खोजखबर

केराका परिकार खाद्य वस्तुका रूपमा प्रयोग

दुर्गा देवकोटा २०७६ वैशाख २ गते ८:५३ मा प्रकाशित

लम्की । केराका परिकार खाद्यवस्तुका रूपमा प्रयोग हुन थालेको छ । कैलालीको टीकापुरमा कृषि व्यवसायी कालु हमालले केराका परिकारलाई खाद्यवस्तुका रूपमा प्रयोग गर्ने वातावरण मिलाएका छन् । ‘बनाना किङ’ को परिचयसमेत बनाइसकेका केरा व्यवसायी हमालले अहिले केराका ४० परिकार उत्पादन गर्छन् ।

हमालले १३ वर्षअघि विगतमा फलफूलका रूपमा मात्रै प्रयोग गरिने केराखेती गर्न सुरु गरे । उनले केराखेती सँगै केराका परिकार बनाएर बेच्न थाले । ‘सुरु सुरुमा उनलाई धेरैले विश्वास गरेनन्, केराको परिकार के मीठो होला र ? भन्थे,‘ हमाल भन्छन्, ‘टीकापुर नगरपालिकाको मनिकापुरमा केराका परिकार मात्रै पाइने बनाना रेस्टुराँ खोलें । यो रेस्टुराँको चर्चा टीकापुरमा मात्रै सीमित रहेन । ‘उनी थप्छन्, ‘टीकापुर घुम्न आउने हरेकजसो पर्यटक रेस्टुराँमा पुग्न थाले । कोही कोही केराको परिकार खानकै लागि समेत पुग्न थाले । केराका परिकार सबैले रुचाए । धेरै मानिस टीकापुर पार्क जानुभन्दा पनि केराका परिकार खानकै लागि आउँछन् ।’

हमालको रेस्टुराँमा अहिले ४० थरीका केराका परिकार बन्छन् । ती सबै काँचो र पाकेको केराबाट बन्छन् । हमालको रेष्टुराँमा बनाना चिप्स, अचार, पकौडा, फिङ्गर चिप्स, चिल्ली, सेकुवा, समोसा, अम्लेट, मःमः, खिर, पराठा (रोटी), वाइन, ब्रान्डी लगायतका परिकार पाइन्छन् । हमाल भन्छन्, ‘यहाँ आउनेहरूमा धेरै जसो सपरिवारै आउँछन् । केराका परिकारलाई खानाका रूपमा खाएर बेलुका घर फर्कने चलन पनि छ । ‘धेरैले यसलाई खानाको रूपमा पनि प्रयोगमा ल्याउन थालेका छन् ।

हमाल भन्छन्, ‘बनाना चिप्स धेरैको रोजाइमा पर्छ । एक प्लेटको २० रुपैयाँ बेच्ने गरिएको छ । यसलाई प्याकेटमा लैजानसमेत मिल्छ । ४० र ६० रुपैयाँका दुई छुट्टाटुट्टै प्याकेटमा उपलब्ध छ । काँचो केरा पातलो गरेर काट्ने । मसला मिसाएर तेलमा तारेपछि तयार हुन्छ ।‘ त्यस्तै, उनको रेस्टुराँमा आउनेहरू केराको अचार नखाएर फर्कंदैनन् । केराको चार प्रकारको अचार यहाँ पाइन्छ, ‘काँचो केरा उमालेर तयार हुने अचार, बुंगाको अचार, जराको अचार र काँचो केराको चट्नी

पकौडाचाहीँ काँचो केरा काटेर चनाको बेसनमा मिसाएर बनाइन्छ । यसमा नुन र खुर्सानी पनि मिसाइन्छ । ‘पछिल्लो समय यसलाई पनि धेरैले रुचाएका छन् । ‘उनी थप्छन्, ‘फिंगर चिप्स बाहिरी जिल्लाका मानिसले कोसेलीका रूपमा पनि लैजाने गर्दछन् । ‘त्यस्तै, केराको वाइन र ब्रान्डी पनि निकै बिक्री हुने गरेको छ । केराको वाइन र ब्रान्डी टीकापुर आउने र जाने मानिसले कोसेलीका रूपमा दिने र लैजाने चलन पनि बढेको छ । ‘एग्रो टुरिजम’ को विस्तारमा सक्रिय हमाल केराका परिकारबाट खाद्य अभावलाई समेत टार्न सकिने बताउँछन् । उनी केराका परिकारबाट भोकमरी अन्त्य गर्ने मात्रै नभई केराका रेशाबाट टोपी, चप्पल, कागज लगायतका सामग्री समेत उत्पादन गर्ने योजना रहेको बताउँछन् ।

यहाँ केराका परिकार खान आउनेले रुचाएर खान्छन् । ‘नेपालमा गर्ने चाहना भएमा एउटै उत्पादनलाई अनेकथरी बनाएर बेच्न सकिन्छ । ‘पर्यटन व्यवसायी थर्कबहादुर शाह भन्छन्, ‘कालु हमालकै कारण टीकापुर केरा पाइने ठाउँ भनेर चिनिएको छ । यसकै कारण केराखेतीमा कृषकको आकर्षण पनि बढेको छ ।‘

कृषि व्यवसायी शिव थापा भन्छन्, ‘पढेलेखेका मानिसले खेती नगर्ने परम्परालाई हमालले चिरेका हुन् । उनले केराखेती गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएपछि हामी पनि हौसिएका छौँ ।‘ थापा भन्छन् – ‘टीकापुर केरा, दूध, मासुमा आत्मनिर्भर भएको छ । अझै यस क्षेत्रका किसानलाई व्यावसायिक र प्राविधिक ज्ञान आवश्यक छ ।‘ उनी सरकारले बजारीकरणमा ध्यान दिइदिए कृषिमा अझ आकर्षण बढ्ने बताउँछन् ।

हमालले केराखेती सुरु गरेपछि अहिले यो क्षेत्रका धेरै कृषकले केराखेती गरेका छन् । अहिले टीकापुर क्षेत्रमा ३३० हेक्टर जमीनमा केराखेती गरिएको कृषि अधिकृत गौरीशंकर गुप्ताले जानकारी दिए । यस वर्ष रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमले थप ९० हेक्टर जमीनमा केराखेती विस्तार गर्ने लक्ष्य लिएको छ । कृषि कार्यक्रमले अहिले केराखेतीका लागि माग पेस गर्न किसानलाई सूचित गरिसकेको छ । ‘केराखेतीको राम्रो सम्भावना र बजार भएकाले सिँचाइले पनि केरामा लगानी गर्ने योजना ल्याएको हो, ‘कृषि अधिकृत गुप्ता भन्छन्, ‘अन्य खेतीभन्दा केराखेतीबाट राम्रो आम्दानी हुन्छ । त्यसैले कृषकले पनि केरा खेती रोज्न थालेका छन् ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय