राजधानी काठमाडौं उपत्यकाको करिव २० किलोमिटर खण्डमा मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने तयारी भएको रेल विभागले जनाएको छ । खोकनादेखि बुढानीलकण्ठसम्म करिब २५ किलोमिटर र नागढुंगादेखि धुलिखेलसम्म करिब ४५ किलोमिटर क्षेत्रमा मेट्रोरेलको सम्भावना अध्ययन गर्न लागिएको हो । जसमध्ये खोकना–बुढानीलकण्ठ रुटको लगनखेल–महाराजगञ्ज चोक खण्डको १० किलोटिर क्षेत्रमा डिपिआर प्रक्रियाका लागि टेन्डर आह्वान भएको छ । यो खण्डको पूर्वसम्भाव्यता अध्ययन ८ वर्षअघि एक कोरियन कम्पनीले गरिसकेको थियो । समाचारमा जनाइएअनुसार खोकना–बुढानीलकण्ठ रुटको सम्भाव्यता अध्यायन प्रक्रिया रेल विभागले अघि बढाएको छ भने नागढुंगा–धुलिखेल रुटको सभाव्यता अध्ययन लगानी बोर्डले अघि बढाएको छ ।
झट्ट सुन्दा यो समाचार निकै कर्णप्रिय छ । उत्साहजनक पनि छ । तर, यो समाचार नयाँ भने होइन । राजधानी काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणको काम छिटै सुरु हुन्छ भन्न थालिएको डेढ दशक बितिसकेको छ । तर, प्रगति शून्यजस्तै छ । ८ वर्ष अघि जे अवस्था थियो, अहिले पनि त्यही अवस्था छ । नारा र भाषणमा बाहेक केही प्रगति भएको छैन । आठ वर्ष अघि सरकारले जे भनेको थियो, अहिले पनि त्यही भनि“दैछ । अझ उदेक लाग्दो कुरा त के छ भने गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा तत्कालीन नेकपा एमालेबाट मेयरपदमा उम्मेद्वार बनेका विद्यासुन्दर शाक्यले तीन वर्षभित्र मेट्रोरेल सञ्चालनमा ल्याउने प्रतिबद्धता जाहेर गरेका थिए । ३ वर्षको अवधि तोकिनुलाई धेरैले किन पनि आश्चर्य मानेका थिए भने–‘ शुन्यबाट काम सुरु गरेर तीन वर्षभित्र मेट्रो रेल सञ्चालन गर्नु नेपालका सन्दर्भमा असम्भव हो ।’ चुनाव जित्ने सम्भावना बोकेको प्रभावशाली पार्टीको उमेद्वारले यस्ता असम्भव प्रतिबद्धता जाहेर गर्दा जनतामा राजनीतिक प्रणालीप्रति नै वितृष्णा उत्पन्न हुने विश्लेषण बौद्धिक वर्गले गरेको थियो । तर, उमेद्वार शाक्यले हरेक भाषणमा तीन वर्षभित्र मेट्रोरेल सञ्चालनमा ल्याउने प्रतिबद्धता जाहेर गर्न छुटाएनन् । तीन वर्षमध्ये सम्भाव्यता समेत अध्ययन नै नगरी दुई वर्ष बितिसकेको छ । यो अवधिमा कार्यप्रगति के कति भयो भन्ने कुरा माथि उल्लेखित समाचारले पनि पुष्टि गर्छ । सम्भावव्यता अध्यायनका लागि काठमाडौं महानगरपालिकासँग बजेट नभएको होइन । वर्षिक १३–१४ अर्ब रुपैयाँ बजेट काठमाडौं महानगर पालिकाले परिचालन गर्छ । वार्षिक ५–६ अर्ब रुपैया“ बजेट परिचालन ललितपुर महानगरपालिकाले पनि गर्छ । काठमाडौं उपत्यकाभित्रका अरू डेढ दर्जन नगरपालिकाले पनि प्रत्येकले सरदर वार्षिक डेढ अर्ब रुपैया“ बजेट परिचालन गर्छन् । काठमाडौं उपत्यकाका पालिकाहरूले मेट्रोरेलका लागि हरेक वर्ष निश्चित बजेट विनियोजन गर्ने हो भने १० वर्षभित्र उल्लेख्य प्रगति हुन सक्छ । तर, भाषण बाहेक कत्ति पनि प्रगति छैन ।
काठमाडौं उपत्यकाको जनसंख्या ५० लाख नाघेको अनुमान गरिएको छ । पछिल्ला दिनमा उपत्याकाको जनसंख्या हरेक वर्ष ७ प्रतिशतका दरले वृद्धि भइरहेको छ । ४० लाखभन्दा बढी जनसंख्या भएको सहरमा सडक यातायातले मात्रै नधान्ने र विकल्पमा मेट्रोरेल सञ्चालन गर्नुपर्ने विश्वव्यापी मान्यता छ । ४० लाखभन्दा बढी जनसंख्या भएका सहरमा यात्रुहरूको चाप धेरै नै बढी हुने भएकोले मेट्रोरेल नाफामा चल्ने गरेको विश्वका अन्य सहरहरूको अनुभवले देखाएको छ । नाफामा चल्ने, यात्रुहरूलाई धेरै नै सुविधा हुने र प्रदूषण पनि कम हुने भएकोले मेट्रोरेल सञ्चालन गर्न कत्ति पनि ढिलाइ गर्नु हुँदैन । आफ्नो गन्तव्यमा पुग्न राजधानी काठमाडौंका यात्रुहरूले धेरै नै सास्ती बेहोर्नुपरेको अवस्था छ । उपत्यकावासीको अमूल्य समय सवारी साधनभित्रै खेर जाने गरेको छ । घण्टौ“सम्म सवारी जाम हुने अवस्था छ । यो अवस्था घट्दो होइन दिन गनेर बढ्दो छ ।
प्रतिक्रिया