प्रधानमन्त्री केपी शर्मा ओलीले ०८० सालपछि नेपाल सुरुङमार्ग निर्माणको युगमा प्रवेश गर्ने बताएका छन् । शुक्रबार नारायणगढ– बुटवल सडक विस्तारको शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले अधिकांश अभिव्यक्ति अनावश्यक र हचुवाको आधारमा दि“दै आए पनि ‘०८० सालपछि नेपाल सुरुङ मार्ग निर्माणको युगमा प्रवेश गर्ने’ अभिव्यक्ति भने हचुवा होइन । सुरुङमार्ग नेपालको आवश्यकता पनि हो र सम्भावनाको क्षेत्र पनि हो । सरकारले इच्छा शक्तिका साथ काम अघि बढाउने हो भने अबको पाँच वर्षभित्र लामादूरीका राजमार्ग निर्माणको काम करिब–करिब सम्पन्न हुन्छ । मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, हुलाकी सडक, कोसी, गण्डकी, कर्णाली र महाकाली कोरिडोर सडक, काठमाडौं–तराई द्रुतमार्ग लगायतका सडक निर्माणको काम अबको पा“च वर्षभित्र सम्पन्न गर्न सकिन्छ । त्यसपछि संघीय सरकारले सडक निर्माणका लागि बजेट विनियोजन गर्नु पर्दैन । छोटो दूरीका सडकहरू प्रदेश सरकार तथा स्थानीय सरकारहरूले निर्माणअघि बढाउन सक्छन् । कतिपय सडकहरू जलविद्युत् आयोजनाले पनि निर्माण गर्न सक्छन् । सडक निर्माणका लागि बजेट छुट्याउनु नपर्ने भएकोले संघीय सरकारले सुरुङ मार्ग निर्माणमा ध्यान दिन सक्छ ।
सडक मार्गको तुलनामा सुरुङ मार्गको निर्माण लागत कैयौँ गुणा महंगो पर्छ । तर, नेपालजस्तो पहाडी मुलुकका लागि दीर्घकालीन दृष्टिले सुरुङमार्गको बहुआयामिक महत्व छ । पहिलो कुरा त सुरुङमार्गले एकठाउँ र अर्को ठाउँको दूरी निकै नै छोट्याउँछ । उदाहरणका लागि राजधानी काठमाडौं उपत्यकाबाट नुवाकोटको त्रिशूली–तादी उपत्यकाको सडक दूरी हाल २३ किलोमिटर छ । जसलाई पार गर्न पौने घण्टा लाग्छ । तर, सुरुङमार्ग निर्माण गर्ने हो भने त्यो दूरी चार किलोमिटर मात्रै हुन्छ । जसलाई चार मिनेटमै पार गर्न सकिन्छ । कहा“को पौने घण्टा, कहा“को चार मिनेट । पहाडी तथा हिमाली भेगका उपत्यकाहरूलाई सुरुङमार्गद्वारा जोड्दै जाने हो भने बढीमा एक दिनमा राजधानी काठमाडौंबाट मुलुकको जुनसुकै भूभागमा पनि आवतजावत गर्न सकिने अवस्था बन्छ । पहाडी क्षेत्रको अधिकांश भूभाग निकै भिरालो छ । यस्तो भूभागमा एक लेनभन्दा फराकिलो सडक निर्माण सम्भव हु“दैन । सम्भव भइहाले पनि भूक्षय तथा दुर्घटनाको जोखिम रहिरहन्छ । भिरालो भूभागमा बे“सीबाट पहाडको टुप्पोतर्फ सडक निर्माण गर्नुपर्दा धेरै घुम्ती मोडहरू बनाउनुपर्ने हुन्छ । जसका कारण सडकले धेरै जमिन ओगट्छ । तर, सुरुङमार्ग निर्माण गर्दा भूक्षय तथा सडक दुर्घटनाको डर हु“दैन । जमिन पनि जोगिन्छ । नेपालजस्तो थोरै क्षेत्रफल भएको मुलुकका लागि जमिन जोगाउनु पनि पुँजी निर्माण नै हो । किनकि, यसरी जोगिएको जमिनलाई उत्पादनमूलक कामका रूपमा प्रयोगमा ल्याउन सकिन्छ । सडकको दूरी छोटि“दा इन्धनको बचत हुने त छ“दै छ, यात्रुहरूको समयको पनि बचत हुन्छ । समयको बचत भनेको पनि पुँजी निर्माण नै हो ।
विभिन्न जलविद्युत् आयोजना तथा मेलम्ची खानेपानी आयोजना गरी करिब २ सय किलोमिटर सुरुङ नेपालमा निर्माण भइसकेको छ । तर, सडकको विकल्पमा भने अहिलेसम्म सुरुङ मार्ग निर्माणको थालनी भएको छैन । ०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री हु“दा मन्त्रिपरिषद्को पहिलो बैठकले पृथ्वीराजमार्ग खण्डको थानकोट नौबिसे सुरुङ मार्ग निर्माण गर्ने निर्णय गरेको थियो । सात वर्ष बितिसक्यो भौतिक रूपमा अझै निर्माण सुरु भएको छैन । जापान सरकारले आयोजनाको काम अघि बढाइसकेका कारण अबको पा“च वर्षभित्र निर्माण सम्पन्न हुने आशा गर्न सकिन्छ । यसैगरी, टोखा–छहरे, दाउन्ने, खुर्कोट–सिन्धुलीमाढीलगायत करिब आधा दर्जन स्थानमा सुरुङ मार्ग निर्माण गर्ने भन्दै सरकारले बजेटमा केही रकम विनियोजन गरेको छ । अबको पाँच वर्षभित्रमा यो काम थालनी भयो भने प्रधानमन्त्री ओली आफ्नो भनाइमा प्रतिबद्ध रहेछन् भन्नुपर्ने हुन्छ । जनतामा पनि उत्साह जाग्छ । पछिल्ला दिनमा सुरुङ निर्माणको नया“ प्रविधि पनि नेपालमा भित्रिएको छ । यो प्रविधि परम्परागत प्रविधिभन्दा आधा सस्तो र समय पनि दुईतिहाइ कम लाग्छ । भेरी–बबई डाइभर्सन आयोजनाको १४ किलोमिटर सुरुङ नया“ प्रविधिद्वारा १४ महिनामै छिचोलिएको छ । त्यसैले, ०८० सालपछि नेपाल सुरुङ मार्गको युगमा प्रवेश गर्ने प्रधानमन्त्री ओलीको भनाइ सत्य हो ।
प्रतिक्रिया