अझै पुगेनन मुगुमा पाठ्यपुस्तक

मुगु । हिमाली जिल्ला मुगुमा शैक्षिक सत्र सुरु भएको हप्ता दिनभन्दा बढी हँुदासमेत विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको नौ दिन पुगिसक्दा पनि पुस्तक नपुग्दा पाठ्यपुस्तकविनै मुगुका विद्यार्थीहरू विद्यालय जाने गरेका छन् ।

शैक्षिक सत्र सुरु नहुँदै सबै जिल्लामा पाठ्यपुस्तक पु¥याउने भनिए पनि मुगुमा पाठ्यपुस्तक भने अहिलेसम्म पुगेको छैन । विगतका वर्षहरूमा समयमा नै पाठ्यपुस्तक विद्यार्थीले नपाएपछि आलोचना खेप्दै आएको सरकारले यो वर्ष पनि समयमै पाठ्यपुस्तक विद्यार्थीको हातसम्म पुर्याउन सकेन ।

जिल्लाका चार वटा स्थानीय तहमध्ये खत्याड गाउँपालिकाका विद्यार्थीको हातमा पुस्तक पुगिसकेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । खत्याड गाउँपालिकामा रहेका ४१ विद्यालयका ३ हजार ९ सय ९० जना विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाए पनि अन्य तीन वटा स्थानीय तहका विद्यार्थीले नयाँ पाठ्यपुस्तक भने पाउन सकेका छैनन् ।

यता छायानाथ रारा नगरपालिकाभित्र रहेका ५ हजार १ सय २९, सोरु गाउँपालिकाभित्र रहेका ४ हजार ५ सय ८० र मुगुम कार्मारोङ गाउँपालिकाभित्र रहेका ९ सय ७१ जना विद्यार्थीले अहिलेसम्म पुस्तक पाएका छैनन् । जिल्लाभरका सरकारी विद्यालयका केही विद्यालयले पुराना पाठ्यपुस्तक प्रयोग गर्ने भएकाले यो शैक्षिक सत्रमा १६ हजार सेट पुस्तक आवश्यक पर्ने इकाइले जनाएको छ ।

मुगुका लागि त्रिशक्ति स्टेसनरी, जयलक्ष्मी पुस्तक पसल र केबी स्टेसनरीले पाठ्यपुस्तक ल्याउने जिम्मेवारी लिए पनि उनीहरूले पुस्तक नउठाउँदा जिल्लामा पुस्तक पुग्न नसकेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सूर्यबहादुर खत्रीले जानकारी दिए । हिजोआज पुस्तक विक्रेता जनक शिक्षा सामग्री सुर्खेतको सम्पर्कमा पुगेका र विक्रेतालाई छिटो पुस्तक ल्याउन ताकेता गरिएको खत्रीले बताए ।

कर्मचारी समायोजनले स्थानीय तहका कर्मचारी फेरबदल भइरहँदा समयमा नै बजेट निकासा नदिँदा पुस्तक ल्याउन ढिलाइ भएको त्रिशक्ति स्टेसनरीका सञ्चालक नृपेन्द्रबहादुर मल्लले जनाए । विद्यार्थीले अबको एक हप्ताभित्र नयाँ पुस्तक पाउने उनले बताए ।

प्रतिक्रिया