हावाहुरी पीडित भन्छन्, धन सम्पत्ति त उडायो नै खुशी पनि बाँकी राखेन

बारा । ‘हावाहुरीले घरसँगै हाम्रो खुशी पनि उडाइदियो, बारा भलवलियाका रवीन्द्र रामले पीडा सुनाउँदै भने, ‘घरमा भएको दुई बोरा धान र रु दुई हजारसमेत उडायो, बारीको गहुँबाली सखापै भयो ।’

रवीन्द्रको त्यसै दिन बिहान घरमा नयाँ सदस्यको आगमनले परिवारमा खुशियाली छाएको थियो । विडम्बना त्यही दिन साँझ आएको हावाहुरीले उनीहरूको खुशी एकाएक पीडामा बदलियो । रवीन्द्रकी श्रीमती आशादेवीको पनि आफ्नो तेस्रो सन्तान प्राप्त भएकोमा खुशीको सीमा नै थिएन ।

आलो सुत्केरी के गर्नु हावाहुरीले घरै उडाएपछि बच्नैका लागि बच्चा च्यापेर छिमेकीको घरमा जान बाध्य बनायो । ‘‘बिहान ७ बजे छोरी जन्मिइन् साँझ ७ बजेको समयमा हेलिकप्टर कराएको जस्तो गट्ट आवाज आयो, एकैछिनमा घर उडायो, ‘उनले भने । १२ घण्टाको शिशु र आफ्नो ज्यान जोगाउन सफल भएकी आशादेवीलाई आफ्नो र छोरीको ज्यान बचे पनि अबको भविष्य के हुने हो त्यसको चिन्ताले सताइरहेको छ ।

‘हावाहुरीले घरसँगै भाडावर्तन, कपडा, खाद्यान्नलगायतका सम्पूर्ण बन्दोवस्तीका सामान उडाएर लग्यो, रवीन्द्र र आशा दम्पतीले भने, ‘कहाली लाग्दो हुरीकै दिन जन्मेकाले छोरीको नाम आनी राखेका छौँ ।’ उनिहरूका अनुसार मैथिली भाषामा आनी भनेको हुरी आयो भन्ने बुझिन्छ ।

विवाह भएको आठ वर्षमा पहिलो सन्तान जन्मेको बताउने सोही स्थानकी अर्की सुत्केरी कविता रामको पनि कम पीडा छैन । शल्यक्रिया गरेर छोरी जन्माएको नौ दिनको दिन हावाहुरी आएर आफ्ना खुशी पीडा र व्यथामा बदलिदिएको उनले बताइन् ।

‘हावाले घर एकैचोटी उडायो, नाबालक छोरीलाई च्यापेर खाटमुनि पसी ज्यान बचाएँ, उनले भनिन्, ‘मलाई त बाँचौँला जस्तो लागेको थिएन, धन्न बाँचियो ।’ उनका श्रीमान् दिनेश राम कामबाट राति ९ बजेतिर घर फर्कीएका थिए ।

रवीन्द्र तथा दिनेश दम्पतीजस्तै यतिखेर भलवलियामा मात्र एक महीनाभित्र सुत्केरी भएका १० जना महिला तथा नवजात शिशु रहेको स्थानीय राहत व्यवस्थापन समितिका संयोजक वीरेन्द्र शाहले जानकारी दिए । सुत्केरीले स्याहार पाउनुपर्ने बेलामा घरवास नै उडाएर विचल्ली पारेका कारण समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया