बाजुरा । बुढीनन्दा नगरपालिका–३ नुरीमा भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पुगेर उपचार गरिएको छ । गाउँका अधिकांश बिरामी भएको खबर पाएपछि औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको फेज नेपालमा कार्यरत अनमि सञ्जु कार्कीले बताएकी छन् ।
सोमबार पुगेको स्वाथ्यकर्मीको टोलीले १ सय ८ जनाको उपचार गरेको बताएको छ । ४८ जना पुरुष र ६० जना महिलालाई घरघरमा पुगेर चेक जाँचसहित उपचार गरेको अनमि कार्कीले बताइन् । उपचारका लागि गाउँमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र फेज नेपालबाट गरी पाँच जनाको स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको वडा–३ का अध्यक्ष रामबहादुर बोहोराले बताएका छन् । फेज नेपाल स्वास्थ्य क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था हो ।
उपचारका लागि गाउँमै पुगेकी अनमि सञ्जु कार्कीले भनिन्, ‘स्थानीय सिकिस्त बिरामी भएको भेटायाँै, सबैलाई उपचार गरेको उनले बताइन् । साथै गाउँमा रहेका अधिकांश भाइरल ज्वरोको संक्रमणमा परेको बताइन् । गाउँमा उपचारसँगै स्वास्थ्य शिक्षा पनि आवश्यक रहेको उनले बताइन् । यो क्षेत्र स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेको क्षेत्र हो । महिनाको एकपटक उक्त गाउँमा फेज नेपालले गाउँ घर क्लिनिक सञ्चालन गर्दै आएको छ ।
दिनहुँ चिसो बढेसँगै नुरीमा एक सातादेखि भाइरलका बिरामी भएको बुढीनन्दा नगरपालिका–३ का अध्यक्ष रामबहादुर बोहोराले वताएका छन् । टाउको दुख्ने जरो आउने खोकीलाग्ने, जिउ गल्ने, खान मन नलाग्ने लगायतका लक्षण देखापरेका छन् । भाइरल ज्वरोले गाउँका सबैजना दिनप्रतिदिन ज्वरोले थला पर्न थालेपछि घरमा खान पकाई खानसमेत नसक्ने, पशुचौपायासमेत गोठमै राख्नुपर्ने अवस्था आएको स्थानीयले दुःखेसो गरेका छन् ।
पूरै गाउँले बिरामी हँुदा स्वास्थ्य संस्थामा समेत ल्याउन नसकेको थियो । गाउँमै स्वास्थ्यकर्मी पुगेर उपचार गर्दा निकै सहज भएको वडाध्यक्ष रामबहादुर बोहोराले बताए । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट ६ घण्टा टाढा यो गाउँ पर्दछ । चिसोका कारणले जिल्लाका अन्य ठाउँमा पनि बिरामी भएको स्वास्थ्यकर्मीले वताएका छन् । उत्तरी क्षेत्रका चार वटा स्थानीय तहमा पनि केही दिन यता बिरामीको संख्या बढदै आएको प्रथमिक स्वास्थ्य केन्द्र कोल्टीका डाक्टर गणेश चौधरीले बताएका छन् । मंगलबार मात्र पुरैगाउँ भाइरल जरोको प्रकोप भन्ने शीर्षकमा सौर्य दैनिक र रेडियो बुढीनन्दामा समाचार प्रसारण तथा प्रकाशन गरिएको थियो ।
प्रतिक्रिया