ट्रम्पको सन्देश हस्तान्तरण गर्न दक्षिण कोरिया प्रतीक्षारत

सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनलाई पठाएको सन्देश हस्तान्तरण गर्न आफू प्रतीक्षारत रहेको दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले बताएका छन् ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार त्यस्तो सन्देश दुवै नेताबीच हुने सम्भावित अन्तर–कोरियाली चौथो सम्मेलनका अवसरमा हस्तान्तरण गरिनेछ । अमेरिकी सञ्चारमाध्यम सिएनएनले गोप्य स्रोतलाई उल्लेख गरी राष्ट्रपति मुनले ट्रम्पको सन्देश उत्तरसम्म पु¥याउन उपयुक्त समयको प्रतीक्षामा रहेको जनाएको थियो । मुनले राष्ट्रपति ट्रम्पलाई यसै महिनाको सुरुमा ह्वाइट हाउसमा भेटवार्ता गरेका थिए । उनीहरूको भेटका क्रममा वासिंगटन र प्योङयाङबीचको अवरुद्ध निःशस्त्रीकरण वार्ता पुनः सुरु गर्नेबारेमा छलफल भएको थियो ।

‘यदि, अन्तर–कोरियाली शिखर सम्मेलन भएमा उत्तर कोरियाली नेतासम्म राष्ट्रपति ट्रम्पको सन्देश हस्तान्तरण गरिनेछ,’ राष्ट्रपति कार्यालयका अधिकारीले बताए । तर, सन्देशमा रहेको व्यहोराबारे उनले कुनै कुरा उल्लेख गरेनन् । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भियतनामको हनोइमा गत फेब्रुअरीमा भएको दोस्रो शिखर वार्ता आणविक निःशस्त्रीकरण र उत्तर कोरियामाथिको प्रतिबन्धका विषयमा समझदारी बनाउन नसकी विफल भएसँगै दुवै मुलुकबीच आरोप प्रत्यारोप जारी छ ।

यसै महिनाको सुरुमा उत्तर कोरियाली नेता किमले दिएको प्रमुख नीति भाषणमा संयुक्त राज्य अमेरिका कुनै नयाँ योजनाका साथ अघि आएमा राष्ट्रपति ट्रम्पसँग यसै वर्षको अन्त्यसम्ममा तेस्रो शिखर वार्ताका लागि तयार रहेको बताएका थिए । तर, यस्तो प्रस्ताव प्योङयाङलाई पनि स्वीकार्य हुनुपर्ने किमको भनाइ छ ।

नेता किमको उक्त धारणा सार्वजनिक भएयता उत्तर कोरियाले अमेरिका विरुद्धको आलोचनालाई तीव्र बनाएको छ । उत्तर कोरियाका वरिष्ठ कूटनीतिक अधिकारीहरूले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले प्योङयाङको चाहनालाई राम्रोसँग बुझ्दै नबुझी असान्दर्भिक प्रतिक्रिया दिएको बताएका छन् । उत्तर कोरियाले यसै सन्दर्भमा गतसाता सुधारिएको नयाँ हतियारको परीक्षण गरेको छ ।

प्रतिक्रिया