श्रीमान् चुँड्ने विदेश

सिन्धुलीकी सुनितादेवी मुसहर जन्मिएको एक वर्षमा उनको आमाको मृत्यु भयो । उनलाई बुबाको अनुहार अलिअलि मात्रै याद छ । बुबाको निधनमा उनी पाँच वर्षकी मात्रै थिइन् । ज्याला मजदुरीले धानिएको परिवारमा बुबा आमा नै परलोक भएपछि काम गर्ने कोही भएन । त्यसको असर कयौँ दिन भोकै बिताएकी छिन् उनले ।

उमेर अनुसारको पौष्टिक आहार खानुपर्ने बालक भोकै भएपछि के हुन्छ ? सुनिता बिरामीले थलिइन् । धन्न छिमेकी मनकारी रहेछन् र उपचार गराए । परिवारमा एक्लिएकी उनलाई घरमा राखे, सहयोगीको रूपमा ।

उमेरले फक्रँदै गरेकी उनी जिम्मेवारीले थिचिन थालिन् । छिमेकीले पालेबापत काम तोकिदिए, बाख्रा चराउने, घाँस काट्ने, जुठा भाँडा माझ्ने, कपडा धुने । उनी तोकिएको काम गर्न थालिन् ।

उमेर पाँच वर्ष भएर के गर्नु ! हातमुख जोर्नकै लागि उनले कामको बोझबाट छुट्कारा पाइनन् । भन्छिन् ‘काम नजानेर पिटाइ नखाएको दिन हुँदैन थियो । आधा पेट खाएर पनि दिन रात नभनी काम गर्नुपथ्र्यो ।’ कलिलै उमेरमा भोगेको दुःख मानसपटलबाट सजिलै कहाँ मेटिन्छ र ! सुनिताले पनि पाँच वर्षे उमेरदेखि गरेका हरेक काम र पाएको हैरानी भुलेकी छैनन् ।

उमेर बढ्दै जाँदा कामको बोझ पनि थपिँदै गयो । त्यहाँ नबसौँ जाने ठाउँ छैन । बसुँ दिनदिनैको सकस कसरी काट्नु । हरेक दिन वर्षझैं लाग्थे उनलाई । जसोतसो ६ वर्ष त्यहि घरमा बिताइन् । अर्थात् ११ वर्षको उमेरसम्म काम गरेर भोक मेटाउन पाइन् उनले । ११ वर्षको उमेरमा उनले पाँच वर्षको उमेरदेखि बिर्सिएको मायाको अनुभव भएझैँ लाग्यो उनलाई ।

अर्थात्, एक युवकसँग नजिकिइन् । उनप्रति आकर्षित हुन थालिन् । विस्तारै उनले माया दिन थाले । उनी थिए सिन्धुली दुधौलीका बुद्धिलाल मुसहर । बुद्धिलाल जनकपुर काँकडभित्ताको गाडीमा सहचालकको काम गर्थे । सुनिताका अनुसार एकदिन बुद्धिलालले सुनितालाई विवाहको प्रस्ताव गरे । घर मालिकको कामको बोझ र यातनादेखि दिक्क भएकी उनको लागि त्यो प्रस्ताव स्वर्ग पुग्ने बाटोझैं भयो ।

चुपचाप स्वीकार गरिन् । अनि ११ वर्षकै उमेरमा बुद्धिलालसँग एकल निर्णयले लगनगाँठो कसिन् । उनीहरूले विवाह गरे । विवाह के भनौँ, न जग्गे न जन्ती । खुसीखुसी एकअर्कालाई अपनाए । कलिलैमा जिम्मेवारीको भारी त उनको काँधमा आयो नै । तर, अनावश्यक शारीरिक र मानसिक यातना थिएन त्यहाँ । त्यसैले बुद्धिलालको घर स्वर्गझैँ लाग्यो उनलाई ।

बुद्धिलाल गाडीमै काम गर्थे । समय समयमा घर आउँथे । बुद्धिलाललाई गाडीको आम्दानीले भन्दा सुनिताको मायाले तान्यो । विवाहपछि एक वर्ष गाडीमै काम गरेका उनी आफ्नै गाउँ फर्केर ज्याला मजदुरी गर्न थाले । उनीहरूबीच मायाको डोरी कसिलो थियो । खुसीले जीवन अघि बढ्दै थियो ।

विवाहको सात वर्ष बित्दासम्ममा ४ सन्तान (२ छोरा र २ छोरी) को जन्म भइसकेको थियो । सदस्य थपिएपछि परिवारको खर्च बढ्ने नै भयो । ज्याला मजदुरीको आम्दानीले परिवार चल्न हम्मेहम्मे हुन थाल्यो । बुद्धिलालले सुनितालाई ‘विदेश जान्छु’ भने । सुनितालाई बुद्धिलालको विदेश जाने निर्णय मन त परेको थिएन । तथापि, कमाउने भरपर्दो माध्यम दुवैले देखेनन् । अन्ततः वैदेशिक रोजगार नै उनीहरूको विकल्प बन्यो ।

०७४ साल जेठमा बुद्धिलाल वैदेशिक रोजगारीका लागि साउदी अरेबिया गए । उनी त्यहाँ मजदुर थिए । दूरीले टाढा भए पनि सुनिता र बुद्धिलाल भावनात्मक रूपमा निकै नजिक थिए । श्रीमान् विदेश गएपछिका दिन सम्झँदै भन्छिन् ‘दिनमा एकपटक त सँधै कुराकानी हुन्थ्यो । बुद्धिलाल विदेश यस्तो छ उस्तो छ भनेर सुनाइरहन्थे । मेरो र छोराछोरीको बारेमा पनि सोधिरहन्थे ।’

बुद्धिलालको विदेशको संघर्ष र सुनिताको नेपालको दुःखबाट केही आम्दानी गरेर धेरै सपना साकार पार्ने सोचेका थिए यी दम्पत्तीले । सुनिता भन्छिन् ‘बुद्धिलालले विदेशबाट फर्किएर पक्का घर बनाउने भन्थे म उसको सपना पूरा गर्न फारु गरेर घरखर्च धान्थेँ ।’

बुद्धिलालले विदेसिएको एक वर्षमा करिब डेढ लाख रूपैयाँ घर पठाएका थिए । सुनिता त्यो रकमले बुद्धिलालले विदेश जाँदा लिएको ऋणको मासिक ब्याज बुझाउँदै, सावाँ घटाउँदै गर्थिन् ।

श्रीमान् फर्किएपछि सुन्दर र सुखी संसार बसाल्ने उनको सुनौलो सपना थियो । भावीले पनि कोहीकोहीलाई त ‘सुख तिम्रो भागमा छैन’ भनेर पहिल्यै निर्धारण गरिदिन्छ कि क्या हो ! जन्मिएकै वर्ष आमा गुमाउनु । पाँच वर्षमा बुबा गुमाउनु । अनि श्रमिक भएर बाँच्ने आधार जुटाउनु त उनले भोगेकै थिइन् । अब अर्को बज्रपात उनको भागमा थपियो, विदेशमा श्रीमान्को मृत्यु ।

०७५ साल भाद्र १६ गते सुनिताले बुद्धिलालको विदेशमा हृदयाघातका कारण मृत्यु भएको खबर आयो । भन्छिन् ‘छिमेकमा नन्द पर्नेले सुनाएको यो कुरा विश्वास गर्नै सकिन । बिहान ३ बजे मात्रै फोनमा कुराकानी भएको थियो ।’

खप्न नसकेर तत्काल श्रीमानको विदेशको नम्बरमा फोन गरिन, फोन उठेन । केही बेरपछि साउदी मै रहेका देवरले दाइको मृत्यु भएको भन्दै फोन गरे । अब श्रीमानको मृत्यु स्वीकार गर्नुको विकल्प उनीसँग रहेन ।

मृत्यु भएको तीन महिनापछि कफनमा भरिएर आए बुद्धिलाल । आए के भन्नु, उनको मृत शरीर ल्याइयो । मुटुमाथि ढुंगा राखेर परम्परा अनुसार दाहसंस्कार गरिन् सुनिताले । आखिर जति माया गर्ने मान्छे भए पनि सँगै मर्न नसकिने रहेछ !

उनले बिमाबापत पाँच लाख रूपैयाँ पाएकी थिइन् । भन्छिन, ‘त्यो पैसा श्रीमान विदेश जाँदाको ऋण र अरू घरायसी ऋण तिर्दा सकियो ।’ उनका अनुसार अझै २० हजार ऋण तिर्न सकिएको छैन । सुनिता भन्छिन्, ‘श्रीमान् विदेश गएर कमाएको आम्दानीले घर बनाउँला भनेको तर ऋण तिर्न नसकेर बसिरहेको घरसमेत गुमाउनुपर्ने पो हो कि भन्ने डर लाग्छ ।’

सुनिताका दुई छोरी र एक छोराको विवाह भइसकेको छ । उनी अहिले जेठो छोरा बुहारी र कान्छा छोराको साथ बस्छिन् । सबै जना गाँउमै ज्याला गरेर घर खर्च धान्छन् । ‘बुबाको विदेशमा मृत्यु भएकाले छोराहरू पनि विदेश जान रहर गर्देनन् ।’ सुनिता भन्छिन्, ‘मलाई त झन् श्रीमान् चुँड्ने विदेश सम्झन पनि मन लाग्दैन ।’

जीवनमा सर्वस्व ठानेको व्यक्ति भौतिक रूपमा नभए पनि जीवनको कुनै कन्दरामा पक्कै रहन्छ । सुनिताले पनि श्रीमान् गुमाइन् । उनलाई मायाको अनुभुती दिलाउने श्रीमान । त्यसैले उनको जीवनबाट बुद्धिलाल गएझैं नै लाग्दैन । ‘बुद्धिलाल मेरो जीवनबाट गए पनि सपनामा आइरहन्छन् ।’ सुनिता भन्दै थिइन, कहिले सँगै लैजान्छु भन्छन् । कहिले नयाँ कपडा लिएर आइपुग्छन् ।’

बोल्दाबोल्दै आँखाको डिलमा आइपुगेको एक ढिक्का आँशु गाला हुँदै च्यापुबाट भुईंमा खस्दै थियो । त्यो आँशुको ढिक्काको माटोमा मिलेपछि अर्थ रहँदैन । तर, सुनिताले भने आफू बाँच्नुको अर्थ खुलाइन, सपनामा आउने बुद्धिलाल र चार छोराछोरीको मुख हेरेर बाँचिरहेकी छु ।’ (महिला खबरबाट )

प्रतिक्रिया