्वाह नगरी ऋण लिनु वाध्यता हुन्छ । एकपटक ऋण लिएपछि त्यसबाट उसले कहिल्यै मुक्ति पाउँदैन । चर्को ब्याजका कारण ऋण घटनुसट्टा थपिँदै जाने भएकाले ऋणी साहुको दास सरह हुन्छ । पहिलेको तुलनामा अहिले यो प्रचलन घटेको त छ । तर, उन्मुलन भएको छैन । वीरगञ्जको यस घटनामा त साहुले ऋणीलाई होइन, ऋणीकी पत्नी र छोरीलाई बन्धक बनाएका छन् । त्यसैले यो अमानवीय पनि हो । साहुले मात्र होइन प्रहरी प्रशासनले पनि आरोपीलाई दवाब परिवारका सदस्यलाई पक्राउ गरी गैरकानुनी हिरासतमा राखेका बाक्लै सुन्न र देख्न पाइन्छ ।
आजको युगमा योभन्दा अराजकता अरू हुन सक्दैन । सामन्ती युगमा यस्ता घटना सामान्य हुन् । किनभने त्यतिबेला दासप्रथा थियो । दासप्रथामा दासदासी किनबेच नै हुने भएकाले थुन्नु सामान्य घटना हो । त्यसपछिको युगमा गरिबलाई ऋणबाट उम्कन नदिई हली, गोठाला बनाउने, केही जग्गा जमिन भएकासँग ऋणवापत सोही जमिन हडप्ने प्रचलन नै थियो । तर, आजको युग त्यस्तो होइन । नागरिक गरिब हुनु भनेको राज्यले आफ्नो दायित्व पूरा नगर्नु हो । सामाजिक न्यायमा आधारित राज्य व्यवस्थामा यस्तो हुँदैन । समाजिक न्यायलाई लोकतन्त्रको गहना मानिन्छ । सामाजिक न्यायबिनाको लोकतन्त्र कुरूप हुन्छ । वीरगञ्जको घटनाले यही कुरूपतालाई छर्लङ्ग पारेको छ । ऋण लिनु सामान्य कुरा भए पनि चहेर पनि तिर्न नसक्ने अवस्था आउनु राज्यको कमजोरी हो । अर्कोतिर मानिस जन्मजात स्वतन्त्र र फुक्का हुन्छ भन्ने विश्वले मानेको सर्वमान्य कुरा हो । यसकारण, एउटा वयस्क मानिसले गरेको अपराधमा परिवारका अन्य सदस्यलाई यातना दिनु, जिम्मेवार बनाउन खोज्नु अपराध हो । हाम्रो देशमा नयाँ मुलुकी संहिता जारी भएर आजको युग सुहाउँदो दण्ड सजायको व्यवस्था भए पनि अझै आत्महत्याको निमित्त बाध्य पार्ने र परिवारका एक सदस्यले गरेको काममा अर्को सदस्यलाई यातना दिने, जबर्जस्ती जवादेही बनाउन खोज्नेबिरुद्ध कुनै कानुन बन्न सकेको छैन । यस्तो कार्य फौजदारी अपराधको कोटीमा राखेर क्षतिपूर्तिसहितको दण्ड, सजायको व्यवस्था नहुञ्जेल दाहोरिरहने सम्भावना रहन्छ ।
प्रतिक्रिया