काठमाडौँ । नेपाली कामदार वैदेशिक रोजगारमा दक्ष नै नभइ जाने गरेकाले समस्या झेल्दै आएका छन् । जसका कारण ‘म्यानपावर’ कम्पनीदेखि दलाल र रोजगारदाता कम्पनीबाट समेत नेपालीले दुःख पाउने गरेका छन् । आवश्यक सीप र दक्षताको अभावमा कतिपय नेपालीले रोजगारी नै नपाउने अवस्थासमेत छ ।
दक्षता अभावले रोजगारी पाएका पनि न्यून तलबमा काम गर्नुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशमा काम गर्न जानेमध्ये जम्मा एक दशमलव पाँच प्रतिशत मात्रै दक्ष छन् । चौबिस प्रतिशत अर्धदक्ष छन् भने अधिकांश अदक्ष कामदार रोजगार गर्न भनेर बिदेसिएका बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले बताए । अधिकांश अर्धदक्ष कामदार जापान र कोरियामा छन् ।
उनले अहिले नेपालको आर्थिक परिसूचक राम्रो रहेको र रेमिट्यान्स बढ्दो क्रममा रहेको बताउँदै कूलगार्हस्थ उत्पादनमा विप्रेषण बढ्ने अनुमान गरिएको उल्लेख गरे । नेपालमा गतवर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ७ सय ५५ अर्ब रुपैयाँ छ करोड पुगेको थियो ।
पछिल्लो ६ महिनामा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भई ४४३ अर्ब ३६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । नेपालमा वार्षिक पाँच लाख युवा रोजगारीका लागि योग्य हुन्छन् । अहिलेसम्म ४३ लाख कामदार वैदेशिक रोजगारमा गएको तथ्याङ्क छ ।
नेपालबाट १ सय १० मुलुकका लागि मात्रै रोजगारीका लागि अनुमति भए पनि १ सय ६७ देशमा नेपाली रहेको जनाइएको छ । कोरियामा मात्रै आधिकारिक रुपमा गएका ३५ हजार र अनौपचारिक तथ्याङ्कमा पाँच हजार नेपाली रहेको जनाइएको छ ।
प्रतिक्रिया