पर्यटक आगमन उत्साहजनक

विदेशी पर्यटक आगमनमा नेपालले संसारमै उच्च वृद्धिदर हासिल गरेको छ । सन् २०१८ मा उच्च पर्यटक वृद्धिदर भएका शीर्ष तीन गन्तव्यमा नेपाल परेको थियो । नेपालका लागि सन् २०१९ अघिल्लो वर्षभन्दा पनि शुभ संकेत देखिएको छ । २०१९ का सुरुका दुई महिनामा पर्यटक आगमनको स्थिति ज्यादै नै उत्साहजनक छ । गत वर्षको सुरुको दुई महिनामा भन्दा यस वर्षको सुरुको दुई महिनामा विदेशी पर्यटकको आगमन ३२ प्रतिशतले वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गत वर्षको जनवरीमा भन्दा यस वर्षको जनवरीमा २५ प्रतिशत बढी पर्यटक आएका छन् । गत वर्षको फेब्रुअरीमा भन्दा यस वर्षको फेब्रुअरीमा ३९ प्रतिशतले बढी पर्यटक आएका छन् । सन् २०१८ मा करिब १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो संख्या सन् २०१७ को तुलनामा करिब २० प्रतिशत बढी थियो । अफ सिजन मानिने सन् २०१९ का सुरुका दुई महिनामा २ लाख १६ हजार विदेशीले नेपाल भ्रमण गरे । वृद्धिको यही अनुपातले अरू १० महिना पनि निरन्तरता पाउने हो भने सन् २०१९ मा करिब १६ लाख पर्यटकले नेपाल भ्रमण गर्नेछन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । यही अवस्था रहने हो भने सन् २०२० मा लक्ष्यभन्दा बढी पर्यटक भित्रिने संकेत देखिएको छ । यो शुभ संकेतलाई कति पनि कमजोर हुन नदिन सरकारी निकायहरू अहिलेदेखि नै गम्भीर बन्नु जरुरी छ ।

पश्चिमा पर्यटकका लागि नेपाल जुनवेला अफ सिजन हुने गरेको छ त्यही वेला चीन, भारतलगायत एसियाली मुलुकहरूका लागि सिजन हुने गरेको देखिएको छ । गत फेब्रुअरीमा सबैभन्दा बढी चीनबाट १६ हजार पर्यटक आएका छन् । श्रीलंका, भारत र थाइल्यान्डबाट पनि १४÷१४ हजार पर्यटक नेपाल आएका छन् । संयुक्त राज्य अमेरिकाबाट ७ हजारले नेपाल घुमेका छन् । नेपालको सन्दर्भमा डिसेम्बरदेखि फेब्रुअरीसम्मको तीन महिना पर्यटकीय आगमनका दृष्टिले अफ सिजन मानिन्थ्यो । यस सिजनमा पर्यटन व्यवसायी तथा पर्यटन मजदुरहरू छुट्टी मनाउन निस्किन्थे । तर, विगत केही वर्षयता डिसेम्बरदेखि फेब्रुअरीसम्मका तीन महिनालाई पनि अफ सिजन भनी हाल्नुपर्ने अवस्था रहेन । सिजनमा थेगिनसक्नु पर्यटक आउने हु“दा उनीहरूको व्यवस्थापनका लागि श्रम शक्तिको अभाव हुने र अफ सिजनमा पर्यटकको अभावले व्यवसाय नै बन्द गर्नुपर्ने विडम्बनामा नेपालको पर्यटन व्यवसाय थियो । तर, पछिल्ला केही वर्षदेखि बाह्रै महिना पर्यटकहरूको आवागमन भइरह“दा पर्यटन व्यवसायले कोल्टे फेर्न थालेको छ ।

पर्यटकको वृद्धि जुन रफ्तारमा भइरहेको छ त्यो रफ्तारमा पर्यटकीय पूर्वाधारको विकास एवं पर्यटकीय गन्तव्यको वृद्धि गर्नु आवश्यक छ । बढ्दो वृद्धिदरलाई थेग्ने पूर्वाधार निर्माण स“गस“गै नभए पर्यटक आगमन खुम्चिन सक्नेतर्फ व्यवसायीले चासो व्यक्त गर्दै आएका छन् । सन् २०२० लाई देशले भ्रमण वर्षका रूपमा मनाउ“दै छ । यस्ता प्रबर्धनात्मक वर्षहरू मनाइराख्दा देशले गर्ने कामहरू जस्तै ः पर्यटकलाई भिसा नचाहिने वा भिसा आएर प्राप्त गर्न सजिलो बनाउने नै मुख्य हो । तर, यी पुराना स्किमले मात्रै पुग्दैन । हाम्रो मुलुकका लागि वैदेशिक मुद्रा आम्दानीको भरपर्दो स्रोत पर्यटन व्यवसायबाहेक अर्को छैन । तर, पर्यटन व्यवसाय ज्यादै संवेदनशील हुन्छ । शान्ति सुरक्षामा थोरै तलमाथि हुनासाथ धरासायी हुन्छ । त्यसैले, शान्ति सुरक्षामा सरकारले विशेष ध्यान दिनु जरुरी छ । खासगरी, जनताले पनि आफ्नो देशको यो संवेदनालाई बुझी बन्द हड्ताल गर्ने समूहहरूलाई बहिष्कार गर्नुपर्छ । दोस्रो कुरा भनेको सरसफाइ हो । सरसफाइको सवालमा भन्नुपर्दा सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्वच्छ पानी हो । तर, राजधानी काठमाडौंमा पानीको चरम अभाव छ । सन् २०२० सम्ममा यो अभाव हट्ने अवस्था देखि“दैन । तेस्रो समस्या भनेको विमानस्थल हो । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलले हवाईजहाजको चाप धान्न नसकेका कारण कतिपय पर्यटक भारतको बाटो भएर नेपाल आउन बाध्य छन् । जसका कारण उनीहरूको बसाइ अवधि घट्न गएको छ । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई युद्धस्तरमा गति दिनुपर्छ र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको थालनी यथाशीघ्र आरम्भ गर्नुपर्छ ।

प्रतिक्रिया