घोराहीकी पुनम नेपाली तुलसीपुर चोेकमा जुत्ता सिलाउँछिन् । ६ वर्षीय छोराकी आमा पुनमले जुत्ता सिलाउन थालेको ४÷५ वर्ष भइसकेको छ । उनी २९ वर्षकी हुन् र पतिको मृत्युपछि छोरोको पालनपोषण र शिक्षादीक्षा उनको काँधमा आइप¥यो । पतिसँग काम गर्दागर्दै जुत्ता सिलाउन सिकेकी पुनमले पतिको मृत्युपछि तुलसीपुर चोकमा ढेब्ली पसलमा बसेर ग्राहकहरूको सेवा र्गै आएकी छन् ।
उनले दैनिक ३÷४ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म कमाउँछिन् । यसबाट घरबार चलाउनेदेखि छोरोलाई बोर्डिङ पढाउन सहज भएको छ । ‘पहिले–पहिले त अलि अप्ठ्यारो लाग्थ्यो, कसैले केही भन्छन् कि भन्ने पनि सोच्थेँ,’ जुत्ता सिलाउँदै उनले भनिन्, ‘तर अब त कामै त हो, जे गरे पनि के आम्दानी गर्ने त हो भन्ने लाग्छ ।’ उनलाई पसलमा आउने जाने मान्छेहरूले अस्वाभाविक रूपमा हेर्ने त भएन नै । पसलमा बसेर जुत्ता सिलाउने महिलाहरू जिल्लामा कमै छन् ।
यस्तै, घोराही उपमहानगरपालिका–४ गोग्लीकी कमला श्रेष्ठले साइकल मेकानिक भएर काम गर्न थालेको ६ वर्षभन्दा बढी भयो । उनले पनि पतिलाई सघाउँदै गर्दा साइकल बनाउने काम सिकेकी हुन् । गोग्लीचोकमा साइकल मर्मत पसल खोलेर काम गर्दै आएकी कमलाले दैनिक ३÷४ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन् ।
कमलालाई आफ्नै पसलले स्वरोजगार बनाएको छ । पुरुषले गर्दै आएका कामहरू महिलाहरूले पनि गर्न सक्छन् भन्ने देखाएको भन्दै उनलाई विभिन्न संघ÷संस्थाहरूले सम्मान तथा पुरस्कृतसमेत गरेका छन् । कमलाको जस्तै अस्वाभाविक कथा छ, कमला चौधरीको पनि । देउखुरीनर्तिको चौधरी लमही बजारमा मोटरसाइकल, स्कुटर मर्मत केन्द्र सञ्चालन गर्दै आएकी छन् । महिलाहरू पछिल्लो समय कटाइ सिलाइ, ब्युटिपार्लर लगायतका सीपहरू सिक्न इच्छुक छन् तर, उनले भने ‘काठमाडौं पुगेर मोटरसाइकल मर्मतसम्बन्धी तालिम सिकेर लमही बजारमा काम गर्दै आएकी छन् । ‘धेरैले राम्रो काम सिक्नु भएको छ भनेर हौसला दिएका छन्,’ चौधरीले भनिन्, ‘पहिले त आफैँलाई पनि अप्ठ्यारो महसुस भएको थियो तर, अहिले सबैको हौसलाका कारण खुसी लाग्छ, मैले राम्रै काम गरेको रहेछु भन्ने लाग्छ ।’
घोराही उपमहानगरपालिका १८ मसिनाकी पार्वती विकको जीवनमा पनि अचनाक परिवर्तन आयो । पाँच महिना पहिलेसम्म उनको जीवन सामान्य थियो । पति वैदेशिक रोजगारका लागि भारतमा छन् । सन्तानको शिक्षा र घरबार सम्हालेर बसेकी पार्वती अहिले पुजारी बनेकी छन् ।
जीवनको यो समयमा उनमा पुजारी बन्छु भन्ने न कुनै सोच थियो न पूर्वाभाष नै । उनकै कारण आफ्नै घर अगाडि नै नागेश्वर मन्दिर स्थापना गरिएको छ । पकाउने खाने, बच्चाबच्ची हेर्ने, मेलापर्म गर्ने पार्वती अहिले पहेलो वस्त्र धारण गरेर दैनिक भक्तजनलाई आर्शीवाद दिने गर्छिन् । दलित समुदायका पार्वती मन्दिरको पुजारी भएपछि हिन्दू धर्मले जातीय विभेद गर्छ भन्ने मान्यता हटेर गएको स्थानीय बासिन्दाहरूसमेत बताउँछन् ।
त्यसैगरी, महिलाले चालक काम गर्नु हुँदैन भन्ने यहाँको परम्परालाई तोड्दै दंगाली महिलाले धमाधम इ–रिक्सा किनेर चलाउने गरेका छन् । अहिले जिल्लामा मात्र दुई दर्जन महिलाले इ–रिक्सा किनेर चलाउँदै आएका छन् । अहिलेसम्म सदरमुकाम घोराहीमा ६ जना महिला इ–रिक्साचालक भएका छन् भने तुलसीपरमा १३ जना छन् ।
जिल्लामा पहिलोपटक लक्ष्मी रानाले मात्रै इ–रिक्सा किनेर चलाएकी थिइन् । महिला इमानदार र मिहिनेती भएकाले महिला चालक भएको रिक्सामा यात्रीहरू बढी बस्ने गरेको इ–रिक्सा महिला चालकहरूको अनुभव छ ।
केही वर्ष पहिलेसम्म दाङका होटलहरूमा ‘वेटर’ को काम गर्नसमेत महिला तथा युवतीहरू हिचकिचाउँथे । तर, अहिले दाङका होटलहरूमा समेत पढेलेखेका युवतीहरू ‘वेटर’ को रूपमा कार्यरत छन् । घोराहीको माला–इन, होटल डोको, आइपार्क लगायतका होटलहरूमा युवतीहरूले ‘वेटर’ बनेर काम गर्दै आएका छन् ।
केही समय पहिलेसम्म घरमै बसेर घरकै काम मात्र गर्नुपर्छ भन्ने मान्यता अब तोडिँदै छ । बढ्दो विकास र सूचना प्रविधिहरूको पहुँचका कारण पछिल्लो समय मानिसहरू चेतनशील बन्दै जान थालेका छन् भने महिलाहरूमा आत्मविश्वास बढेको महिला मानव अधिकारकर्मी हुमा डिसीले बताइन् ।
चुलौचौकोमा सीमित हुनुपर्छ भन्ने मान्यता तोड्दै अब महिलाहरूले पनि पुरुषले गर्दै आएका कामहरू गर्न थालेको डिसीले बताइन् । महिला अधिकारको क्षेत्रमा काम गदै आएका संघ÷संस्थाहरूले सम्पत्ति तथा आम्दानीमाथि महिलाहरूको हक नहुँदासम्म अधिकार प्राप्त नहुने बताउँदै आएका छन् । पछिल्लो समय त्यही अधिकार प्राप्तिका लागि धेरै महिलाले आम्दानीको स्रोत पहिचान गर्दै पुरुषले गर्दै आएका कामहरू पनि गर्न थालेका छन् ।
प्रतिक्रिया